धुर्मुसविरुद्ध नानाथरि अफवाह, यस्तो छ वास्तविक कथा-व्यथा

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आर्थिक दायित्व सल्टाउनका लागि ५ वर्षदेखि संघर्षरत छन् सिताराम कट्टेल धुर्मुस । यो संघर्षमा उनको निजी जीवन पूर्णरुपमा विथोलिएको छ र उनले भौतिक÷अभौतिक धेरै क्षति व्यहोरिसके ।

कलाकारितामा जल्दोबल्दो करिअरलाई दाउमा राखेर सामाजिक अभियानमा होमिएका थिए धुर्मुस र उनकी पत्नी कुञ्जना घिमिरे (सुन्तली) । सुरुवाती परियोजनाहरूमा उनीहरू निकै सफल पनि भए । तर, गौतम बुद्ध क्रिकेट रंगशालामा आइपुग्दा ठूलो भड्खालोमा परे । यतिबेला उनीहरू सामाजिक, आर्थिक र मानसिकरुपमा धराशायी बनेका छन् । उनीहरूको कलाकारिता यात्रामा ब्रेक लागेको छ भने पारिवारिक अमनचयन खल्बलिएको छ । रंगशाला निर्माण गर्दा व्यहोर्नु परेको १८ करोड ४३ लाख रुपैयाँको आर्थिक दायित्व आफ्नो थाप्लोबाट हटाउन नसक्दा विशेषतः धुर्मुस थकित, गलित र लगभग विक्षिप्त अवस्थामै पुगिसकेका छन् ।

अब कुरा गरौँ सामाजिक सञ्जालको । जुन सामाजिक सञ्जालले धुर्मुस-सुन्तलीलाई चरम देवत्वकरण गर्‍यो, रंगशालालाई पूर्णता दिन असफल भएसँगै त्यही सञ्जालले उनीहरूको उग्रराक्षसीकरण गर्न थाल्यो । वास्तविकता नबुझेका र आधि बुझेका मानिसहरूले उनीहरूलाई ‘ठग’ को बिल्ला बिराइदिए । यद्यपि, पछिल्लो समयमा आएर धेरैले कुरा बुझ्न थालेका छन् । उनीहरूले न्याय पाउनुपर्ने माग चौतर्फीरुपमा उठिरहेको छ । तर, न्याय अझै धुर्मुसको पहुँचभन्दा टाढै देखिन्छ ।

सामाजिक सञ्जालमै धुर्मुस-सुन्तलीविरुद्ध अनेक झूटा अफवाहहरू पनि फैलिएका छन् । यी अफवाहहरू आजबाट होइन, उनीहरूले रंगशालामा हात हालेदेखि नै चल्न थालेका हुन् । कतिपय मानिसहरू तीनै झूटा अफवाहको पछाडि दौडिएर उनीहरूलाई सत्तोसराप गरिरहेको पाइन्छ । फेरि समाज यति धेरै नकारात्मक भइसकेको छ कि यहाँ असल मानिसहरू पनि छन् भनेर सहजै विश्वासै गर्दैन । त्यही भएर धुर्मुस–सुन्तलीमाथिका अफवाहहरूले आजपर्यन्त पनि सामाजिक सञ्जालमा स्पेस पाइरहेकै छन् ।

कतिपय जिम्मेवार व्यक्तिहरू पनि अफवाह फैलाउन तल्लीन रहेको पाइएको छ । जसमध्ये एक हुन् नेपाल क्रिकेट संघ (क्यान) मा आबद्ध अनिल अधिकारी । उनी बाग्मती प्रदेश क्रिकेट संघमा क्रिकेट डाइरेक्टरका रूपमा कार्यरत छन् । धुर्मुसविरुद्ध हात धोएरै लागिरहेका छन् उनी । अधिकारीको एउटा ताजा अन्तरवार्ता अहिले चर्चामा छ, जहाँ उनले धुर्मुस-सुन्तलीबारे मनगढन्ते लाञ्छनाहरू लगाएका छन् । एक सिकारु युट्यूबरलाई हातमा लिएर उनी झूटो प्रचारबाजीमा उत्रेका हुन् ।

अधिकारीका केही दाबीहरू यस्ता छन्:

-धुर्मुस-सुन्तलीले रंगशालामा भ्रष्टाचार गरेको पैसाले १० रोपनी जग्गामा स्वीमिङ पुल सहितको आलिसान बंगला बनाएका छन्

-रंगशालका लागि उठाएको पैसाबाटै धुर्मुस-सुन्तलीले दुईवटा क्रेटा गाडी किने

-धुर्मुस-सुन्तली फाउन्डेसनबाट धुर्मुसले मासिक ७ लाख रुपैयाँ र सुन्तलीले ५ लाख रुपैयाँ तलब गैरकानूनी रूपमा लिने गरेका छन्

-रंगशालाका लागि उठाएको पैसाले फिल्म बनाए, यूरोप-अमेरिका घुमेर मोजमस्त गरे

अधिकारीले गौतम बुद्ध रंगशालामा धुर्मुसले व्यापक भ्रष्टाचार गरेको भन्दै २०७८ सालमा अख्तियारमा उजुरी हालेका थिए । उनको उजुरीका आधारमा अख्तियारले लामो अनुसन्धान गर्‍यो । धुर्मुसको सम्पत्तिमाथि पनि छानबिन गर्‍यो । तर, अनियमितताको कुनै पनि गन्ध नपाएपछि मुद्दा तामेलीमा राख्ने (स्थगन गर्ने) निर्णय अख्तियारले २०८२ साल फागुनमा गरेको थियो । अख्तियार स्रोतका अनुसार रंगशाला निर्माणका लागि प्राप्त भएको सहयोगलाई फाउन्डेसनले प्रक्रियागतरुपमा नै खर्च गरेको पाइएकाले उनलाई क्लीन चिट दिइएको हो ।

अख्तियारमा मुद्दा हाल्दा चितवन निवासी अधिकारी क्यानको बाग्मती प्रदेश कोषाध्यक्ष थिए । उनले सुरुवाती चरणमा धुर्मुसलाई रंगशाला निर्माणमा साथ पनि दिएका हुन् । तर पछि आफ्नो राय–सल्लाह नमानिएको र आफूले गतिलो भूमिका नपाएको भन्दै रुष्ट बने र विरोध गर्दै हिँड्न थाले । अधिकारीले चलाएको भरतपुर क्रिकेट क्लबले २०७७/७८ मा गौतम बुद्ध रंगशालाको नमूना मैदानमा ‘मेयर्स क्लब क्रिकेट प्रतियोगिता’ को आयोजनासमेत गरेको थियो । त्यसबेला फाउन्डेसनले एक दिनको १५ हजार रुपैयाँ शुल्क लिएर मैदानमा म्याच खेलाउन दिन्थ्यो । त्यहीअनुसार मेयर्स कपको आयोजना गरे पनि अधिकारीले तोकिएको शुल्क तिरेनन् । क्यान्टिनमा खाजा खाएको पैसा पनि अहिलेसम्म नतिरेको बुझिएको छ । फाउन्डेसनबाट रकम तिर्न ताकेता भएपछि उनी अख्तियारमा उजुरी हाल्न पुगेका हुन् ।

नेपाली क्रिकेटको नियमनकारी निकायमा पदासीन जिम्मेवार व्यक्तिले गरेका दाबीहरूबारे हामीले विभिन्न स्रोतहरूमार्फत खोजीनिती गर्‍यौँ । तर, कुनै पनि स्रोत र प्रमाणले उनका दाबीहरूलाई समर्थन गरेनन् ।

हामीले बुझेअनुसार धुर्मुस–सुन्तलीको अहिले खुमलटारमा एउटा घर रहेको सत्य हो, तर त्यहाँ कुनै स्वीमिङ पुल छैन । यसअघि कुसुन्तीमा रहेको सानो घर बेचेर २०७३ सालमा धुर्मुसले यो घर ठड्याएका हुन्, जतिबेला रंगशाला उनको परिकल्पनामा समेत थिएन । मुक्तीनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डर भएपछि त्यसवापत आउने पैसालाई लोनमा बदलेर धुर्मुसले यो घरमा लगानी गरेका उनी निकटस्थहरू बताउँछन् ।

निकटस्थहरूका अनुसार धुर्मुस–सुन्तलीसँग अहिले चारपाङ्ग्रे त के, दुई पाङ्ग्रे सवारीसाधन पनि छैन । आफूसित भएको क्रेटा गाडी उनले २ वर्षअघि विक्री गरेका थिए । क्रिकेट रंगशाला निर्माणका क्रममा आर्थिक संकट परेपछि उनले फाउन्डेसनको टिडिएस (स्रोतमा काटिने कर) समयमा तिर्न सकेनन् । कर बढ्दै गएपछि उनी आफ्नो कार बेच्न बाध्य भएका थिए । उनले कार बेचेर ३२ लाख कर तिरेको त्यसबेला फाउन्डेसनमा काम गरेका एक कर्मचारीले बताए ।

कार बेचेपछि धुर्मुस कहिले पठाओमा हिँड्छन् त कहिले साथीभाइको सवारी साधनमा लिफ्ट माग्छन् । पछिल्लो समयमा एक जना सहयोगीले उनलाई आफ्नो मोटरसाइकलमा हिँडाउने गरेका छन् । पत्नी कुञ्जनाले छोरीलाई अस्पताल लैजाने लगायत अत्यावश्यक पर्दा प्राय आफ्नो दिदी–भिनाजुको कार प्रयोग गर्ने गरेकी छन् । सुन्तली कहिले साथीभाइको र कहिले आफन्तको गाडी मागेर चलाउने भएकाले कतिपयले उनीहरूको थरिथरि गाडी भएको आशंका गर्ने गरेका हुन् ।

धुर्मुस–सुन्तली फाउन्डेसन पनि आर्थिक कारणले नै लामो समयदेखि बन्द अवस्थामा छ । काठमाडौंको बानेश्वर हाइटमा एउटा घर भाडामा लिएर फाउन्डेसनको कार्यालय राखिएको थियो । परियोजना चलिरहँदा अस्थायी कर्मचारीहरू भर्ती गर्ने र सकिएपछि बिदा दिइन्थ्यो । कार्यालयमा सीमित कर्मचारीहरू थिए । आर्थिक संकटका कारण धुर्मुसले कार्यालयको भाडा समयमा तिर्न सकेनन् । १३ महिनाको भाडा थुप्रिएपछि घर खाली गर्नुपरेको थियो । धुर्मुसले कार्यालयका फर्निचरहरू एक जना साथीको गार्मेन्टमा लगेर थुपारे भने महत्त्वपूर्ण कागजातहरू आफ्नै घरमा लगेर थन्क्याएका छन् । अहिले फाउन्डेसनमा कोही पनि कर्मचारी छैनन् ।

फाउन्डेसनबाट धुर्मुसले ७ लाख रुपैयाँ र सुन्तलीले ५ लाख रुपैयाँ तलब खाएको दाबीमा पनि कुनै सत्यता नरहेको पाइएको छ । तत्कालीन समयमा फाउन्डेसनको प्रशासनिक जिम्मेवारी सम्हालेका व्यक्तिका अनुसार उनीहरूले नियमित तलब दुवैले कहिले पनि लिएनन् । धुर्मुसले मोबाइलमा मासिक २ हजार रुपैयाँ रिचार्ज फाउन्डेसनको स्रोतबाट गर्थे भने परियोजनाको काममा यात्रा गर्दा गाडीमा तेल फाउन्डेसनको पैसाले हाल्थे । त्यसबाहेक उनले फाउन्डेसनबाट अतिरिक्त सुविधा नलिएको ती कर्मचारीको भनाइ छ । सुन्तलीले भने फाउन्डेसनबाट यातायात खर्च पनि नलिएको उनले बताए ।

धुर्मुस–सुन्तलीमाथि लगाइएको अर्को आरोप हो, रंगशालाका लागि उठाएको पैसाले फिल्म बनाएको र देश विदेश सयर गरेको । धुर्मुस–सुन्तलीले आफ्नी छोरी सुबिहानीको नामबाट ‘सुबिहानी फिल्म्स’ नामक कम्पनी स्थापना गरी त्यसबाट २०७६ सालमा ‘सेन्टिभाइरस’ नामक फिल्मको निर्माण गरेका थिए । तर, यो फिल्ममा उनीहरूको एक रुपैयाँ पनि लगानी थिएन । फिल्मका लगानीकर्ता डिन्डु लामा ह्यौल्मो थिए, जो धुर्मुससँग गिरानचौर वस्ति निर्माणदेखि नै जोडिएका व्यक्ति हुन् । अमेरिकामा बस्दै आएका लामाले ‘सेन्टीभाइरस’ बाट कमाएको ५० प्रतिशत मुनाफा रंगशालालाई दिने घोषणासमेत गरेका थिए । तर, फिल्म घाटामा गयो । धुर्मुस–सुन्तलीलाई आर्थिकरूपमा हात लाग्यो शून्य भयो ।

गत वर्ष पनि धुर्मुसले एउटा चलचित्रमा अभिनय गरे, जसको नाम थियो ‘लाज शरणम’ । यो चलचित्रमा पनि धुर्मुसको कुनै लगानी थिएन । निर्माता थिए नवीन श्रेष्ठ । चलचित्र ठिकठाक चल्यो । धुर्मुसको अभिनयको प्रशंसा पनि भयो । तर, आर्थिक लाभ उनलाई केही पनि भएन । नाफा कमाएको खण्डमा केही लाभांश पाउने शर्तमा धुर्मुसले काम गरेका थिए, तर चलचित्रले लगानी मात्र उठाएकाले आफूले लाभांश दिन नसकेको निर्माता श्रेष्ठ बताउँछन् । उनी अहिले अर्को चलचित्र ‘पाण्डव’ को निर्माणमा छन्, जसमा धुर्मुसको पनि अभिनय रहने छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले रंगशालाका लागि सामग्रीहरू ल्याउँदा कुनै बोलपत्र आह्वान नगरी आफूखुसी ल्याएको आरोप पनि लाग्दै आएको छ । तर, यो सत्य होइन । फाउन्डेसनले आवश्यक निर्माण सामग्रीहरूको सूचीसहित २०७७ साल साउन ४ गते राष्ट्रिय पत्रिकामा रितपूर्वक बोलपत्र आह्वान गरेको थियो । आवेदन गर्नेहरूमध्ये सबैभन्दा कम दरभाउ प्रस्ताव गर्नेलाई नियमानुसार छनोट गरिएको फाउन्डेसन स्रोत बताउँछ ।

हेर्नुस् त्यसबेलाको बोलपत्र सूचना

अहिले निर्माण सामग्री आपूर्तिकर्ताहरूबाट मुद्दामाथि मुद्दा खेपिरहेका छन् धुर्मुस । उनीविरुद्ध ३ वटा अदालतमा १९ वटा मुद्दा छन् । मुद्दाको तारेखका लागि कहिले कुन त कहिले कुन अदालत धाइरहनुपर्ने अवस्था छ । रंगशालाको तनावले गर्दा पछिल्लो समय धुर्मुसको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उनी शारीरिक र मानसिकरुपमा निकै कमजोर बनिरहेका छन् । डिप्रेसन र एन्जाइटीको शिकार भएका छन् । तर, पनि राज्यसँग लड्न छोडेका छैनन् ।

धुर्मुसमाथि खप्टिएको अर्को पीडा हो, छोरी सुबिहानीको स्वास्थोपचार । आफ्नी छोरीमा सानैदेखि गम्भीर शारीरिक समस्या रहेको कुरा धुर्मुस–सुन्तलीले लामो समयदेखि लुकाएर राखेका थिए । केही दिनअघि सुन्तलीले फेसबुकमार्फत आफ्नी १२ वर्षीया छोरीको स्वास्थ्यअवस्थाबारे जानकारी दिएकी हुन् ।

सुबिहानी जन्मेको १६ दिनदेखि म्यानेन्जाइटिस भएर एक महिना अस्पताल बस्नु परेको थियो । त्यसक्रममा घुँडाको हड्डीमा समेत इन्फेक्सन भई एउटा घुँडाको कुर्कुरे हड्डी बिग्रियो । उनको उचाइ बढुञ्जेलसम्म डाक्टरको निगरानीमा राख्नुपर्ने अवस्था छ । अहिले सुबिहानीको दाहिने खुट्टा देब्रे खुट्टाभन्दा ७ सेन्टिमिटर छोटो रहेको कुञ्जना बताउँछिन् । उनी ४ वर्षको हुँदा दाहिने खुट्टा छड्के नहोस् भनेर साइडबाट बढ्ने हड्डी रोक्न घुँडाको अप्रेसन गरेर स्टिल राखिएको थियो । उक्त स्टिल निकाल्न र छोटो खुट्टा तन्काउने उपचार गर्न ३÷४ वर्ष ढिलाइ भइसकेको उनको भनाइ छ । पछिल्लो समयमा सुबिहानीलाई हिँडडुल र उठबस गर्नमा पनि समस्या भइरहेको छ ।

यो उपचार प्रक्रिया लामो र पीडादायी हुन्छ । चिकित्सकहरूले सकभर अमेरिका लगेर उपचार गर्न सुझाव दिएका छन् । धुर्मुस सुन्तलीले रंगशाला तनावबाट मुक्त भएर छोरीको उपचार प्रक्रियामा जुट्ने योजना बनाएको पनि धेरै भइसक्यो । तर, यसबाट उम्किन नपाउँदा छोरीको स्वास्थ्य दिनानुदिन जोखिममा परिरहेको छ ।

रंगशाला निर्माणमा लागेदेखि धुर्मुस र सुन्तलीको कलाकारिता यात्रा अवरुद्ध बनेको छ । समकालीन कलाकारहरू कार्यक्रमका सिलसिलामा देश–विदेश डुलिरहँदा धुर्मुस भने निरन्तर सिंहदरबार र भरतपुर महानगरको फेरो लगाउन बाध्य भएका छन् ।

कलाकारितामा आफ्नो जल्दोबल्दो करिअरलाई थाँती राखेर धुर्मुस सामाजिक अभियानमा होमिएका थिए । नेपालले ओडिआई राष्ट्रको मान्यता पाएसँगै क्रिकेट फ्यानहरूबाट चौतर्फी माग र अनुरोधपछि उनले क्रिकेट रंगशाला निर्माणको अभियानमा लाग्ने घोषणा गरेका हुन् । चितवन महानगरपालिकासँग सम्झौता गरेर काम सुरु गरे । सम्झौता कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सबैजसो शीर्ष नेताहरूको उपस्थिति थियो ।

सकेसम्म जनस्तरबाट सहयोग संकलन गरेर रंगशालालाई पूर्णता दिने योजना थियो धुर्मुसको । यदि पर्याप्त सहयोग संकलन गर्न नसकेको खण्डमा रंगशालाको स्वामित्व महानगरले लिएर निर्माण अघि बढाउने गरी दुई पक्षबीच सम्झौता भएको थियो । जग्गाप्राप्ति लगत्तै धुर्मुसले युद्धस्तरमा काम अघि बढाए । देशविदेशबाट फाउन्डेसनलाई आर्थिक सहयोग जुटिरहेको थियो । कोभिडपछि भने सहयोग संकलनमा ह्रास आयो र फाउन्डेसनलाई आर्थिक संकट पर्‍यो । त्यसपछि फाउन्डेसनले सम्झौताबमोजिम ५ वर्षअघि नै महानगरलाई रंगशालाको स्वामित्व हस्तान्तरण गरिसकेको छ ।

रंगशालाको स्वामित्व लिएपश्चात् फाउन्डेसनलाई लागेको १८ करोड ४३ लाख ऋण (उधारोमा निर्माण सामग्री ल्याएवापतको) तिर्नका लागि भरतपुर महानगरले प्राविधिक मूल्यांकन गरायो । तर, त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । न त फाउन्डेसनको ऋण नै फर्छ्यौट भएको छ । बरु विभिन्न सरकारी निकायहरूबाट ५ पटकसम्म रंगशाला निर्माणको छानबिन भइसकेको छ । कुनै पनि छानबिनबाट रंगशालामा अनियमितता भएको भेटिएन । तर, पनि धुर्मुसको थाप्लोबाट १८ करोड ४३ लाख रुपैयाँ ऋणको बोझ हटेको छैन ।

रंगशाला निर्माणकै लागि महानगरले धानधानान्चल महायज्ञ आयोजना गरेको थियो । जसमा ६९ करोड रुपैयाँको कबोल भएपछि धुर्मुसले हौसिएर उधारोमा निर्माण सामग्री ल्याउँदै कामलाई तीव्रता दिएका थिए । तर, कबोल भएको रकम नउठेपछि उनी संकटमा परेका हुन् । ५१ करोड बराबरको कबोल त सरकारी निकायहरूबाटै भएको थियो, जुन प्राप्त भएन । ६९ करोड कबोल भएकोमा फाउन्डेसनले जम्माजम्मी ९ करोड ४१ लाख मात्र प्राप्त गरेको थियो ।

फाउन्डेसनलाई रकम हस्तान्तरण गर्दा आफूहरूलाई भ्रष्टाचार मुद्दा लाग्न सक्ने भनेर महानगरले प्रचार गराइरहेको छ । तर, यो बहानाबाजीमात्र किन हो भने संघीय सरकारबाटै शीर्षकसमेत खुलाएर आएको रकममा संघीय सरकार नै जिम्मेवार हुन्छ । राष्ट्रिय बजेटमा नै समावेश गरिएको हुँदा संघीय सरकारलाई पनि मुद्दा लाग्ने आधार छैन ।

अर्थ मन्त्रालयले ‘रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि’ भनेर तोकेर पठाएको रकम खुरुक्क हस्तान्तरण गर्नुको साटो विभिन्न बहानाबाजी गरेर रोकेर राख्नुमा दुख दिने नियतबाहेक अरू केही पनि देखिन्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *