किन बिग्रियो बैंकहरुको ‘ब्यालेन्स सिट’ ? अध्यक्ष कोइरालाले सुनाए चार कारण

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले राम्रो रिपोर्ट ल्याउन नसक्नुको विभिन्न कारणहरू रहेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताएका छन् । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) साधारण सभामा बोल्दै उनले बैंकहरुले राम्रो रिपोर्ट ल्याउन नसक्नुका चार कारण रहेको सुनाएका हुन् ।

बैंकहरु रिपोर्ट खस्किनुमा जेनजी आन्दोलन पनि एक कारण रहेको बताउँदै उनले अगाडी भने, ‘यसमा मुख्यगरि चार वटा कारण छन् । एउटा जेनजी आन्दोलन, बाढी पहिरो, चाडपर्व र फेरि आन्दोलन हुन्छ की भनेर यस्तो अवस्था आएको हो ।’

चालू आवको पहिलो त्रैमासमै बैंकहरुको वासलात (ब्यालेन्स सिट) बिग्रँदै गएको वित्तीय विवरणहरूले नै देखाएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये पाँच बैंकले मात्रै नाफा कमाउन सके । बाँकी १४ वटाको नाफामा गिरावट आयो भने एक बैंकले नोक्सानी नै व्यहोर्‍यो ।

चालु आर्थिक वर्ष २०८२ र ८३ को तीन महिनामा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । जबकी गत आर्थिक वर्ष २०८१ र ८२ को सोही अवधिमा बैंकहरुले १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

पछिल्लो रिपोर्टले बैंकहरु थप दबाबमा परेका देखाएको छ । अधिक तरलतादेखि असुलीमा समस्या हुँदा बैंकहरुको नाफामा गिरावट आएको बैंकरहरुको भनाई छ । खराब कर्जा बढिरहेको छ र त्यसका लागि छुट्याउनु पर्ने रकम पन बैंकहरुले बढाएका छन् । जसले गर्दा बैंकहरु थप दबाबमा परेको स्विकार्छन् अध्यक्ष कोइराला ।

उनले कार्यक्रममा बोल्दै भने, ‘पहिलो त्रैमासको रिपोर्ट हेर्ने हो भने ११ सय अर्ब बढी लोनेबल फण्ड छ । सस्पेन्स ह्वात्तै बढेको छ । करिब २२ अर्ब प्रोभिजन बैंकहरुले थपेका छन् । बैंकहरुको नाफामा असर परेको छ । सूचकांकको आधारमा हेर्दा समग्र सिनारियो त्यति राम्रो छैन ।’

उनले सबै मिलेर अर्थतन्त्रलाई ‘रिफर्म’ खोज्न आवश्यक रहेको उनले बताए । सबै मिलेर अगाडी बढेमा मात्रै अर्थतन्त्रले लय समात्ने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *