दीपकलाई बधाई दिँदै सुजन कडरियाले भने- पार्टीले हस्तक्षेप गरेको छैन, निर्णय स्वीकार्छु

काठमाडौं । एमाले निकट अनेरास्ववियुका निवर्तमान अध्यक्ष सुजन कडरियाले संगठनको पदाधिकारी बैठकले गरेको निर्णय स्वीकार गर्ने बताएका छन् ।
आज बसेको पदाधिकारी बैठकले कडरियाको राजीनामा स्वीकृत गरे दीपक धामीलाई अध्यक्ष बनाएको थियो । उनले पार्टीले पनि यो निर्णय गर्न कुनै हस्तक्षेप नगरेको समेत बताएका छन् ।

उनको भनाइ जस्ताको तस्तै :

आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु । आजबाट विद्यार्थी आन्दोलनमा बिताएका तीता–मीठा क्षणहरू पनि औपचारिक रूपमा समाप्त भएका छन् । मैले कसैप्रति जानअन्जानमा कुनै गल्ती वा कडा व्यवहार गरेको छु भने हृदयदेखि क्षमा प्रार्थी छु।

मेरा अनुभव, संघर्ष र उतार चढावहरू यही यात्रासँगै टुंगिएका छन्।अब म पार्टी जीवनमा पूर्ण समर्पणका साथ प्रवेश गर्दै, नेकपा एमालेको एक इमानदार सिपाहीको रूपमा निरन्तर खटिरहने प्रतिज्ञा गर्दछु। कुनै पनि अधुरो अन्त्य वास्तवमै अन्त्य हुँदैन, यो नयाँ यात्राको सुरुवात मात्र हो ।

आजको बैठकबाट जिम्मेवारी पाउनुभएका अध्यक्ष दीपक धामीज्यू लगायत सम्पूर्ण नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोलीले विद्यार्थीको रगत बगेको क्षणसँगै मेरो अनेरास्ववियु यात्रा अन्त्य भएको सत्यलाई आजको गरिमामय बैठकले आधिकारिक मान्यता दिएकोमा म सम्मान व्यक्त गर्दछु ।

यससँगै, विद्यार्थीको हक–हित र अधिकारका पक्षमा बुलन्द स्वर उठाइरहने संगठन अनेरास्ववियु नै हो भन्ने तथ्य फेरि एकपटक प्रमाणित भएको छ।
साथै, यस प्रक्रियामा पार्टीले कुनै हस्तक्षेप नगरेको र हाम्रो सार्वभौम कमिटीको सर्वसम्मतिले पारित गरेको निर्णयलाई उल्लासपूर्वक पालना गर्न देशभरका सबै देशभक्त विद्यार्थीसमक्ष हार्दिक अपिल गर्दछु ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *