
काठमाडौं । नेपाली कांग्रेसको मुख्यालय सानेपामा पार्टीको केन्द्रीय समिति बैठक बसिरहँदा बत्तिसपुतलीमा संस्थापन पक्षका नेताहरूले बेग्लै भेला गरेको छ।
विशेष महाधिवेशन पक्षधरलाई काउन्टर दिनको लागि अहिले अनुपम फुडल्यान्डमा संस्थापन पक्षको भेला चलिरहेको छ।
महामन्त्री गगन थापाले चुनावअघि नै महाधिवेशन गर्ने नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेपछि संस्थापन पक्षले काउन्टर दिन भेला राखेका हुन्।
संस्थापन पक्षका नेता बद्री अर्यालले विशेष महाधिवेशन पार्टीको लागि धोका हुने उनले बताए। पार्टी सभापति शेरबहादुर देउवामाथि आक्रमण भए लगत्तै नेतृत्व छाड्न महामन्त्रीहरूले दबाब दिएको भन्दै आपत्ति जनाए।
मंसिरभित्र नियमित महाधिवेशन गर्न नसके पूरै कार्यसमिति नै असफल भएको पुष्टि हुने भन्दै सबैले राजीनामा दिनुपर्ने माग गरे।
मंसिरमा चुनाव सम्भव नहुने उनीहरूको निष्कर्ष छ। महामन्त्रीहरूले चुनावमा केन्द्रित हुनको लागि समेत परिपत्र गरिरहेको भन्दै महाधिवेशनमा लाग्ने कि चुनावमा भन्दै असन्तुष्टि जनाएका छन्।
कांग्रेसभित्र विगतदेखि नै अन्तर्घात हुँदै आएको भन्दै महाधिवेशन गरेर लगत्तै चुनावमा जान नसकिने उनीहरूको साझा बुझाइ छ।
भेलामा सभापति शेरबहादुर देउवा र कृष्ण सिटौला पक्षधर नेताहरु सहभागी छन्। भेलाको अध्यक्षता भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले गरेका छन्।

Leave a Reply