नेकपा पहिलो पार्टी बन्ने वर्षमान पुनको दाबी, घनश्याम, जनार्दन र विप्लवबारे के भने ?

दाङ । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले कांग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरु स्वयंले भोगिरहेको बताएका छन् ।

दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै पुनले सुशासनका लागि काम गर्दा नियोजित रुपमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकार ढालेर कांग्रेस–एमाले मिलेको बताए ।

केपी ओली नेतृत्वको कांग्रेस–एमाले सरकारका गलत कामविरुद्ध आफूहरुलेसंसद र सडकबाट निरन्तर खबरदारी गर्दा पनि नसुनेको भन्दै पुनले सरकारको कूशासनका कारण जेनजी आन्दोलन भएको उनको भनाइ थियो ।

आफूहरुले त्यतिबेला जनतामा असन्तुष्टि चुलिएको र कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्नेबारे सचेत पनि काँग्रेस र एमाले नेतृत्वले सुन्न नचाहेको पुनले स्मरण गरे । तर, जनताको असन्तुष्टिको नेतृत्व गर्न भने आफूहरु चुकेको उनले स्वीकार गरे ।

‘सरकारमा बसेर हामीले सुशानका लागि काम गर्न कोसिस गर्यौं । नियोजित रुपमा सरकार ढालियो । काँगेस र एमालेका नेताहरुले यस्तै प्रकारको शासन सञ्चालन गरिराख्ने हो भने । जनतालाई जसरी हेपिराखिएको छ । जनताको असन्तुष्टिलाई आत्मसात गरिएको छैन । यो अवस्थामा कुनै पनि बेला ठूलो हावाहुरी आउन सक्छ भनिराखेका थियौं । आखिर त्यस्तै भयो’, पुनले भने, ‘यहींनेर हाम्रो कमजोरी के भने भने हामीले व्याख्या गर्‍यौं, विश्लेषण ग–यौं तर जनताको त्यो असन्तुष्टिर्लाइ नेतृत्व गर्न सकेनौं ।’

पुनले जेनजी पुस्ताले उठाएको सुशासनको एजेण्डाहरुको सम्बोधन तथा लोकतान्त्रिक गणतन्त्र सुदृढ गरेर समाजवादसम्म पुग्ने उद्देश्यका साथ डेढ दर्जन कम्युनिष्ट घटकहरुबीच एकता गरिएको उल्लेख गरे । जेनजी आन्दोलनबाट आफूहरुले युवाहरुलाई पार्टी र राज्यका निकायको नेतृत्वमा ल्याउने शिक्षा प्राप्त गरेकाले सोहीअनुसार अघि बढ्न खोजिएको बताए ।

जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण तथा सडक र सरकारको मोर्चाको नेतृत्व गरेका प्रचण्ड र लामो समय शान्तिपूर्ण संसदीय मोर्चाका साथै सडक, सदन र सरकारको नेतृत्व गरेर खारिएका माधवकुमार नेपालको नेतृत्वमा अघि बढेको ध्रुवीकरणले नेपाली कम्युनिष्ट पार्टीलाई मुलधारको कम्युनष्टि पार्टी बनाउने दाबी उनको थियो । आगामी २१ फागुनमा घोषित मध्यावधि निर्वाचनमा आफ्नो दललाई पहिलो बनाउनबाट कसैले रोक्न नसक्ने दाबी पनि पुनले गरे ।

‘जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता, संविधान लेखन, सुशासन र समृद्धिको विभिन्न चरणमा सडक र सदनबाट नेतृत्व गर्नुभएका संयोजक कमरेड प्रचण्ड र लामो समय शान्तिपूर्ण सडक सदन र सरकार सबै मोर्चाको नेतृत्व गर्नुभएका सह–संयोजक माधव नेपालको नेतृत्वमा नेपालको वाम लोकतान्त्रिक आन्दोलन अगाडि बढ्छ’ पुनले भने।

विगतमा भएको कम्युनिष्ट एकता एमाले अध्यक्ष केपी ओलीको निरंकुश र व्यक्तिवादी प्रवृत्तिका कारण टिक्न नसकेको भन्दै उनले त्यतिबेलाको शिक्षाबाट सिकेर अघि बढ्ने बताए । कम्युनिष्ट पार्टीले इतिहासमा पहिलोपटक पाएको बहुमत जोगाउन नसक्दा मुलुकमा लोकप्रियतावादी शक्तिहरुको उदय भएको पुनको भनाइ थियो ।

‘मुल नेतृत्वको स्वेच्छाचारी प्रवृत्ति, गैरकक्युनिष्ट प्रवृत्तिका कारणले हामीले दुई तिहाईभन्दा बढीको जनमत, संघीय सरकार, सबैतिरको प्रदेश सरकार हुँदाहुँदै पनि त्यो परीक्षामा हामी पास हुन सकेनौं’, पुनले भने।

कम्युनिष्टहरुले पहिलोपटक प्राप्त गरेको बहुमत हामीले सफलतापूर्वक सञ्चालन गर्न नसक्दा विभिन्न प्रकारका लोकप्रियतावादी आन्दोलन र प्रवृत्ति देखा परेको बताए।

उनले भने, आज जेनजी आन्दोलनसम्म हुँदा फेरि हामीले नयाँ ऐतिहासिक प्रतिबद्धता गर्नुपर्ने दायित्व आयो । त्यसलाई आत्मसात गर्दै आज प्रचण्ड र माधव नेपालको नेतृत्व वरिपरि कम्युनिष्ट आन्दोलनलाई नयाँ प्रवाहबाट धु्रवीकृत गरेर जनताको नयाँ विश्वाका साथ सुशासन र समृद्धिको यात्रा हुँदै समाजवादका लागि काम गर्छौं भनेर नयाँ प्रतिबद्धतासहित हामीले एकता गरेका हौं ।’

पुनले एकतामा सामेल नभएर फरकफरक समूह बनाएका घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवलाई पनि नेपाली कम्युनिष्ट पार्टीको झण्डामुनि गोलबन्द हुन अपिल गरे । भुसाल, शर्मा र चन्दलाई ढिलोछिटो कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा सामेल नभई सुखै नहुने बताए ।

प्रचण्डलाई जनयुद्धका उपलब्धी छाडेको भन्दै पटाक्षेप गर्ने शर्मा कम्युनिष्ट पार्टी, आन्दोलन, माक्र्सवाद छाडे अर्कै कुनामा पुगेको आरोप पुनले लगाए । पुनले क्रान्तिका लागि जनसमर्थन र संगठन चाहिने भन्दै जनसमर्थन र संगठन नभएको समूह लिएर क्रान्ति सफल नहुने सच्चाई बुझ्न चन्दलाई आग्रह गरे ।

प्रचण्ड र माधव नेपाललाई वृद्धको संज्ञा दिएर नेतृत्व छाड्न दबाब दिएका घुसालले ८० वर्ष पार गरेका चन्द्रदेव जोशीसँग एकता गरेकामा उनले व्यंग्य गरे ।

उनले थपे, ‘यही प्रदेशका घनश्याम घुसालजी, जनार्दनजी र विप्लवजी आज हामीसँग हुनुहुन्न हामीले उहाँहरुलाई एकता प्रक्रियामा सँगै लिएर जान चाहेका थियौं । यही झण्डामुनि गोलबन्द हुनुस भनेका थियौं । तर हुनुभएन । हामी अलगअलग होइन धेरै चुल्होहरुको जरुरी छैन । कुनै पनि बेला सच्चा कम्युनिष्ट र क्रान्तिकारी हो भने यही झण्डा मुनि आउन बाध्य हुनुपर्छ । हामी स्वागत गर्न तयार छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *