राजेन्द्र महतोको रणनीति- कुरा मिल्नेसँग पार्टी एकता, नमिले चुनावी गठबन्धन गर्ने

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले फागुन २१ को चुनावमा भाग लिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले चुनावमा विचार मिल्नेहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको नेता केशव झाले बताए।

उनले भने, ‘विचार सिद्धान्त मुद्दा मिल्ने पार्टीहरूसँग एकता, मोर्चा, चुनावी गठबन्धन बनाई अगाडि बढ्ने सन्दर्भमा विभिन्न पार्टीहरूसँग छलफल जारी नै रहेकोले यथाशीघ्र टुंगो लगाउने र सहमत हुने दलसँग सहकार्य गरी चुनावी प्रयोजनको लागि दल दर्ता पनि गर्ने निर्णय गरेका छौँ।’

पार्टीले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट र केन्द्रीय कार्यालयमा उम्मेदवार सिफारिसको प्रक्रिया पारदर्शी, समावेशी र सहभागितामा आधारित बनाउने निर्णय गरेको बताए।

केन्द्रीय कार्यसमितिले गठन गरेको चुनावी रणनीति कार्यदलले उम्मेदवारीको लागि स्पष्ट मापदण्ड (स्वदेशवादी विचारधारा प्रतिको प्रतिबद्धता, सामाजिक समर्पण, पार्टीका सदस्य अनिवार्य नभएको तथा जनप्रतिनिधित्व क्षमताका विभिन्न इन्डिकेटर सहित) तोकेको बताए।

पार्टीका सबै जिल्ला समितिहरूलाई उम्मेदवार नामावली केन्द्रीय कार्यालयमा सिफारिस गरी पठाउन निर्देशन समेत बैठकले दिएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *