
काठमाडौं । विघटित नेकपा माओवादी छाडेर प्रगतिशील राष्ट्रिय अभियान थालेका जनार्दन शर्माले जेनजी विद्रोह र बलिदानको समेत उपेक्षा गर्दै पुनः जनता झुक्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थालेको आरोप लगाएका छन्।
सुशासन र विकासको पक्षमा एवं भ्रष्टाचारको विरुद्धमा सङ्घर्ष गर्दै आएका नेताहरूले दलभित्र विद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरूसँग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न भइरहेको बताए।
उनको भनाइ जस्ताको त्यस्तै:
आज मंसिर ४ गते । वि.सं.२०७९ साल मंसिर ४ गते ५ वर्षको निम्ति प्रतिनिधि छान्न नागरिकले मतदान गरेको तीन वर्ष पूरा भएको दिन पनि हो।
त्यसबेला जनमत प्राप्त गरेका राजनीति दलका नेतृत्वहरूले जनप्रतिनिधिहरूलाई भ्रष्टाचार विरुद्ध, सुशासन र विकासको पक्षमा परिचालन नगरेको मात्र होइन, भ्रष्टाचार र कुशासनको प्रवर्द्धन गरेको कारण नवयुवा (जेन-जी) विद्रोह २०८२ भयो र यो जारी नै छ। परिणामस्वरूप २०८२ फागुन २१ गते नयाँ निर्वाचन घोषणा भएको छ।
नवयुवा (जेन-जी) विद्रोह र बलिदानको समेत उपेक्षा गर्दै पुनः जनता झुक्क्याउने प्रपञ्चमा पुराना दलहरू केन्द्रीकृत हुन थालेपछि ती दलहरूमा पहिले देखिनै सुशासन र विकासको पक्षमा एवं भ्रष्टाचारको विरुद्धमा सङ्घर्ष गर्दै आएका नेताहरूले दलभित्र विद्रोह गरेर नयाँ दल गठन गर्ने र नयाँ शक्ति एवं व्यक्तिहरूसँग सहकार्य गरेर जनभावना अनुसार राजनीतिक निकास दिने प्रयत्न गरिरहेको अवस्था छ।
जुन जनविद्रोह २०८२ प्रति सम्मान र देश र जनताप्रति कर्तव्य पनि हो। देश र जनताको हितलाई सर्वोपरि मान्ने सम्पूर्ण जनसमुदायलाई नयाँ ढंङ्गबाट सोच्न र राष्ट्रलाई अग्रगामी निकास दिन सहकार्यको निम्ति हार्दिक आव्हान गर्दछु।

Leave a Reply