
काठमाडौं । अपाङ्गताको क्षेत्रमा सेवारत नेपालको पहिलो सामाजिक संस्था नेपाल अपाङ्ग संघको ३७ औँ साधारण सभा तथा अधिवेशन काठमाडौंमा हुने भएको छ । नेपाल अपाङ्ग संघको विधान अनुसार हरेक तीन वर्षमा नयाँ कार्यसमिति चयन गर्ने भएकाले यस वर्ष नयाँ कार्य समिति पनि चयन गरिने नेपाल अपाङ्ग संघका महासचिव शिवचन्द्र शाहले जानकारी दिए ।
नेपाल अपाङ्ग संघको अधिवेशन तथा साधारण सभा काठमाडौं शाखाको आतिथ्यमा हुने भएको छ । मंसिर १९ र २० गते काठमाडौं शाखाको आतिथ्यमा साधारण सभा तथा अधिवेशन गरिने महासचिव शाहले जानकारी दिए । २०२६ सालमा स्थापना गरिएको नेपाल अपाङ्ग संघ अपाङ्गताको क्षेत्रमा काम गरिरहेको पुरानो संस्था हो ।
केन्द्र अन्तरगत छ वटा शाखाहरू रहेका छन् । कोशी प्रदेशको झापामा, मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको काठमाडौंमा, लुम्बिनी प्रदेशको दाङ र बाँकेमा शाखाहरू रहेका छन् भने सुदूर पश्चिमको कैलालीका शाखाहरू रहेका छन् । काठमाडौंमा केन्द्रीय कार्यालय र शाखा कार्यालय रहेका छन् । नेपाल अपाङ्ग संघको इतिहासमा धेरै वर्षपछि मात्रै काठमाडौंमा अधिवेशन हुन थालेको काठमाडौं शाखाका अध्यक्ष नरेन्द्र कुमार लामाले जानकारी दिए । उनका अनुसार काठमाडौं शाखाले अधिवेशनको तयारी गरिरहेको छ ।
नेपाल अपाङ्ग संघले काठमाडौंमा अपाङ्ग पुनः स्थापना गृह सञ्चालनमा ल्याएको छ । जहाँ करिब एक सय जना अपाङ्गता भएका व्यक्तिहरू आश्रित रहेका छन् । यस्तै सुविधा सम्पन्न अर्थोपेडिक अस्पताल पनि सञ्चालनमा रहेको छ । नेपाल अपाङ्ग संघको स्थापना समाजसेवी खगेन्द्र बहादुर बस्नेतले गरेका थिए ।
यसैबीच नेपाल अपाङ्ग संघका अध्यक्ष साम्देन लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा कारबाही गरेर निष्कासन गरिएको छ । काठमाडौं शाखाका आजीवन सदस्य रहेका लामाले अपाङ्ग संघमा भ्रष्टाचार गरेको, मनोमानी ढङ्गले काम गरेको, गृहमा अपाङ्गलाई राख्दा कमिसन खाएको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २७ बुँदे निर्देशन दिँदै कारबाही गर्न भनेको थियो । सोही अनुसार काठमाडौं शाखाले लामालाई साधारण सभाबाट कारबाही गरेको जिल्ला अध्यक्ष नरेन्द्र लामाले जानकारी दिए ।
काठमाडौं शाखाले आजीवन सदस्यबाट निष्कासन गरेपछि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय समितिले उपाध्यक्ष चन्द्र तिमिल्सिनालाई कार्यवाहक तोकेको छ । कार्यवाहक अध्यक्ष तिमिल्सिनाले लामाले गरेको अनियमितताका बारेमा जिल्ला प्रशासनले नै स्पष्ट निर्देशन दिएपछि केन्द्रीय पदाधिकारी र केन्द्रीय समितिले वैकल्पिक व्यवस्था गरेको बताए ।
नेपाल अपाङ्ग संघको विधान अनुसार जिल्ला कार्यसमिति र केन्द्रीय कार्यसमिति मात्रै अधिवेशनका सभासद् हुने गर्छ । छ वटा शाखामा १९ जनाका दरले कार्यसमिति रहेको हुन्छ भने जिल्ला समितिमा नरहेका र केन्द्रीय समितिमा रहेकाहरू स्वतः केन्द्रीय अधिवेशनमा सहभागी हुन्छन् । अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने तिमिल्सिनाले बताए ।

Leave a Reply