बिचौलियाको राज तोड्ने बागमती प्रदेशका स्वास्थ्य मन्त्रीको दाबी, कर्मचारी आजित

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले प्रदेशअन्तर्गतका जिल्ला अस्पतालहरुलाई औषधी एवं औषधीजन्य पदार्थ र उपकरण खरिदसम्ममा अनिवार्य बोलपत्र आव्हान गर्नु पर्ने निर्देशन जारी गरेका छन् । पत्रकारहरुसँग कुरा गर्दै थापाले त्यस्तो भनेका हुन्।

जिल्ला अस्पताल एवं स्वास्थ्य संस्थाले २० लाखसम्मको खरिदमा बोलपत्र आह्वान नगरी सीधै खरिद गर्नसक्ने नियममा टेकेर बिचौलियाको प्रभावमा अस्पतालहरुले महिनैपिच्छे औषधी एवं औषधीजन्य पदार्थ खरिद गर्दा अनियमितता भएपछि मन्त्री थापाले त्यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामी बिरामीको स्वास्थ्यका लागि बजेट विनियोजन गरिरहेका हुन्छौँ, तर केही बिचौलियाले नेता र उपल्लो निकायको हवाला दिँदै जिल्लाका जनस्वास्थ्य प्रमुख, अस्पतालका निर्देशकदेखि प्रशासनसम्मलाई दबाब दिने गरेका छन् ।’

कतै मिलोमतो गरेर टुक्रा–टुक्रा पारी एक आर्थिक वर्षसम्ममा करोडभन्दा बढीको खरिद गरेको पाइएको उनले बताए । यस्ता वेथितिलाई रोक्न मन्त्रालयले २० लाखसम्मको औषधी एवं अन्य सामाग्री खरिदमा पनि अनिवार्य टेण्डर प्रक्रिया पूरा गर्न निर्देशन दिएको उनले बताए ।

उनले भने, ‘यो नीति कार्यान्वयनमा आउँछ ।’

प्रदेशका १३ वटै अस्पताललाई चालु आर्थिक वर्षदेखि नै यो निर्देशनलाई कार्यान्वयनमा ल्याउन परिपत्र गरेको मन्त्री थापाले बताए । बिचौलियाले संघीय स्वास्थ्य मन्त्रालयमा समेत प्रभाव पार्न खाजेको उनले बताए ।

उनले भने, ‘म आफै पनि स्वास्थ्य मन्त्रालयलाई भ्रष्टाचारमुक्त बनाउँछु भनेर लागिपरेको छु, मैले मेरो आफ्नै गाडी प्रयोग गरेको छु, पेट्रोलको सुविधा समेत लिएको छैन ।’

बिचौलिया राज अन्त्य गर्न खोज्दा आफूलाई धम्की आएको उनले बताए । बिचौलियाको पटक पटकको धम्कीले कर्मचारी आजित भएको स्वास्थ्य मन्त्रालय, आपूर्ति महाशाखाका प्रमुख अर्जुन सापकोटाले बताएका छन् ।

सापकोटाले भने, ‘हामी काम गर्ने कर्मचारी हौँ, नीति–नियम मान्नै पर्यो, तर नेतादेखि उपल्लो निकायका कर्मचारीको हवाला दिदै बिचौलिया हावी हुन्छन्।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *