
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काङ्ग्रेसभित्र वैचारिक बहस सुरु गर्ने बेला आएको बताएका छन्।
सोमबार डडेल्धुरामा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीलाई चलायमान र सुदृढ बनाउन महासमिति सदस्यहरूबिच वैचारिक बहस र छलफल आवश्यक रहेको बताए ।
उनले अहिलेको विषम परिस्थितिमा विशेष महाधिवेशनको बखेडा उठाउनेभन्दा आन्तरिक संवाद र समन्वयमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।
‘सीमित व्यक्तिहरू नेतृत्व कब्जा गर्न विशेष महाधिवेशनको पक्षमा छन्, तर यसले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा पुर्याउँदैन’ मुख्यमन्त्री शाहको भनाइ थियो ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवा राणालाई लक्षित गर्दै गरिएको विरोधबारे पनि टिप्पणी गरेका थिए।
‘देउवा र राणालाई सिद्ध्याउँछु भन्नु दिवा सपना हो। पञ्चहरूले पञ्चायतकालमा सिद्ध्याउन सकेनन्, माओवादीले गोली प्रहार गरेर पनि सकेनन्, र जेनजी आन्दोलनका क्रममा उहाँ माथि साङ्घातिक आक्रमण भयो, त्यसबाट पनि उहाँ कतै विचलित हुनु भएन ’ मुख्यमन्त्री शाहले भने ।
आजै मुख्यमन्त्री शाहले बैतडीको पाटन नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूसँग भेटघाट गरे। भेटमा पाटन नगरपालिकाको विकास, करार कर्मचारी व्यवस्था, र स्थानीय सेवा सञ्चालन ऐनका विषयमा विस्तृत छलफल भएको थियो।
त्यसपछि उनले पाटन नगरपालिका-९, सिद्धेश्वर हुक्केडाँडामा अवस्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालय र विद्यालयले सञ्चालन गरेको छात्रावासको निरीक्षण गरेका थिए ।

Leave a Reply