प्रचण्डले जितेर पनि हारे, माधवले हारेर पनि जिते

सिंहदरबारमा ४२ सूत्रीय माग पूरा नभएपछि रन्थनिएर बनवास लागेको माओवादी जनताको लाखौँ लिटर रगतमा लतपतिएर शान्ति प्रक्रियामा फर्कियो । दिल्ली संस्थापनको सहकार्यमा ११ बुँदे सम्झौता गर्दै २०६२ सालमा सार्वजनिक भएका प्रचण्डले एक मुठ्ठी श्वास रहुञ्जेल माओवादलाई मार्गदर्शक सिद्धान्त अपनाउने कसम खाएका थिए । टाई-सुटवाला प्रचण्ड यो खुला राजनीतिको २० वर्षको अन्तरालमा विभिन्न अवयव पार गर्दै आफू, आफ्नो पार्टी र मुलुकलाई अराजकता सिकाएर शिखरमा पुर्‍याउन ठुलै योगदान गरेका थिए ।

२००७ सालदेखि अड्किएको संविधानसभाको एजेन्डाअन्तर्गत नयाँ संविधान लेख्न दुई पटक उक्त सभाको निर्वाचन झेल्नुपरेको थियो । सुशील कोइरालाको नेतृत्वमा नेपालको संविधान २०७२ नामको किताब छापियो, सदन अर्थात् संविधानसभाबाट सार्वजनिक गरिने नयाँ संविधानको प्रमुख अतिथि डा.रामवरणले सो पुस्तकलाई तीन चोटि ढोग्दा संसदमा गडगडाहट ताली बज्यो।

अघिल्लो बेन्चमा बसेका प्रचण्ड सेतो सर्ट, नीलो कोट, घाँटीमा रातो टाइ र भादगाउँले कालो टोपीमा सजिएर मुस्कुराए । त्यो दिन उनले सोचेका थिए, यो सब मैले गर्दा भएको हो ।

उसै बखत सुशील कोइरालासँग लाजिम्पाट हल्का चिढिएछ । कारण लाजिम्पाटलाई लागिरहेको थियो कि, हाम्रै प्रयासमा १० वर्षे सशस्त्र युद्धको समापन सम्भव भएको हो । हिन्दूस्थानले सिनमा त्यस्तो नभई समुन्द्र पारिका गोरा छालाहरूको मिश्रणको आभास पायो । सुशील कोइरालालाई घोक्रे ठ्याक पार्दै नेकपा एमालेले राज्यको चाबी आफ्नो हातमा पार्‍यो ।

एमाले भर्खर सत्ता सञ्चालनको रोडम्याप तयार गर्दै थियो । भूकम्पले थलिनुपर्‍यो । यसै बेला छिमेकी मुलुक र नेकपा एमालेको विरुद्ध हुर्काइएको संसदमा हेर्दा उस्तै उस्तै जस्तो र उत्रै आकारको देखिने अलिक फरक चरित्रबाट आएको एमालेको सगोत्री भाइले एकै घरमा मिलीजुली बस्ने प्रस्ताव अनुसार २०७४ सालको आम निर्वाचनमा बहुमतसहितको वामपन्थी, अर्थात् नेकपाको सरकार गठन भयो ।

तत्कालीन नेकपाको प्रगतिशील सरकारप्रति घरेलु, अर्थात् छिमेकीहरूको आँखा गढ्यो । केही समयपछि नेकपामा आन्तरिक कलहले उग्र रूप लियो । घरेलु भाइहरूको हारगुहारमा छिमेकीले एमाले ओली नेतृत्वको सरकारको हातमा नाकाबन्दीको उपहार थमाइदियो । भारतीय नाकाबन्दीका विरुद्ध  डटेर सामना गरेकै कारण सोही कालदेखि केपी ओली ‘आई लभ यू’ को नारा राष्ट्रिय स्लोगानजत्तिकै बन्यो ।

केपी ओलीको जबरजस्त अडानसँग आफ्नै घरेलु राजनीतिक दल आफ्ना मालिकको आदेशमा सबै चिढिन थाले । कांग्रेस त नाकाबन्दी हो भन्नसमेत हिचकिचायो । इतिहासमा एक पटक दुई अलग धारबाट आएका  कम्युनिस्ट पार्टी आआफ्नै सत्ता लिप्सा र अहंकारका कारण घर झगडाबाट अदालत हुँदै आ-आफ्नै पुरानो घरतर्फ लागे । पुँजीवादी मापदण्डअनुसार डिभाइड एन्ड रुलको नीति बोकेको कांग्रेसले नेपाली कम्युनिष्टहरुको सर्वनाश हेर्न चाहन्थ्यो ।

देउवा कांग्रेसले राजपाठ आफ्नो हातमा पार्ने बित्तिकै नभएको कानुन अध्यादेश मार्फत २० प्रतिशत लागु गराएर एमाले विरोधी संसदबाट नयाँ पार्टीको न्वारन गरी पार्टी सञ्चालन हेतु खर्चसहितको व्यवस्थापन मिलाई  एमालेसँग छुट्टिएर काठमाडौंको तीनकुने स्थित कोठा लिएर कांग्रेससँगको गठबन्धनसहित एमालेविरुद्ध देशव्यापी २०७९ को आमनिर्वाचनमा केही नेपाली दर्शकको बीचमा हल्का ताण्डव नृत्य प्रस्तुत भयो ।

सोही समयदेखि मुलुक अस्थिरताको बाटोतर्फ उन्मुख हुँदै जान थाल्यो । पार्टीमा फूटको असरले जनतामा व्यापक असन्तोष र निराशाले घेरा नाघ्न थालिसकेको थियो । फलस्वरूप सेप्टेम्बर ८, अर्थात् ०८२ भदौ २३–२४ को आन्दोलनले केपी ओलीको सरकार सत्ताच्यूत हुनुपर्‍यो। यो परिस्थितिमा कसैले खुच्चिङ नमच्चाए हुन्छ ।

यता प्रत्येक नयाँ ऋतु परिवर्तन सँगसँगै नयाँ समीकरण गर्दै हिँड्न बानी परेका प्रचण्ड जेन-जी आन्दोलनपश्चात् आत्तिएर खुट्टा कमाउँदै, उक्त आन्दोलन हुनुमा आफ्नो तर्फबाट पनि भूल बस केही कमी कमजोरी भएको अभिव्यक्ति दिए र तत्कालीन ओली सरकारतिर धारे हात लाउँदै उम्किन खोजे ।

एकाएक प्रचण्ड असाधारण तरिकाले मुख बाउन थाले- ‘गुटफूट त्यागौँ, सबै वामपन्थी एक हौँ’ भन्दै । आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसकिरहेका बेला टुक्राटाक्री जम्मा पारेर, सामान झिकेर रित्तिएको कार्टुनले गोदाम भर्दै आफ्नो पसलको नाम पनि परिवर्तन गरे ।

उता भुँइको टिप्न खोज्दा पोल्टामा रहको सशस्त्र आन्दोलनका महारथी जनार्दन शर्मालगायत अरू पनि झरे । ‘चढ्ने चढ्छन्, नचढ्ने छुट्छन्’ भन्दै दलीय नामका ८–९ भाइ लोड गर्दै मूल ड्राइभर बनेर हुइँकिँदै छन् । कहाँसम्म पुगिन्छ, तर गन्तव्य स्वयं प्रचण्ड आफैँलाई थाहा छैन । माओले भनेका छन्, ‘पार्टी भनेको नदीजस्तो गडगडाहट हुनुपर्दछ । छेउ किनारका झ्यास झुस बढार्दै हिँड्ने, न कि पोखरीजस्तो विभिन्न फोहोर जमेर एकै ठाउँ बसिराख्ने’ ।

यो फर्मुला अपनाए पनि वैचारिक रूपले गलिसकेका प्रचण्ड हारको सीमा नाघिसकेका छन् । किनकि हिजो माधव नेपाललाई दोस्रो केशर जङ्ग रायमाझीको संज्ञा दिएर उधुम क्रान्तिकारी बनेका प्रचण्ड आज तिनै माधव नेपालबिना श्वास फेर्न पनि गाह्रो भइरहेको देखिन्छ ।

प्रश्न उठेको छ, प्रचण्डको किन यसरी सर्वनाश भयो ?  एक मुठ्ठी प्राण रहुञ्जेल माओवादलाई मार्गदर्शक सिद्धान्त मान्दछु भन्दै संसारले सुन्ने गरी कुर्लिएका व्यक्ति आज सत्ताको रसास्वादन निर्लिप्त हुँदै त्यो ऐतिहासिक विरासत र सिद्धान्त बोकेको पार्टी त्यति ठूलो संख्यामा नेपाली जनतालाई बलीबेदीमा चढाएर, त्यो आन्दोलनमा रगत पसिना बगाएर, त्यो सशस्त्र आन्दोलनको परिकल्पनाकारहरूलाई पाखा लगाइयो ।

पार्टी र पार्टीको मार्गदर्शक सिद्धान्तलाई तिलाञ्जली दिएर, टनका टन भारी बोकेर हिँड्ने १२ चक्के ट्रकजस्तो पार्टीलाई उत्तानो पारेर तीन चक्के अटोमा आफूसहित गोडा चारेक बुढाखाडा बोकेर ड्राइभ गर्दै तपाईँको ऊर्जाविहीन थकित विचार एमालेलाई गाली गर्नुबाहेक अन्त कहाँसम्म पुग्छ होला र ? त्यस कारण पहिलो कुरा आफैँले बोकेको विचारसँग प्रचण्ड आफैँ हार्नु भयो ।

अर्को प्रश्न छ, माधव नेपालको बारेमा । उनको आदर्श र स्कुलिङ परिमार्जित मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद नै हो । तसर्थ, प्रचण्डले आफ्नो जीवनको अमूल्य समय माओवाद भनेर वितण्डा मच्चाउँदै आफैँले जन्माएको पार्टी र सिद्धान्तलाई आफ्नै पालामा विसर्जन गरी भर्खरै न्वारान गरेको पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद अँगाल्न पुगे माओवाद त्यागे र माधव नेपाल, झलनाथ खनाल र वामदेवको, बाटो अँगाल्दा तपाईँले जितेर पनि हार्नु परेको छ।

त्यस कारण जंगलदेखि सिंहदरबारसम्म प्रचण्डलाई डोर्‍याएर हारेका माधवले सैद्धान्तिक र व्यवहारिक रूपमा प्रचण्डलाई गलाएर  जीवनको उत्तरार्द्धमा प्रचण्डलाई पनि आफूजस्तै बनाएर माधव नेपालले जिते ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *