
काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही व्यक्तिहरूको सत्ता स्वार्थको कारणले मधेशमा राजनीतिक गतिविधि बिथोलिएको बताएका छन्।
आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै मधेश प्रदेशमा क्रियाशील मधेश केन्द्रित राजनीतिक पार्टीहरू मधेश प्रदेशका सोझासाझा, विद्रोही र सेन्टिमेन्टल, सेन्टिमेन्टल जनताको भावनासँग खेल्दै आइरहेको आरोप लगाए।
उनले भने, ‘विगत केही दिनदेखि मधेश प्रदेशको राजनीतिमा अपत्यारिलो ढङ्गले, नाटकीय ढङ्गले, नाटकीय ढंगको विकासले म मधेश प्रदेशको सरकारको तर्फबाट मुख्यमन्त्री सरोज कुमार यादव रातभरि सुत्न पाइरहेको छैन। निद्रा नै लाग्दैन।’
मधेश प्रदेशवासी शान्ति सुरक्षा, मधेश प्रदेशवासीको शान्ति सुरक्षा, अमनचयन, सुशासन, समृद्धि र समग्र मधेशलाई आत्मनिर्भर, समृद्ध मधेश र सुखी मधेशी भन्ने प्रादेशिक आकाङ्क्षालाई पूरा गर्न पूर्ण प्रतिबद्ध रहे पनि त्यो वातावरण नबनेको बताए।
उनले भने, ‘लोसपा, जसपा लगायतका दलहरू आफूलाई जबरजस्ती मधेशवादी रहेको झूटा नाटक मञ्चन गरिरहेको प्रमाण तपाईंहरुलाई दिन चाहन्छु। आफूलाई मधेशवादी भन्दैमा मधेशवादी हुँदैन, व्यवहारमा हुनुपर्छ। आफूलाई गान्धीवादी भन्दैमा गान्धीवादी हुँदैन, व्यवहारमा हुनुपर्छ। आफूलाई विकासवादी मात्र भन्दैमा हुँदैन, व्यवहारमा देखिनुपर्छ। आफूलाई संविधानवादी मात्र भन्दैमा हुँदैन, व्यवहारमा देख्नुपर्छ।’
उनले मधेशमा आफ्नो पार्टी पहिलो र तत्कालीन मुख्यमन्त्रीको छैटौँ स्थानमा रहेको बताए।
उनले भने, ‘मेरो लडाइँ खासगरीसँग कुनै दल र कुनै पार्टी विशेषसँग, कुनै व्यक्ति विशेषसँग छैन। तर पनि दलहरूले आफूलाई तपाईँको मेरो प्रतिस्पर्धी, मेरो दलको प्रतिस्पर्धीको रूपमा उभ्याइरहेको छ। नेकपा एमालेको प्रतिनिधिको रूपमा, म दलको नेताको रूपमा जब सबैभन्दा ठुलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएँ, मसँग प्रतिस्पर्धा गर्न खोजिरहनु भएको छ। म त्यो दलहरूलाई आग्रह गर्न चाहन्छु, मेरो प्रतिस्पर्धा तपाईंहरुसँग होइन।’
उनले हिजोसम्म तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनल मुख्यमन्त्रीकै कुर्सीमा बसिरहेको पाएको बताए।उनले भने, ‘उहाँको क्वाटरमा मुख्यमन्त्रीको कुर्सीमा बसेकोले मलाई अलिकति दुःखित तुल्याएको छ। अहिलेसम्मको सबै मुख्यमन्त्री धेरैमा दुई दिनमा क्वाटर र तपाईँको सवारी साधन छोडेका थिए। तर उहाँले किन छोड्न चाहिरहनु भएको छैन?’
उनले सात दलले मधेशमा विध्वंसात्मक गतिविधि गरेको आरोप लगाए। उनले भने, ‘किन प्रहरी कुटिँदै छरु किन कर्मचारीमाथि हातपात गर्दैछ ? किन जुन अफिस र क्वाटरमा बसेको छ, त्यसको तोडफोड गरिँदै छ? प्रदेश सरकार विरुद्धको कारण देखाऊ आदेश हाम्रो प्रदेशमा मात्र पहिलो होइन। यो कोशी र गण्डकी प्रदेशमा पनि यो, यो प्रकृतिको घटना, यो खालको कारण देखाऊ आदेश तपाईँको आइसकेको व्यहोरा जानकारी गराउन चाहन्छु।’

Leave a Reply