अरविन्द शाहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने बारा जेनजीको अडान

काठमाडौं । आज दिनभरि अशान्त बनेको बारामा जनजीवन सामान्य बन्दै गए पनि जेनजी अगुवाहरू प्रशासनसँग वार्तामा बस्न तयार देखिएका छैनन् ।

जिल्ला प्रशासनले वार्तामा आउन आह्वान गरे पनि उनीहरू वार्तामा बस्न तयार छैनन् ।

‘प्रशासनसँग वार्तामा बस्नका लागि जेनजीहरुको एकै माग छ, आफूहरूमाथि हमला गर्ने अरविन्द शाहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने,’ बारा जिल्लाका जेनजी संयोजक सम्राट उपाध्यायले भने, ‘हामीले अरविन्द शाहविरुद्ध जाहेरी दिइसकेका छौँ । तर, अहिलेसम्म पक्राउ गरिएको छैन । उसलाई पक्राउ नगरेसम्म हामी वार्तामा बस्न असमर्थ छौँ ।’

भोलि बिहान १० बजेबाट सिमरामा पुनः आन्दोलन गर्ने गरी अहिले जेनजीहरु आ–आफ्नो घरतिर लागेका छन् । हिजो आफूहरूले गरेको शान्तिपूर्ण प्रदर्शनमा सबैभन्दा पहिले आक्रमण गर्ने शाहलाई प्रहरीले पक्रिहाल्नुपर्ने उपाध्यायले बताए । आफूलाई सबैभन्दा पहिले मुक्का हान्ने पनि शाह नै भएको उपाध्यायको भनाइ छ ।

उनले भने, ‘सबैभन्दा पहिला हात हाल्ने व्यक्ति ऊ (अरविन्द शाह) नै हो । मलाई पनि उसैले सबैभन्दा पहिला मुक्का हानेको थियो ।’

यदि प्रशासनले शाहलाई पक्राउ नगरे आन्दोलन निरन्तर हुने उपाध्यायले बताए । साथै सिमराको जनता र सुधन गुरुङ लगायत जेनजीका राष्ट्रिय अगुवाहरुहरुको सल्लाह अनुसार भोलिबाट आन्दोलनको रुपरेखा तयार हुने समेत उपाध्याय बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *