
काठमाडौं । बेलायतको लन्डनमा हरेक वर्ष आयोजना हुने प्रतिष्ठित ‘वल्ड ट्राभल मार्केट’ (डब्लुटीएम) मा सहभागी नेपाली पर्यटन व्यवसायीले असन्तुष्टि पोखेका छन् ।
नेपाल पर्यटन बोर्डले छनोट गरेको स्टल अनुपयुक्त भएको र त्यसले नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा नकारात्मक असर पारेको भन्दै उनीहरूले गुनासो गरेका हुन् ।
कार्यक्रममा सहभागी व्यवसायीले पर्यटन बोर्डका अध्यक्षसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई ज्ञापन-पत्र बुझाउँदै खर्च भएको सम्पूर्ण रकम भर्पाई गर्न माग गरेका छन् । उनीहरूले कार्यक्रममा सहभागी हुनका लागि खर्च भएको सम्पूर्ण रकम फिर्ता गर्न माग गरेका हुन् ।
नेपालका ट्राभल तथा ट्रेकिङ कम्पनीहरूले संयुक्त रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई पत्र लेख्दै ‘बोर्डले अपायक र गलत स्थान छनोट गरेका कारण आफूहरूलाई व्यावसायिक र आर्थिक क्षति पुगेको’ जनाएका छन् ।
‘विगत लामो समयदेखि बेलायतको राजधानी लन्डनमा हरेक वर्ष आयोजना हुने डब्लुटीएममा यस वर्ष मध्यमार्गी संस्थामार्फत अत्यन्त अपायक र अँध्यारो कुनामा, गलत स्थान छनोट गरी नेपालको गन्तव्य प्रवर्धनमा अत्यन्त प्रतिकूल अवस्था सिर्जना भएको संयुक्तपत्रमा उल्लेख छ ।
पत्रअनुसार निजी व्यवसायीहरूको समय, आर्थिक तथा व्यवसायिक क्षति हुन पुगेको बताइएको छ । उचित पहल र व्यवस्थापनमा गम्भीर त्रुटि गर्न पुगेका कारण पर्यटन बोर्ड व्यवस्थापनले नैतिक जिम्मेवारी लिनुपर्ने व्यवसायीको भनाइ छ । निजी व्यवसायीद्वारा बोर्डलाई स्टलबापत भुक्तानी गरेको रकम तथा आवतजावत साथै बसोबासका लागि भएका सम्पूर्ण खर्च समेत फिर्ता गर्ने व्यवस्था गर्न माग गरिएको छ ।

Leave a Reply