
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ ।
विवेकशीलको जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको ‘वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरणः एकीकरण’ प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको प्रवक्ता आशुतोष प्रधानले बताए ।
आफ्नो प्रस्ताव पेश गर्दै परियारले भने, ‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको वेला नवयुवाहरूको आन्दोलन जेनजी विद्रोहले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तीव्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संवृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिविद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ ।’
पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुङ्ग्याइने प्रवक्ता प्रधानले बताए । उनका अनुसार आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ।

Leave a Reply