एमाले महाधिवेशन सचिवालयको बैठक बुधवार बस्ने 

काठमाडौं । नेकपा (एमाले) को ११ औँ महाधिवेशन सचिवालय पहिलो बैठक १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बुधवार बिहान बस्ने भएको छ । बैठक बिहान ८ बजेदेखि पार्टी कार्यालय, च्यासलमा बस्ने भएको हो ।

महाधिवेशन तयारीका निम्ति शुक्रवार सम्पन्न  पार्टीको सचिवालय बैठकले महासचिव शंकर पोखरेलको संयोजकत्वमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराई रहेको महाधिवेशन सचिवालय व्यवस्थापन कमिटी बनाएको थियो ।

महासचिव शंकर पोखरेलका अनुसार महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण प्राविधिक तयारीका निम्ति बुधवार प्रारम्भिक चरणको बैठक बस्न लागेको छ । सबै समितिका जिम्मेवारीबारे जानकारी गराउँदै केही दिनको समय दिएर आ–आफ्ना कार्यभार सम्पन्न गर्ने तालिका माग गरिने भएको उनले बताए ।

बैठकमा ३ सदस्यीय सचिवालयसहित समितिका संयोजकहरू पनि सहभागी हुनेछन् । त्यसमध्ये प्रतिनिधि व्यवस्थापन समितिका काशीनाथ अधिकारी, जनपरिचालनका प्रदीप ज्ञवाली, आवास व्यवस्थापनका छविलाल विश्वकर्मा, खाद्य व्यवस्थापनका लेखराज भट्ट, यातायात व्यवस्थापनका गोकर्ण विष्ट, अतिथि सत्कारका रघुवीर महासेठ, स्वयंसेवक परिचालनका भानुभक्त ढकाल, प्रचारकी पद्मा अर्याल, मञ्च व्यवस्थापनका विनोद श्रेष्ठ, स्वास्थ्यका कृष्णगोपाल श्रेष्ठ र आर्थिकका विष्णु रिमाल रहनेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *