
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको बैठकले ३ जनालाई निष्कासन गरेको छ । २ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले प्रदेश कमिटी सदस्य द्वारिकालाल चौधरी कोशी प्रदेश कमिटीका सल्लाहकार ध्रुव सिवाकोटी र मनोरथ तिवारीलाई पाटीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय भएको बताए ।
द्वारिकालाल चौधरी इटहरी उप महानगरपालिका र धुर्व सिवाकोटी झापाको विर्तालोड नगरपालिकामा एमालेबाट २०७४ को निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।
२०७९ को निर्वाचनमा पनि मेयर दोहोर्याउने चाहाना राखेका चौधरीलाई पाटीले टिकट नदिएपछि माओवादी मा प्रवेश गरेका थिए । उनी माओवादी प्रवेश गरेर सुनसरी क्षेत्र नम्बर २(१) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार भएका थिए । उनी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भए । निर्वाचनमा पराजित भएसँगै एमालेमा फर्किएका चौधरी पाटी गतिविधिमा भने सामेल हुन सकेका थिएनन् ।
उनी पाटीका स्थानीय नेताहरूको आलोचना गर्दै आएका थिए । साधारण सदस्य बाट समेत निष्कासनमा परेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर सिवाकोटी माथि भने आफ्नै घरमा काम गर्न राखिएकी किशोरी माथि बलात्कार गरेको आरोप लागेको छ । सो अभियोगमा हिरासत बसेर उनी केही महिना अघि धरौटीमा रिहा भएका छन् ।
उनको मुद्दा अदालतमा विचराधिन रहेको छ । उनी प्रहरी हिरासतमा नबसी बी एण्ड सी अस्पतालमा बसेको र त्यसमा पाटीले संरक्षण गरेको आरोप समेत लाग्दै आएको छ । साधारण सदस्यबाट निष्कासनमा परेका मनोरथ तिवारी भने भदौ २४ गते भएको आगजनी तोडफोड र लुटपाटमा संलग्न रहेको पाटी सचिव भण्डारीले बताए ।
उनले भने, ‘तिवारी जी व्यक्तिका सम्पत्ति र सरकारी सम्पत्ति आगजनी तोडफोड र लुटपाटमा संलग्न रहेको पुष्टि भएको छ । यस्ता व्यक्तिलाई पाटीमा ठाउँ छैन भन्ने सन्देश दिन कारबाही भएको हो ।’
यस्तै प्रदेश कमिटीको इटहरीका काशीनाथ दङगाल र डा बद्री विशाल पोख्रेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दङ्गाल यस अघि नेकपा कालमा एमाले इटहरी नगर कमिटीका सचिव थिए ।

Leave a Reply