
रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका घटनालाई विध्वंसात्मक भन्दै यसले माओवादी विगत १० वर्षमा पुर्याएको भन्दा ठूलो आर्थिक क्षति भएको टिप्पणी गरेका छन् । उनले त्यसलाई आन्दोलन भन्नै नसकिने बताए ।
प्रेस चौतारी नेपालद्वारा आज बुटवलमा आयोजित अन्तरसंवादमा उनले आगामी फागुन २१ गते निर्वाचन हुने कुनै सम्भावना नभएको प्रष्ट पारे । पोखरेलका अनुसार सरकारले चुनाव गराउने कोणबाट काम गरेको देखिँदैन । नहुने निर्वाचनको पार्टीले पैरवी नगर्ने उल्लेख गर्दै उनले निर्वाचन घोषणा भए एमाले भाग्ने पक्षमा नरहेको दोहोर्याए ।
‘केही दल रिसाउलान् भनेर चुनाव भनिएको हो,’ पोखरेलले भने, ‘यो सरकार चुनावका लागि होइन, गराउँदा पनि गराउँदैन । २०५९ जस्तो वैधता नभएको चुनावको अर्थ हुँदैन ।’
महासचिव पोखरेलले अहिलेको चुनौतीपूर्ण राजनीतिक अवस्थाको निकास प्रतिनिधिसभा पुनःस्थापनाबाट मात्रै सम्भव हुने स्पष्ट गरे । उनले संविधान संशोधनमार्फत युवापुस्ताका माग सम्बोधन गरी ताजा जनादेशमा जानुपर्ने आवश्यकता जोड दिए । अदालत र सडक दुवैबाट संसद पुनःस्थापना भएको इतिहास रहेको उल्लेख गर्दै पोखरेलले अहिले पनि त्यही उपाय प्रभावकारी हुने बताए ।
उनका अनुसार माओवादी नेतृत्वको आन्दोलनका नाममा भदौ २३ र २४ गते गरिएका क्षतिले जनतालाई आतङ्कित बनाएको छ । फरार कैदीबन्दीका कारण साथै प्रहरीका लुटिएका हतियारका कारण नागरिक र प्रहरी दुवैको मनोबल कमजोर भएकाले सुरक्षा वातावरण निर्वाचनयोग्य नरहेको उनको तर्क छ ।

‘प्रहरीको हतियार खोसियो, समाज त्रसित छ । प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर नआउँदासम्म चुनाव सम्भव देखिँदैन,’ उनले भने ।
पोखरेलले चार प्रकारका शक्ति एमालेविरुद्ध उर्लिएको दाबी गर्दै एमाले चुनौतीबाट भाग्ने होइन, जुध्ने पार्टी भएको बताए । जनतासामु को को समर्थनमा छन् भन्ने स्पष्ट देखाउनुपर्ने बताउँदै उनले एमालेले जनसभामार्फत सडकबाट जनादेश माग्न सक्ने जनाए ।
उनले २३ र २४ गतेको घटनालाई ‘राज्यद्रोह’ स्वरूपको आक्रामक हिंसा र ध्वंसताका रूपमा व्याख्या गर्दै त्यसबाट असाधारण क्षति पुगेको बताए । ‘त्यो सर्वथा अनुचित थियो, योजनाबद्ध षड्यन्त्र थियो । दोषीलाई कडा कारबाही गर्नुपर्छ,’ उनले भने ।
महासचिव पोखरेलले अहिलेको सरकार चुनावमा केन्द्रित नभएको, संवैधानिक प्रक्रिया बिग्रिएको र देश दशकौँ पछाडि फर्किएको आरोप लगाए । ‘जननिर्वाचित संसद विघटित छ, संविधानले नचिन्ने व्यक्तिहरू सर्वोच्च पदमा पुगेका छन्,’ उनले भने । उनका अनुसार प्रतिनिधिसभा पुनःस्थापना, संविधानअनुसार सर्वपक्षीय सरकार निर्माण र त्यसपछि शीघ्र निर्वाचनमा जानु नै वर्तमान सङ्कटको मुख्य समाधान हो । ‘लोकतान्त्रिक वातावरणबिना चुनाव हुँदैन । संविधान र संसदभित्रबाटै निकास निस्कन्छ,’ पोखरेलले भने ।
एमालेको आसन्न महाधिवेशनबारे बोल्दै उनले नेतृत्व चयन गर्ने प्रक्रिया पार्टीले समयमै पूरा गर्ने जनाए । अहिले कसले कहाँ उम्मेदवारी दिने भनेर बहस आवश्यक नरहेको पोखरेलको भनाइ छ । पोखरेलले देश गम्भीर राजनीतिक मोडमा रहेको उल्लेख गर्दै माओवादीका घटनाबाट जनताले नयाँ बाटो खोजेका छन् भनेर व्याख्या गरिनु वास्तविकता नभएको टिप्पणी गरे । ‘एमालेको जनसभाले जनादेश लिन सकिन्छ भनेर सन्देश दिएको छ । एमाले चुनावबाट भाग्दैन,’ उनले भने ।

Leave a Reply