
काठमाडौं । सिंहदरबारको पश्चिमी गेटबाट छिर्नेबित्तिकै देखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको माहोल सोमबार बेग्लै थियो । कारण थियो, देशको स्थायी सरकार मानिने निजामती सेवाको सर्वोच्च कमान्डर अर्थात ‘मुख्यसचिव’ को नियुक्ति ।
बहालवाला मुख्यसचिव एकनारायण अर्यालको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशको सँघारमा पुग्दै गर्दा मन्त्रिपरिषद् बैठकले नयाँ सारथीका रूपमा सुमनराज अर्याललाई रोज्यो । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सुमनराज अब देशको २९औँ मुख्यसचिव बन्दैछन् ।
काठमाडौंको जोरपाटीमा जन्मे–हुर्केका, विज्ञानमा स्नातकोत्तर (एमएससी) गरेका एक मिहिनेती युवाले २०५३ सालमा निजामती सेवाको ढोका ढक्ढकाउँदा सायद कमैले सोचेका थिए होलान् कि उनी एक दिन यो सेवाको टुप्पोमा पुग्नेछन् । तथ्याङ्क समूहबाट सेवा प्रवेश गरेर प्रशासनको सर्वोच्च शिखरमा पुग्नु आफैंमा एउटा रोचक र प्रेरणादायी कथा हो ।
जोरपाटीदेखि तथ्याङ्क विभागको महानिर्देशकसम्म
सुमनराज अर्यालको बाल्यकाल र किशोरावस्था काठमाडौंको पूर्वी भेग जोरपाटीमा बित्यो । सामान्य र मध्यमवर्गीय परिवेशमा हुर्केका अर्यालमा सानैदेखि अध्ययन र लगनशीलताको छाप थियो । विज्ञान विषयमा स्नातकोत्तर (एमएसी) सकेपछि उनले सरकारी सेवालाई आफ्नो करियरको गन्तव्य बनाए २०५३ साल वैशाख १९ गते । यो त्यही दिन थियो, जब सुमनराज अर्यालले पहिलो पटक निजामती सेवाको नियुक्ति पत्र हात पारेका थिए । पद थियो, तथ्याङ्क अधिकृत (शाखा अधिकृत सरह) ।
नेपालको निजामती प्रशासनमा ‘प्रशासन सेवा’ को दबदबा रहेको समयमा ‘तथ्याङ्क समूह’ बाट सेवा प्रवेश गर्नेका लागि मुख्यसचिवको कुर्सी अलि टाढाको विषय मानिन्थ्यो । तर, अर्यालले आफ्नो क्षमता, इमानदारिता र कार्यकुशलताले त्यो दूरीलाई समयसँगै छोट्याउँदै लगे । सुरुवाती दिनमा उनले तथ्यांक विभाग र मातहतका कार्यालयमा रहेर काम गरे । तथ्याङ्कको विश्लेषण, योजना निर्माणका आधारभूत कडीको पहिचान र सुक्ष्म अध्ययन गर्ने बानीले उनलाई अन्य प्रशासकभन्दा फरक र विश्लेषणात्मक बनायो । उनले बुझेका थिए, देश चलाउन भावना मात्र होइन, सही तथ्याङ्क र योजना चाहिन्छ ।
उपसचिवदेखि सहसचिवसम्मको तीव्र यात्रा
निजामती सेवामा प्रवेश गरेको करिब १३ वर्षपछि उनले वृत्ति विकासमा ठूलो छलाङ मारे । २०६६ साल वैशाखमा उनी आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्न सफल भए । उपसचिव भएको दुई वर्षमै उनले अर्को ‘चमत्कार’ गरे । धेरै कर्मचारीलाई उपसचिवबाट सहसचिव हुन लामो समय कुर्नुपर्ने हुन्छ, कतिपय त अवकाश नै पाउँछन् । तर, सुमनराज अर्यालका लागि त्यो समय पर्खाइको विषय बनेन । २०६८ साल माघमा उनी खुला प्रतिस्पर्धाबाटै सहसचिव पदमा बढुवा भए । उपसचिव भएको दुई वर्ष नबित्दै सहसचिवमा नाम निकाल्नुले उनको प्रशासनिक क्षमता र लोक सेवाको तयारीको गहिराइलाई पुष्टि गर्छ ।
सहसचिव भएपछि उनले जिम्मेवारीका विभिन्न आयाम अनुभव गर्ने मौका पाए । तथ्याङ्क समूहको दायराबाट फराकिलो हुँदै उनी नीति निर्माणको तहमा सक्रिय हुन थाले । सहसचिवका रूपमा उनले सङ्घीय मामिला, योजना र विकासका विविध क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाए ।
तथ्याङ्कशास्त्रदेखि प्रशासनमा अनुभवको विविधता
२०७७ साल माघ १९ गते । सहसचिव भएको ९ वर्षपछि सुमनराज अर्याल नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिव पदमा बढुवा भए । सचिव भएपछिको उनको यात्रा झन् रोचक र विविधतापूर्ण रह्यो । उनले जुन–जुन मन्त्रालय र निकायमा काम गरे, त्यहाँ आफ्नो शालिन र नतिजामुखी कार्यशैलीको छाप छोडे ।
सङ्घीयता कार्यान्वयनको सुरुवाती चरणमा उनले कोशी प्रदेश (तत्कालीन प्रदेश १) को प्रमुख सचिवको जिम्मेवारी सम्हाले । प्रदेश सरकारको प्रशासनिक संरचना खडा गर्ने, कर्मचारी व्यवस्थापन गर्ने र संघ तथा प्रदेशबीचको समन्वय गर्ने जटिल काममा उनले परिपक्व भूमिका निर्वाह गरे ।
अर्थतन्त्रको हिसाबकिताब राख्ने र राज्यको ढुकुटीको निगरानी गर्ने महालेखा नियन्त्रकको कार्यालयमा प्रमुख (महालेखा नियन्त्रक) का रूपमा उनले काम गरे । त्यहाँ रहँदा उनले सरकारी खर्च प्रणालीमा पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । तथ्याङ्क र हिसाबमा रुची राख्ने अर्यालका लागि यो जिम्मेवारी ‘राइट म्यान इन राइट प्लेस’ जस्तै थियो ।
सिंहदरबारमा कम शक्तिशाली कम तर महत्वपूर्ण मन्त्रालयको नेतृत्व
त्यसपछि उनले विभिन्न मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाले । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहँदा उनले सामाजिक सुरक्षा र समावेशीताका मुद्दामा नीतिगत सुधारका काम गरे । युवा तथा खेलकुद मन्त्रालयमा हुँदा खेलकुद क्षेत्रको विकास र युवा परिचालनमा उनले सक्रियता देखाए । राष्ट्रिय योजना आयोगको सचिव हुँदा उनले देशको विकास योजना निर्माण, पन्ध्रौं तथा सोह्रौं योजनाको मस्यौदा र नीतिगत बहसमा आफ्नो तथ्याङ्कीय ज्ञानको भरपुर प्रयोग गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा उनले केही समय जगेडा (अतिरिक्त समूह) र पछि सचिवका रूपमा काम गर्दै देशको उच्च प्रशासनिक केन्द्रको कार्यशैली नजिकबाट बुझ्ने मौका पाए ।
मुख्यसचिव बन्नुअघि अहिले उनी रक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत छन् । रक्षा मन्त्रालयलाई निजामती प्रशासन र सुरक्षा निकाय (नेपाली सेना) बीचको पुल मानिन्छ । राष्ट्रिय सुरक्षा, रणनीतिक महत्वका विषय र संवेदनशील फाइल सदर तथा बदर गर्ने यो कुर्सीमा बसेर उनले देखाएको कार्यकुशलता नै उनलाई मुख्यसचिवको दाबेदार बनाउने अन्तिम खुड्किलो बन्यो । रक्षा मन्त्रालयमा रहँदा उनले राष्ट्रिय सुरक्षा परिषद्का काम कारबाही र सेनासँगको समन्वयमा देखाएको परिपक्वतालाई प्रधानमन्त्री र मन्त्रीले नजिकबाट नियालेका थिए । सायद यही ‘टेस्टेड’ छविले उनलाई अन्य प्रतिस्पर्धी भन्दा अब्बल सावित गर्यो ।
वरीयता र संयोग दुवै मिलेपछि मुख्यसचिवमा बाजी
मुख्यसचिव नियुक्ति केवल वरीयताको आधारमा मात्र हुँदैन, यसमा कार्यसम्पादन र राजनीतिक नेतृत्वसँगको ट्युनिङ पनि मिल्नुपर्छ । सुमनराज अर्यालको हकमा भने वरीयता र संयोग दुवै मिलेको देखिन्छ । बहालवाला मुख्यसचिव एकनारायण अर्यालको अवकाश (मंसिर १० गते) लगत्तै अर्यालको पालो आएको हो । उनी सचिवको वरीयतामा दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा रहेका सचिव गोकर्णमणी दुवाडी पनि ५ वर्षे कार्यकालका कारण मंगलबार नै अवकाशमा जाँदै थिए ।
दुवाडीको अवकाश र एकनारायणको बहिर्गमनको ठीक बीचमा सुमनराज अर्यालको ‘टाइमलाइन’ मुख्यसचिव बन्नका लागि सबैभन्दा उपयुक्त बन्यो । यदि अहिले निर्णय नभएको भए वा उनी यो रोलमा नआएको भए, उनी पनि सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर २०८२ माघमा घर फर्किने थिए ।
तर, नियतीले उनलाई घर होइन, सिंहदरबारको मूल कुर्सीमा पुर्यायो । मन्त्रिपरिषद्ले उनलाई वरिष्ठता, कार्यक्षमता र अनुभवको आधारमा २९औँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गर्यो । यो नियुक्तिसँगै उनी बुधबारदेखि विधिवत रूपमा निजामती सेवाको कमाण्डर बन्नेछन् ।
८ महिने कार्यकालमा चुनौती र अवसर
सुमनराज अर्याल मुख्यसचिव त बने, तर उनीसँग काम गर्नका लागि धेरै लामो समय भने छैन । उनको जन्ममिति र निजामती सेवा ऐनको ५८ वर्षे उमेर हदको प्रावधान अनुसार उनी २०८३ असार २६ गतेसम्म मात्र पदमा बहाल रहनेछन् । यसको अर्थ उनीसँग करिब साढे ७ देखि ८ महिनाको कार्यकाल रहनेछ । छोटो समयमै ‘डेलिभरी’ दिएर एउटा सक्षम प्रशासकको छाप छोड्ने अवसर उनीसँग छ ।
आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचन र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई सम्पन्न गराउने, कर्मचारी सरुवा तथा बढुवालाई वैज्ञानिक बनाउने र सुशासनको प्रत्याभूति दिलाउने काममा उनले नेतृत्व लिन सक्छन् । तर नेपालको अस्थिर राजनीति र कर्मचारीतन्त्रभित्रको गुटबन्दीलाई चिर्दै छोटो समयमा नतिजा निकाल्नु चानचुने कुरा होइन । साथै, उनीपछि आउने उत्तराधिकारी तयार गर्ने र प्रणाली बसाल्ने जिम्मेवारी पनि उनकै काँधमा छ ।
शालीन र विवादरहित छवि
सहकर्मीमाझ सुमनराज अर्याल एक शालीन, कम बोल्ने तर काममा दख्खल राख्ने प्रशासकका रूपमा चिनिन्छन् । ‘लो प्रोफाइल’ मा बस्न रुचाउने अर्याल विवादबाट टाढै रहने स्वभावका छन् । तथ्याङ्क अधिकृत हुँदाको शुक्ष्म दृष्टिकोण र रक्षा सचिव हुँदाको रणनीतिक चातुर्यताको मिश्रण उनीमा पाइन्छ । काठमाडौंकै रैथाने भए पनि उनमा काठमाडौंको ‘एलिट’ अहम् देखिँदैन । उनी मातहतका कर्मचारीको कुरा सुन्ने र टिममा काम गर्न रुचाउने स्वभावका छन् । उनको यही ‘निस्कलङ्क’ छवि नै उनको सबैभन्दा ठूलो शक्ति हो ।
एक तथ्याङ्कशास्त्रीको प्रशासनिक नेतृत्व गर्ने जिम्मेवारी
तथ्याङ्क शास्त्रले भन्छ, ‘अङ्क कहिल्यै झुट बोल्दैन ।’ आज तिनै अङ्क र तथ्याङ्कसँग खेल्दै हुर्केका सुमनराज अर्याल देशको प्रशासन संयन्त्र चलाउने चालकको सिटमा छन् । एउटा तथ्याङ्क अधिकृतले सुरु गरेको यात्रा मुख्यसचिवसम्म पुगेर टुङ्गिनु आफैंमा एउटा पूर्ण चक्र हो ।
२०५३ सालमा एउटा सामान्य अधिकृतका रूपमा प्रवेश गरेको ठिटो, आज ३० वर्ष नपुग्दै (साढे २९ वर्षमा) सिङ्गो निजामती प्रशासनको ‘कमाण्डर’ बनेको छ । उनको कार्यकाल छोटो भए पनि, उनको अनुभवको दायरा फराकिलो छ । अबको ८ महिना सिंहदरबारको बन्द कोठामा बन्ने योजना र निर्णयमा सुमनराज अर्यालको दस्तखत चल्नेछ ।
सुमनराज अर्यालको यो नियुक्तिले एउटा सन्देश दिएको छ, सेवा प्रवेश जुनसुकै समूह वा पदबाट गरे पनि, निरन्तरको लगनशीलता, इमानदारिता र अध्ययनले मानिसलाई शिखरमा पुर्याउँछ । जोरपाटीको गल्लीबाट सिंहदरबारको शिखरसम्मको उनको यो यात्रा भावी पुस्ताका प्रशासकका लागि पक्कै पनि एउटा लोभलाग्दो ‘केस स्टडी’ बन्नेछ ।

Leave a Reply