
काठमाडौं । कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले आगामी फागुन ७ गते कोशी एक्सिलेन्स अवार्ड – २०२६ आयोजना हुने भएको छ ।
गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र बिमालगायत विधामा कोशी प्रदेशका विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो ।
यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र पुँजीबजार थप गरिएको नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताए ।
अवार्डका लागि निर्णायक समिति गठन गरिएको छ । समितिको प्रमुख सल्लाहकारमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी छन् । संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ ।
सुनसरीको इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुने अवार्ड समारोहको तयारी सुरु भएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए । अवार्डमार्फत कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ।

Leave a Reply