
रुपन्देही । पछिल्लो समय रुपन्देहीमा सञ्चालित मिनी क्यासिनो विवादमा पर्न थालेका छन् । क्यासिनो नियमावली २०८२ पालना नगरी मनपरी क्यासिनो सञ्चालन भएको भन्दै नियमनको आवाज उठ्न थालेको छ ।
अघिल्लो हप्ता भैरहवाको निर्वाणा होटलमा सञ्चालित गोल्डेन स्टार क्यासिनोभित्र नेपाली र भारतीय ग्राहकबीच झगडा भएको थियो । झगडापछि भारतीय ग्राहकहरुले होटलको गेटमा ढुकेर बसेर नेपाली ग्राहकलाई गोली प्रहार गरेका थिए । तर, उक्त गोली होटलको सुरक्षा गार्ड बस्ने गार्डरुमको भित्तामा लागेर सुरक्षा गार्डमाथि लागेको थियो ।
यस घटनापछि क्यासिनो र सुरक्षा निकायको भूमिकालाई लिएर ब्यापक आलोचना भइरहेको छ । सीमा क्षेत्रबाट तीन–चार किमी टाढा रहेको क्यासिनोसम्म कसरी हतियार भित्रियो, कानूनविपरीत नेपालीलाई क्यासिनोभित्र किन छिराइयो ? सुरक्षा निकायले क्यासिनोमाथि किन अनुगमन गर्दैनन् भन्ने प्रश्न उब्जिरहेका छन् ।
उक्त घटनाले फितलो सुरक्षा व्यवस्थाको पोलमात्र खोलेन, भैरहवा र आसपासका क्यासिनो मापदण्ड पालनामा चुकेको स्पष्ट पारेको छ । घटनापछि गत बुधबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, राजश्व अनुसन्धान, व्यवसायिक संस्थाका प्रतिनिधि र क्यासिनो सञ्चालकबीच बैठक भएको थियो ।
उक्त बैठकमा प्रशासनले क्यासिनो सञ्चालकमाथि एकोहोरो प्रश्न तेर्साएको प्रशासन स्रोतले जनाएको छ । प्रशासनले क्यासिनोलाई सुरक्षा जाँच, भारतीय आधारकार्ड बनाएर हुने नेपालीको प्रवेश रोक्न र क्यासिनो नियमावलीका शर्त र मापदण्ड पालना गर्न निर्देशन गरेको थियो । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले क्यासिनो नियमावलीको नीति, मापदण्ड र शर्त पालना गर्न क्यासिनो सञ्चालकलाई निर्देशन गरेका थिए ।
उक्त बैठकपछि राजश्व अनुसन्धान कार्यालय बुटवलले पनि गत बुधबार क्यासिनोलाई पत्राचार गरेर विभिन्न ९ बुँदामा विवरण र जानकारी माग गरेको थियो । राजश्व चुहावट कसुर–नियन्त्रणको विषयमा आवश्यक जानकारी लिनुपर्ने भएकाले आर्थिक वर्ष २०८१/०८२ देखि चालु वर्षको विवरण पेश गर्न भनेको छ ।
राजश्व अनुसन्धानले क्यासिनोले कुन प्रकारको इजाजत प्राप्त गरेको हो र अहिले भइरहेको खेलको विवरण, क्यासिनो नियमावली २०८२ को नियम १४ को उपनियम २ बमोजिमको विवरण, उक्त नियमावलीको नियम १८ बमोजिमको विवरण, नगद र वित्तीय कारोबारको विवरण, आकस्मिक लाभकर दाखिलाको विवरण, आधार कार्ड प्रयोगगरि प्रवेश गर्ने नेपालीको विवरण, प्रतिबन्धित भारतीय नोटको कारोबार भएको छ–छैन विवरण, सीसीटीभी क्यामेराको अभिलेख कम्तिमा ६ महिनासम्म राख्नुपर्ने नियम पालना छ–छैन र गत आर्थिक वर्षको करचुक्ता तथा चालु आर्थिक वर्षको इजाजतपत्र नविकरणको विवरण पेश गर्न भनेको छ ।
प्रमुख राजस्व अनुसन्धान अधिकृत सुवास श्रेष्ठले भने, ‘राजश्वका विषयमा प्रश्न उठेपछि हामीले केही विषयमा चासो राखेका थियौं, लाभकर तिरेका रहेछन् अरु समस्या केही भेटिएको छैन ।’
जिल्ला प्रशासन स्रोतका अनुसार क्यासिनो नियमावली २०८२ को मापदण्डअनुसार जिल्लामा सञ्चालित कुनै पनि क्यासिनोले मापदण्ड पालना गरेका छैनन् । प्रशासन स्रोत भन्छ– ‘हामीले अनुगमन त गरेका छैनौं, तर मापदण्ड ५० प्रतिशत पनि पालना छैन । यो कुरा क्यासिनो सञ्चालकले नै स्वीकारेको कुरा हो ।’
यस्तै, क्यासिनोले नेपाली प्रवेश गराउने, क्यासिनो खेल्न जानेहरुको विवरण इन्ट्री नगर्ने गरेको पाइएको छ । क्यासिनोमा ग्राहक प्रवेश गर्दा गेटमा डिटेक्टर मेसिनले जाँच गर्नुपर्ने हुन्छ, तर एकदुईवटा क्यासिनोले यो मापदण्ड पालना गरे पनि अधिकांशले गरेका छैनन् ।
प्रशासन भन्छ– ‘लाभकर लगायतका कर छलीका लागि क्यासिनो खेल्न जानेको विवरण समेत इन्ट्री नगरेर क्यासिनोले बद्मासी गरिरहेका छन् ।’ यस्तै, प्रशासनले क्यासिनो सञ्चालकले सीसीटीभी फुटेज माग्दा समेत नदिएको गुनासो गरेको छ ।
‘अब, हामी क्यासिनोमा अनुगमन गर्छौं’, प्रशासन स्रोत भन्छ, ‘मर्यादित व्यवसाय गर्नु सही हो तर नियमविपरीत गएर सञ्चालित क्यासिनोलाई कानून पालना गराउन प्रशासन कटिबद्ध छ ।’ प्रशासनले नक्कली आधार कार्ड बनाएर क्यासिनोमा नेपाली प्रवेश गराउने गरेको समेत आशंका गरेको छ । प्रशासनले अहिलेसम्म क्यासिनोबारे कतैबाट उजुरी नआए पनि नियमनको काम भने गरिरहने जनाएको छ ।
तर, प्राप्त केही भिडियो अनुसार भैरहवाका मिनी क्यासिनोले नियमविपरीत टेवल राखेर जुवा खेलाइरहेको देखिन्छ । क्यासिनो नियमावली २०८२ अनुसार ‘ठूला क्यासिनोले हातले तास, चिप्स वा क्वाइनको वितरण गरि डीलर वा स्पीनरको सहयोगमा मेशिनलाई हातैले घुमाएर खेलाइने खेल र आधुनिक मेशिन वा विद्युतीय उपकरणको माध्यामबाट खेलाइने खेल दुबैको व्यवस्था भएको सम्झिनुपर्छ’ उल्लेख गरेको छ ।
साना क्यासिनो भन्नाले ‘आधुनिक मेशिन वा विद्युतीय उपकरणको माध्यामबाट मात्र खेल खेलाइने क्यासिनो सम्झिनुपर्छ’ भनेर उल्लेख गरेको छ । नियमावली विपरित भैरहवाका साना क्यासिनोमा अहिले टेबल राखेर जुवा खेलाउने गरिएको छ । सबैभन्दा खतरा नेपाली प्रवेश ब्यापक छ ।
गत आर्थिक वर्षको असार मसान्तमा पर्यटन विभागको टोली पनि रुपन्देही र आसपास रहेका क्यासिनो अनुगमनमा आएको थियो । तर, टोली रुपन्देही आउनुपूर्व नै क्यासिनो सञ्चालकलाई जानकारी भइसकेको थियो । टोली आउने भएपछि कहाँ र कसले बसाल्ने भन्ने तयारी क्यासिनो सञ्चालकले गरेका थिए ।
नियमावली अनुसार क्यासिनो सञ्चालनमा छन–छैनन् अनुगमनमा आएको टोलीको ध्यान मापदण्ड र शर्त पालना भए–नभएको हेर्नमा थिएन । भैरहवाका पर्यटन व्यवसायीका अनुसार अनुगमन टोली एक दिन भैरहवामा बिताएपछि कपिलवस्तुको चन्द्रौटास्थित क्यासिनो अनुगमन भन्दै पुगेका थिए ।
त्यहाँ उनीहरुले क्यासिनोको मापदण्ड हेर्ने भन्दा ‘फिसिङ’ गरी माछा मारेर समय बिताएका थिए । व्यवसायीका अनुसार यसरी आउने अनुगमन समितिले मिनि क्यासिनोले टेबल राखेर जुवा खेलाइरहेको हेरेन । बरु समय अन्त बिताएर टेबल हटाउन लगाएर नियमावली अनुसार क्यासिनो सञ्चालन भइरहेको प्रतिवेदन विभागमा पेश गरेको दावी गरिएको छ । त्यसबेला विभागका निर्देशक लीलाधर अवस्थीको नेतृत्वको टोली अनुगमनमा आएको थियो ।
भैरहवाको होटल निर्वाणामा सञ्चालित क्यासिनो गोल्डेन स्टार, होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर प्रालिको ह्याप्पी आवर ग्यामिङ क्लब (क्यासिनो) र नान्स होटलमा सञ्चालित सिद्धार्थ ग्यामिङ जोनद्वारा सञ्चालित क्यासिनो प्याराडाइज छन् । भैरहवाको मौर्य होटलमा रहेको अपूर्व ग्यामिङ जोन प्रालिद्वारा सञ्चालित ग्याबलिङ ग्यालेक्सी, एशियन बुद्ध होटलमा सञ्चालित एलिगेन्ट इन्टरटेनमेन्ट प्रालि र भैरहवा गार्डेन रिसोर्टमा सञ्चालित क्यासिनो छन् ।
यी सबै मिनी क्यासिनो हुन् । रुपन्देहीमा टाइगर प्यालेस बाइ सोल्टीमा मात्रै ठूलो क्यासिनो सञ्चालित छ । प्रशासन स्रोतका अनुसार मिनी क्यासिनोहरुमा भैरहवा गार्डेन बाहेकका अन्य क्यासिनो मापदण्ड अनुसार नै चलेका छैनन् । मिनी क्यासिनो चारतारे होटलमा सञ्चालन हुनुपर्ने भए पनि ह्याप्पी आवर सञ्चालित लाकौल होटल गेष्ट हाउस हो । यो होटलले कुनै किसिमको स्टारको मान्यता पाएको छैन । यस्तै, अन्य मिनी क्यासिनो सञ्चालित होटलहरु पनि पर्यटक विभागलाई प्रभावमा पारेर चारतारे मान्यता ल्याएको दावी गरिएको छ ।
होटल लाकौलमा सञ्चालित ह्याप्पी आवर अदालतको स्टे अर्डरबाट चलेको छ । यहाँ गेष्ट हाउसजस्तो होटलमा विगत एकदशकदेखि क्यासिनो सञ्चालित छ । तर, मिलेमतोमा यो क्यासिनो बन्द गर्न कसैले ध्यान दिएको छैन । जबकी मिनी क्यासिनो सञ्चालनका लागि कम्तिमा चारतारे होटल आवश्यक पर्छ ।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भवितव्यका रुपमा भएको गोली प्रहारको घटना दोहोरिन नदिन व्यवसायी सचेत हुनुपर्ने र यस्ता घटना न्यूनिकरणका लागि प्रशासन सतर्क हुनुपर्ने बताए । कतिपय क्यासिनोमा नेपालीलाई प्रवेश गराउने कुराले व्यवसायी आलोचित बन्ने वातावरण रोकिनुपर्ने उनले बताए ।
‘प्रशासनले पनि धेरै कडाई गर्दा ग्राहक नआउने कुरालाई ख्याल राखेर सावधानी अपनाइदिनु पर्यो ।’ उनले भने ‘व्यवसायीले पनि ग्राहक प्रवेश गराउँदा उनीहरुलाई जाँच गरेर परिचय खुल्ने रेकर्ड राख्नु पर्यो, क्यासिनो प्रवेश गरेका व्यक्तिको अनुहार प्रष्ट खुल्नेगरि सीसीटीभी क्यामेरा जडान गर्नुपर्यो ।’ पर्यटन विभागले क्यासिनोका सञ्चालकसित आवश्यक जानकारी लिने र अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।
पर्यटन विभागका निर्देशक तथा सूचना अधिकारी लिलाधर अवस्थीले सबै क्यासिनोमा नेपाली प्रवेशको गुनासो आइरहेकाले अनुगमन गर्ने तयारी थालिएको बताए । क्यासिनो नियमावली २०८२ का सर्त मापदण्ड पालनाका विषयमा सरोकारवालाबीच चर्कोरुपमा कुरा उठेको अवस्थीको भनाई छ ।
त्यसैले सबै क्यासिनोलाई के–कस्ता गविविधि भइरहेका छन् भन्नेबारे विभागलाई जानकारी गराउन परिपत्र गर्न लागेको अवस्थीले बताए । विभागले स्थलगत अनुगमन गरेर नियमन गर्ने तयारी भइरहेको उनले जनाए । त्यस्तो अनुगमनमा राष्ट्र बैंक, पर्यटन विभाग, सम्पति शुद्धिकरणका प्रतिनिधि सहभागी हुनेछन् । स्थलगत अनुगमनपछि तयार गरिने प्रतिवेदनका आधारमा क्यासिनोमाथि कारबाही गरिने विभागले जनाएको छ ।

Leave a Reply