
काठमाडौं । नेकपा (एमाले) निकट मुक्ति समाजका पूर्व महासचिव तथा राष्ट्रिय सभाका पूर्व सदस्य खेम नेपालीले पार्टीको ११औँ महाधिवेशनका लागि भइरहेको प्रतिनिधि छनोट प्रक्रियामा दलित समुदाय पुनः उपेक्षित भएको आरोप लगाएका छन् ।
उनले फेसबुकमार्फत टिप्पणी गर्दै दलितलाई फेरि पनि “अछुतझैँ” बनाइएको दाबी गरेका छन् ।
खेम नेपालीका अनुसार एमालेले प्रतिनिधि चयनका लागि तोकेको तीन निर्वाचन क्षेत्रमा छुट्टै “दलित निर्वाचन क्षेत्र” बनाइएको प्रावधान नै विभेदकारी छ । दलितले दलित मात्र चुन्न र चुनिन पाउने व्यवस्था समाजमा विद्यमान तल्लो–उपल्लो सोचलाई अझ मजबुत बनाउने प्रवृत्ति भएको उनको टिप्पणी छ ।
“समाजमा पानी अचल त थियो नै, यसपटक मत पनि नचल्ने बनाइएको छ,” उनले लेखेका छन् ।
मार्क्सवादी विज्ञानले वर्गीय समानताको पक्षमा उभिने शिक्षामा विश्वास राख्दै आएका आफूहरू जुन राजनीतिक आन्दोलनबाट प्रेरित भए, त्यही आन्दोलनभित्र अवर्गीय गतिविधि देखिनु दुःखद रहेको उनले बताए । पार्टीभित्र अझै पनि “छुत/अछुत” मानसिकता झल्किनु मानवतामाथिको चोट भएको उनले टिप्पणी गरेका छन् ।
मतदान प्रक्रियामै दलित समुदायलाई असजिलो हुने व्यवस्था गरिएको भन्दै उनले लेखेका छन, “यो विवेकहीन निर्णय लिने नेता र तिनको नेतृत्व क्षमताप्रति चर्को घृणा, निन्दा र भत्सर्ना व्यक्त गर्दछु ।”
उनको यो अभिव्यक्ति एमालेको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाबारे दलित समुदायभित्र देखिएको असन्तुष्टि सतहमा आएको संकेतका रूपमा हेरिएको छ ।
नेपाली नेकपा (एमाले) कोशी प्रदेश समिति सचिवालय सदस्य रहेका छन् ।

Leave a Reply