
काठमाडौं । झापाको इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको भवन तथा सवारी साधन तोडफोड, आगजनी गर्ने ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ का २२ वर्षीय राजन चौधरी,२० वर्षीय आयुस धिमाल, कनकाई नगरपालिका-१ का ४२ वर्षीय गोपाल संग्रौला, अर्जुनधारा-७ कि २४ बर्षीया पुजा मगर, २८ वर्षीय सुरज मगर र सुनसरी हरिनगर-१ का २२ वर्षीय साहिल अन्सारी र बिर्तामोड नगरपालिका-५ का २६ वर्षीय नवराज राई रहेका छन् ।
उनीहरुले गत भदौ २४ गते इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा साना ठुला सवारी साधनमा ढुंगामुढा, तोडफोड, आगजनी गरेका थिए । चौधरी, धिमाल, संग्रौला, मगर, सुरज मगर र साहिल अन्सारीलाई अपराधिक उपद्रव गर्न नहुने कसुरमा मुद्दा चलाइएको छ ।
साथै प्रहरीलाई ज्यान मार्ने उद्धेश्यले बाँसमा डोरीले बाँधी अमानवीय तवरले झुण्ड्याई विभिन्न स्थानामा घुमाएका राईलाई ज्यान मार्ने उद्योगमा कारवाही तथा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले सीसीटीभी फुटेज हेरेर अपराधिक क्रियाकलापमा सलंग्नहरुलाई धमाधम पक्राउ गर्दैछ ।

Leave a Reply