
रुपन्देही । प्यूठानको लिबाङका कृषक पदमबहादुर केसी र दिपक वलीले लगाएका बिरुवा खरिद गरेको गौमुखी गाउँपालिकाले १२ लाख रुपैयाँ तीन वर्ष पूरा हुँदा पनि अझै भुक्तानी गरेको छैन। बिरुवाको ढुवानीसमेत आफैँ गरेका केसीले ७ लाख ५० हजार र वलीले ४ लाख ५० हजार भुक्तानी नपाएको बताएका छन्।
तीन वर्ष बितिसक्दा पनि पैसा नपाएपछि कृषक केसीले फेसबुकमा गुनासो लेख्दै भनेका छन्–‘ उता १२ लाख रकमको विरुवा लगेर तीन वर्ष झुलाउने अनि पर्यटन प्रवद्र्धन भनेर लाखौं रकम घुमेर सकाउने गरेर कसरी हुन्छ किसानको साथ ? भुक्तानी नदिएर गौमुखीले गरिरहेको छ किसानको ‘उत्थान’ यो लापरबाहीले किसानको मेहनत र भरोसामा चोटमात्र दिएको छ।’

पालिका उपाध्यक्ष महाबिर रानाका अनुसार, टिमुर–कागती प्रवर्धन कार्यक्रमको लागि मागअनुसार बजेट नआएपछि तत्कालीन मुख्यमन्त्री र अर्थमन्त्रीसँग सम्पर्क गरी कार्यक्रमको महत्त्व बुझाइएको र दोश्रो चरणमा पठाउने तयारीमा रहेको थियो।
विगतमा बन कार्यालयबाट वितरण भएका टिमुरका बेर्ना उच्च पहाडी भूभागमा नजाने भएकाले स्थानीय नर्सरीमा अर्डर गरेर बिरुवा रोपिएको हो। तर विविध परिस्थितिका कारण बजेट पछि आएको थिएन र लिखित सम्झौता बिना मौखिक विश्वासमा योजना कार्यान्वयन गर्नु कमजोरी भएको उपाध्यक्षले स्वीकार गरेका छन् ।
उनले भने, ‘यो कमजोरी संस्थाको नेतृत्वबाट नभएर व्यक्तिगत अनुभवजन्य र अपरिपक्क कारणले भएको हो। नेतृत्व र कार्यपालिकालाई सबै विवरण अवगत गराइएको छ, र यसबाट महत्वपूर्ण सिकाइ प्राप्त भएको छ।’


Leave a Reply