
काठमाडौं । चलचित्र ‘परालको आगो’को तीन पोस्टरसहित रिलिज डेट सार्वजनिक गरिएको छ। निर्माण टिमले आज चलचित्रको तीन फरक क्यारेक्टर पोस्टरसहित चलचित्रको प्रदर्शन मिति तय गरेको हो।
यो चलचित्र आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति तय गर्दै चलचित्रका निर्माता सुशील पोखरेल भन्छन्, ‘मैले अरू फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु। अरू फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु।’
उनले आफ्नो डेटमा अरू चलचित्र नजुधाईदिन दिन समेत आग्रह गरेका छन् । उनले थपे,‘एकैचोटी धेरै फिल्म प्रदर्शनमा आउँदा, निर्माता तथा हल व्यवसायीहरूलाई पनि फाइदा हुँदैन। ग्यापमा आउँदा निर्माता र हल दुवै पक्षलाई फाइदा होस भन्ने सोचले सबै मेजर डेट छोडेर वैशाख ११ गते शुक्रवारको साधारण डेटलाई डेटलक गरेको छु।’
४० दिन लगाएर ‘परालको आगो’ को छायांकन सकिएको हो। जेनजी आन्दोलनका कारण चलचित्रको छायांकनमा अवरोध भए पनि टेक्निसियन तथा निर्देशकको खटाइले काम चाँडो सकिएको निर्माता पोखरेलको भनाई छ।
गुरुप्रसाद मैनालीको नासो कथा सङ्ग्रहमा समावेश कथा ‘परालको आगो’ मा आधारित रहेर बनाइएको यो चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार एन्जिला बानियाको अभिनय छ।
सुशील देवकोटाको लेखन रहेको यो चलचित्रको निर्देशन लक्ष्मण सुनारले गरेका छन्।

Leave a Reply