गगन थापाको अडानले कांग्रेसलाई विशेष महाधिवेशनतिर धकेलेको हो ?

काठमाडौं । नेपाली कांग्रेसको असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले अहिलेसम्म महाधिवेशनबारे निर्णय लिन सकेको छैन । शनिबार पार्टीभित्र चर्को विवाद भइरहेको महाधिवेशनको मितिको विषयलाई छाडेर चुनावमा भाग लिने मात्रै निर्णय गर्‍यो ।

महाधिवेशनबारे थप निर्णय गर्नको लागि अर्को बैठक ११ गतेको लागि बोलाइएको छ। तर चुनावपछि महाधिवेशन गर्ने कि अघि भन्ने विषयमा अहिलेसम्म सहमतिको मिलनबिन्दु भेट्न सकेको छैन ।

महाधिवेशनको मितिले पार्टीभित्र विवाद चर्किँदै गएपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएका सभापति शेरबहादुर देउवा आफैँ बिस्तारै सक्रिय हुन थालेका छन् । आगामी माघमा हुने राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि सभापति देउवाकै हस्ताक्षर चल्ने गरी निर्वाचन आयोगमा दल दर्ता गरेपछि विवाद थप गिजोलिएको छ ।

महाधिवेशनको विषयले संस्थापन पक्षका नेताहरू नै विभाजित भएपछि देउवामाथि पनि दबाब बढ्दो छ । त्यसमा विधान अनुसार नै ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन माग राख्दै असोज २९ गते नै बुझाएका थिए ।

उनीहरूको माग सम्बोधन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका नआए पुस २९ भित्र विशेष महाधिवेशन गर्न विधानले बाध्यकारी बनाउँछ । यद्यपि, चुनावअघि कुनै महाधिवेशन नचाहेका नेताहरूले त्यसको वैधानिकतामाथि नै प्रश्न उठाउँदै सनाखत गरेर देखाउन चुनौती दिँदै आइरहेका छन् ।

तर, हस्ताक्षर सनाखत गराउनतिर लाग्दा पार्टी विभाजन हुने सक्ने जोखिम रहेका नेताहरूले औँल्याउँदै आइरहेका छन् । पार्टीभित्र चर्को दबाब बढेपछि पुसभित्र गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका ल्याउन देउवा तयार छन् । त्यही अनुसार आफूनिकट नेताहरूलाई देउवाले भनेका छन् ।

यद्यपि, संस्थापन पक्षमा रहेका पूर्वपदाधिकारीसहित केही नेताहरू भने अहिले महाधिवेशनको बेला नभएको अडानमै छन् । तर, देउवाले पुसभित्रै गर्ने गरी कार्यतालिका ल्याउने गृहकार्य गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, इतर पक्षका नेता डा. शेखर कोइराला सहमत छैनन् ।

देउवा आफैँ सक्रिय हुन थालेपछि महाधिवेशन टार्ने उद्देश्यले नियमित महाधिवेशनको कार्यतालिका ल्याउन खोजिएको उनीहरूको आशङ्‍का छ । देउवाले निर्वाचन आयोगमा आफ्नै हस्ताक्षरमा दल दर्ता गरेपछि इतर पक्ष थप सशङ्कित बनेको छ ।

महाधिवेशनको मितिमा सहमति जुटाउने प्रयास भइरहे पनि अब महामन्त्री गगन थापा अब विशेष महाधिवेशन निर्विकल्प बनिसकेको दाबी गर्छन् ।

चुनावअघि महाधिवेशन अनिवार्य रूपमा गर्नको लागि दुई वटा बाटो रहेको उनको बुझाइ छ । पार्टीले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको भन्दै मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्नु उत्तम हुने प्रस्ताव राखेका छन् ।

देउवाको नेतृत्वमा पार्टी चुनावमा नजाने उनको अडान छ । त्यसबारे उनले भनेका छन्, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ ‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने, होइन ।’

उनले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने भन्दै त्यसमा अलमल नगर्न पार्टीपङ्‍क्तिलाई आह्वान गरेका छन्।

उनले थपेका छन्, ‘मैले भने प्रस्ट छ, अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

अब बस्ने केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको निर्णय गराउने महामन्त्रीद्वयसहित इतर पक्षका नेताहरूले जोडबल गरिरहेका छन् ।

त्यसो त प्रवक्ता डा. प्रकाशशरण महत महाधिवेशनबारे सर्वसम्मत निर्णय गर्ने कोसिस भइरहेको बताउँछन् । महाधिवेशनको मितिमा सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘अर्को बैठक ११ गते बोलाइएको छ, महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएको विषयमा हामी चाँडै निर्णय गर्छौं। विशेष महाधिवेशन माग गर्नेहरूको भावनालाई सम्बोधन गरेर नियमित महाधिवेशनको कार्यतालिका ल्याउँछौँ ।’ यद्यपि, उनी चुनावअघि महाधिवेशन गर्न नसकिने अडान राख्दै आइरहेका छन् ।

चुनावअघि महाधिवेशनको पक्षमा खुलेका देउवानिकट नेता राजन केसी पनि समयको माग अनुसार नेतृत्व परिवर्तन हुनुपर्ने मत राख्छन् ।

उनले भने, ‘हामीले सभापति, कार्यवाहक सभापति, महामन्त्रीदेखि शेखर कोइरालासम्मलाई भेटेर यो कुरा राखिसकेका छौँ । चुनावअघि नै महाधिवेशनको वातावरण बनाइदिनुपर्छ । जेन-जी आन्दोलनपछि फरक परिस्थिति बनेको छ। अब कांग्रेस पनि रूपान्तरण भएर जानुपर्छ, चुनावअघि महाधिवेशन हुँदा नयाँ नेतृत्व, नयाँ नीति र कार्यक्रम हुँदा पार्टीलाई फाइदा पुग्छ ।’

तर उनीहरू विशेष महाधिवेशनको पक्षमा छैनन् । उनी भन्छन्, ‘हामीले नियमित महाधिवेशन भनेका हौँ । वैशाखमा गर्नुपर्छ पनि भन्ने कुरा आएको छ । त्यो कुरा हामीले हुँदैन भनेका छौँ ।’

उनले पार्टी सभापतिसहित सबै नेताहरू पार्टी एकताबद्ध होस् भन्ने कुरामा एकमत रहेको जिकिर गरे । संस्थापन पक्ष यी नेताहरू चुनावअघिकै नियमित महाधिवेशनको वातावरण बनाउनमा केन्द्रित छन् । उनीहरूले आजै मात्रै पनि विशेष महाधिवेशन पक्षधर नेताहरूसँग भेट गरेका थिए ।

चुनावअघि नियमित महाधिवेशन प्रस्ताव गर्ने २७ केन्द्रीय सदस्य र विशेष माग गर्नेहरूबीच अबको निकासबारे छलफल भएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले बताए । ४ घण्टा छलफल चलेको भन्दै निकासका लागि सबै पक्ष सकारात्मक रहेको उनको भनाइ छ ।

त्यसो त कांग्रेसभित्र महाधिवेशनको विवाद चर्किएपछि राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधानमन्त्री सुशीला कार्कीले समेत चासो देखाएकी छन् ।

यसअघि नै विशेष महाधिवेशनको अगुवाइ गरेका नेता गुरुराज घिमिरेसँग भेटेका थिए । आज लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहित एक दर्जन नेताहरूसँग छलफल गरेका छन् । यसअघि नेता घिमिरेको नेतृत्वमा बालुवाटार पुगेको टोलीसँग पनि प्रधानमन्त्रीले कांग्रेस महाधिवेशनबारे चासो राखेकी थिइन् ।

महाधिवेशनको मिति तोक्न ढिलाइ गरेपछि विशेष महाधिवेशन पक्षधरले बुधबार दबाब भेला राखेको छ । भेला राष्ट्रिय सभागृहमा १ बजे हुने जनाइएको छ । सहमहामन्त्री डिना उपाध्याय पनि अहिलेसम्म कुनै प्रस्तावमा सहमति नभएकाले पार्टी विशेष महाधिवेशनतर्फ जानसक्ने सङ्‍केत गर्छिन् ।

उनी भन्छिन्, ‘कार्यवाहक सभापतिले सबैलाई मिलाएर लैजान्छु भनेर छलफल गरिराख्नुभएको छ। ११ गतेसम्म मिल्छ भन्नुभएको छ। उहाँले विभिन्न तहमा छलफल गरिराख्नुभएको छ ।’ अहिलेसम्म दुवै पक्षले आआफ्नो अडान नछाडेको अवस्था रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘हामीले कार्यतालिका निकालेर महाधिवेशनको सुरुआत गरौँ । निर्वाचन हुन्छ भने निर्वाचन केन्द्रीय महाधिवेशन पछि नै गर्ने तर प्रक्रिया चाहिँ थालौँ भनेको हौँ । तर कोही प्रक्रिया अगाडि बढाउनै हुन्न भन्ने, कोही महाधिवेशन नै अगाडि गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ । दुवैतिर आ–आफ्नै अडान छ । त्यसैले परिस्थिति विशेष महाधिवेशनतिर पनि जानसक्छ ।’

अर्का सहमहामन्त्री महेन्द्र यादव भने चुनावअघि कुनै पनि महाधिवेशन गर्न सम्भव नभएको बताउँछन् । यद्यपि, कार्यवाहक सभापति खड्काले अबको बैठकमा मध्यमार्गी प्रस्ताव ल्याउने भनेको बताए ।

उनले भने, ‘महामन्त्रीहरूले त सुरुदेखि नै विशेष महाधिवेशनको कुरा गरिराख्नुभएको छ । उहाँहरूले भनेजस्तो मान्छेको भेला गरेर मात्रै महाधिवेशन हुँदैन । उहाँहरूले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर भन्नुभएको छ । त्यसको सनाखत गरेर प्रक्रियामा जाँदा पनि चुनावअघि भ्याइँदैन ।’

उनले चुनावपछि महाधिवेशन गर्ने गरी नियमित महाधिवेशनको कार्यतालिका आउने जिकिर गरे । अहिले कार्यवाहक सभापति खड्का पार्टीका शीर्ष नेताहरूसँग सहमतिको प्रयासका लागि छलफलमा रहेको पनि बताए।

उनले थपे, ‘विशेष महाधिवेशनको हस्ताक्षर सङ्‍कलनले पार्टी तल्लो तहसम्म विभाजित भएको छ । त्यसैले हामीले नियमित महाधिवेशन भनेका छौँ । चुनावअघि प्रक्रिया थाल्ने, नेतृत्व चयन चुनावपछि गर्ने गरी कार्यतालिका सहमतिमै ल्याउने प्रयास भइरहेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *