प्रधानमन्त्री कार्कीले दलहरुलाई भनिन्– चुनावमा भाग नलिए लोकतन्त्रभन्दा अराजकता रोजेको ठहरिन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा सरकारको उच्च प्राथमिकता रहेको बताएकी छिन् ।

जुनसुकै राजनीतिक विवाद वा अराजकतालाई नियन्त्रण गरी हरेक नागरिकले निर्भयताका साथ मतदान गर्न सक्ने वातावरण सिर्जना गरिने उनको प्रतिबद्धता छ ।

आज आफैँले बोलाएको सर्वदलीय वैठकमा सम्वेधन गर्दै कार्कीले संसद् पुनःस्थापनाको अडान नलिने दलहरुलाई आग्रह गरिन् । पुनर्स्थापनाको अडान लिने हो भने त्यसले केवल विगतको राजनीतिक दुर्घटनालाई दोहोर्‍याउन खोजेको पुष्टि हुने उनको भनाइ थियो । अबको राजनीतिक बहसलाई संवैधानिक निकासको बाटो अर्थात् निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा उनले जोड दिइन् ।

कार्कीले भनिन्, ‘लोकतन्त्रमा विश्वास गर्ने शक्तिहरूका लागि निर्वाचनबाट भाग्नु कुनै विकल्प होइन । तसर्थ लोकतन्त्रमा विश्वास गर्ने कुनै पनि दलले जनमतको सम्मान नगरी पुनःस्थापनाको कुरा गरेर संवैधानिक दायित्वबाट पलायन नहोस् भनी म विशेष आग्रह गर्दछु ।’

उनले मंसिर १० गतेभित्र अनिवार्य रूपमा निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन अपिल गरिन् ।कार्कीले थपिन्, ‘यो राष्ट्रप्रतिको तपाईंहरूको न्यूनतम राजनीतिक प्रतिबद्धताको कसीमा जाँच हो । दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ ।’

निर्वाचनको संघारमा राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक रहेको कार्कीको भनाइ छ । केही नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र सामाजिक वातावरणलाई दूषित बनाएको उनले टिप्पणी गरिन् । आचारसंहिताको गम्भीर उल्लङ्घन मान्दै त्यस्ता द्वेषपूर्ण अभिव्यक्ति र हेट स्पीच विरुद्ध तत्काल र सार्वजनिक कारबाही गर्न सरकारले निर्वाचन आयोगलाई पूर्ण सहयोग गर्ने उनले बताइन् ।

जोखिम व्यवस्थापनका लागि राजनीतिक विवाद चर्किएका वा सुरक्षाका रूपमा संवेदनशील जिल्लाहरूलाई ‘हट–स्पट’ मा राखेर सादा पोशाकका सुरक्षाकर्मी र गुप्तचरको परिचालन बढाइएको कार्कीले जानकारी दिइन् ।

उनले थपिन्, ‘अराजकता नियन्त्रणमा पनि हाम्रो ध्यान पुगेको छ । तरल र अनिश्चयपूर्ण वातावरणको फाइदा उठाउन भड्काउयुक्त क्रियाकलापमा लागेका समूह वा भागेका कैदीबन्दीहरूबाट हुन सक्ने कुनै पनि उपद्रवलाई ‘कानुनी व्यवस्था’ को विषय मानि अतिरिक्त सुरक्षा सतर्कता अपनाइएको छ । राजनीतिक हिंसा र टकरावलाई नियन्त्रण गर्न हामी सबै पक्षसँग ट्रयाक–टु वार्ता र संवादको पहल पनि गरिरहेका छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *