सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी संगीताको कसरी गयो ज्यान ?

चितवन । भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो सुत्केरी गराउन अस्पताल भर्ना भएकी ३० वर्षकी संगीता बिकलाई शनिबार राती ११:४० बजे भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कालिका नगरपालिका-२ बस्दै आएकी संगीतालाई बिहीबार बिहान पानी बगेपछि नगर अस्पताल लगिएको थियो । त्यहाँ सुत्केरी गराउन सम्भव नभएपछि भरतपुर अस्पताल ल्याइएकी उनको गर्भमा पानीको मात्रा ३.५ मात्रै भएको अवस्थामा भरतपुर अस्पतालमा भर्ना गरिएको स्वयं चिकित्सकले बताएका छन् ।

गर्भमा पानीको मात्रा कम भएपछि शल्यक्रिया गरेर सुत्केरी गराउन तयार गरिएको थियो । भिडियो एक्सरे गर्दा पानीको मात्रा कम देखिएपछि शल्यक्रियाबाट सुत्केरी गराउने कक्षमा लगिएको थियो । बच्चाको धड्कन नचलेपछि डाक्टरले गर्भको बच्चाको मृत्यु भइसकेकोले शल्यक्रिया गर्न नपर्ने बताएका थिए । सोही कुरा भरतपुर अस्पतालका प्रवक्ता समेत रहेका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर रामप्रसाद सापकोटासमेत बताउँछन् ।

तर, आफन्तले भने बच्चा मृत्यु भएको भए पनि शल्यक्रिया गरेर निकालिदिन माग गरेका थिए । तर डाक्टरले नमानेको परिवारको आरोप छ । बच्चाको मृत्यु भएपछि नर्मल डेलिभरी गरेर बच्चा जन्माउने सल्लाह दिइयो । उनलाई सुत्केरी व्यथा लाग्ने औषधि चलाइएको थियो ।

संगीताका आफन्त गोर्खा तामाङले नेपाल प्रेससँग कुरा गर्दै भने, – ‘हामीले मरेकै भए पनि अप्रेशन गरेर बच्चा निकालिदिनू आमालाई सजिलो हुन्छ भनेका थियौँ । डाक्टर मानेनन् । अप्रेशन गरेको भए आमाको ज्यान त जान्थेन ।’

सामान्यतया बच्चाको मृत्यु भइसकेको अवस्थामा आमालाई थप गाह्रो नहोस् भनेर सुत्केरी व्यथा लगाएर नै मृत बच्चा जन्माउने गरिएको अस्पतालका प्रवक्ता डाक्टर सापकोटा बताउँछन् ।

संगीतालाई पनि शुक्रबार र शनिबार दिनभर सुत्केरी व्यथा लगाउने औषधि दिइएको थियो । तर, बेलुका पौने ९ बजेको समयमा उनी एक्कासी ढलेकी थिइन् । त्यसपछि मुटुका डाक्टरले जाँच गर्दा उनको मुटुको तल्लो भाग नै नचलेको र त्यसलाई मेडिकल भाषामा ‘म्यासिभ पल्मोनरी एम्बोलिजम’ भनिने बताए । फोक्सोको नशामा रगत वा गर्भको पानी गएर जमेको प्रवक्ता डाक्टर सापकोटा बताउँछन् ।

गर्भवती महिलामा यस्तो समस्या आकस्मिक हुने र अत्यन्त जटिल प्रकारको अवस्था निम्तिने बताउँछन् अस्पताल स्रोतको भनाइ छ । एकातिर ढिलो अस्पताल ल्याउँदा बच्चाको ज्यान गएको अस्पतालको दाबी छ भने अर्कोतिर शल्यक्रिया गर्न तयार भइसकेको बिरामीलाई बच्चाको मृत्यु भएकै कारण देखाएर डाक्टरले शल्यक्रिया नगरिदिँदा आमाको ज्यान गएको परिवार तथा आफन्तको दाबी छ ।

संगीताको परिवारले अस्पतालले लापरबाही गरेको भन्दै शव बुझ्न मानेका छैनन् । संगीताका श्रीमान जीतबहादुर सोहनीले प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएर अस्पतालको लापरबाहीको छानबिनको माग गर्ने बताए ।

३० वर्षीया संगीताको अहिलेको गर्भ पाँचौ हो । यसअघि जन्माएका एक छोरी र दुई छोरा छन् भने एउटा गर्भ खेर गएको अस्पतालको रेकर्डमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *