बुवालाई हृदयघात हुँदाका साक्षी पाकिस्तानका पूर्वविदेशमन्त्री अब्बानीसँग राजेश हमालको भेट

काठमाडौं । अभिनेता राजेश हमाल र पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री तथा सचिव जलिल अब्बास अब्बानीबीच भेटघाट भएको छ ।

पाकिस्तानी दूतावासमा पाकिस्तानका पूर्वकूटनीतिज्ञ अब्बानीसँग भेट भएको जानकारी हमाल स्वयंले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

हमालले लेखेका छन्, ‘पाकिस्तानका पूर्वपरराष्ट्रमन्त्री जलिल अब्बास जिलानीसँग भेट्दा धेरै खुसी लाग्यो । मेरा बुबाले प्रमाणपत्र बुझाउँदादेखि उहाँ बित्दासम्म श्री जिलानी साथमा हुनुहुन्थ्यो । यो अवसरका लागि पाकिस्तानका महामहिम राजदूतलाई धन्यवाद । श्री जिलानीसँगको भेटले बुबासँगको सम्बन्धमा केही राहत दिलायो ।’

हमालका पिता चुडाबहादुर हमालको पाकिस्तानमै हृदयघातका कारण निधन भएको थियो । चुडाबहादुर हमाल त्यसबेला पाकिस्तानमा नेपाली राजदूतको रूपमा थिए ।

ओहोदाको प्रमाणपत्र बुझाएर चुडाबहादुर निवासमा फर्कँदा प्रोटोकलको रूपमा अब्बानी पनि सँगै फर्किएका थिए । तर, निवासमा छाडेर जान लाग्दा चुडाबहादुरलाई हृदयघात भएको थियो । यसपछि अब्बानीले नै चुडाबहादुरलाई अस्पताल लगेका थिए भने लाँदालाँदै बाटैमा उनको मृत्यु भएको थियो । यस विषयमा हमालले आफ्नो आत्मकथामा उल्लेख गरेका छन् ।

आज उनै अब्बानीसँग हमालले भेटघाट गरेका हुन् । भेटघाटका क्रममा पाकिस्तानी राजदूत अबरार ए हाश्मी पनि सँगै थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *