पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक

काठमाडौं । पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकको लोकार्पण गर्दै गर्दै अध्यक्ष दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् ।

उनले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जनयुद्धमा जनपत्रकारले निर्वाह गरेको भूमिका साहसिक र अतुलनीय रहेको बताए ।

आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने, ‘बन्दुक र कलमको समायोजन, लडाई र पढाइको फ्युजन, बारुद र मसीको घोलको सम्मिश्रण आजको गणतन्त्र हो ।’

जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको अध्यक्ष दाहालले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रहेको बताइन् ।

जनयुद्धको समयमा सञ्चार क्षेत्रलाई राज्यद्वारा आक्रमण गरेको र अहिले चौतर्फिरुपमा आक्रमण भइरहेको बताउँदै शर्माले भनिन्, ‘नागरिकको सहज सूचना पाउने अधिकारप्रति राज्य र सरोकारवाला पक्ष गम्भीर बन्नुपर्छ ।’

प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले त्यस पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।

लेखक पत्रकार शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकार सामेल भएर युद्ध पत्रकारिता गरेको र त्यस समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए । १४ वर्षको उमेरदेखि जनयुद्धको अभियानमा जोडिएका लेखक शर्माले युद्ध पत्रकारिता यात्रालाई पुस्तकको रूप दिएको बताए ।

पुस्तकमा सात अध्यायमा युद्धकालीन पत्रकारिताको विस्तृत विश्लेषण गरिएको समीक्षकले बताए । मिसन पत्रकारिता, भूमिगत सञ्चार, वैचारिक सङ्घर्ष र जनयुद्धका गतिविधिको दस्ताबेज पुस्तकले समेटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *