सरकारले शिक्षक संघ संगठनलाई मान्यता नदिने, दलीय गतिविधिमा संलग्न भए बर्खास्त गर्ने पुनको चेतावनी

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेसागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको भन्दै राजनीतिक क्रियाकलापमा संलग्न हुनेलाई प्रचलित कानुनअनुसार पदबाट बर्खास्तसम्मको कारबाही हुने चेतावनी दिएका छन् ।

आइतबार एक सूचनामार्फत मन्त्री पुनले कुनै पनि पेसागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेसागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार नदिएको बताएका छन् ।

‘राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने सम्मको कानुनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछौं,’ पुनले भनेका छन् ।

दलका भ्रातृ तथा शुभेच्छुक संगठनको रूपमा बनाइएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ-संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको उनले जानकारी गराएका छन् ।

शिक्षक-कर्मचारीको संवैधानिक हकको सम्मान गर्दै शिक्षक महासंघ लगायतका सबै क्रियाशील संघ-संगठनहरूलाई गैर राजनीतिक चरित्रको, स्वतन्त्र र व्यवसायिक प्रकृतिको बनाउनका लागि कानुनी प्रबन्धसहित पुनर्गठन गर्न पनि भनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *