देश बुझ्ने र बनाउने कुरा : हाम्रा आँखा अझै खुलेनन्

आँखा सबैले देख्छन्, तर दृष्टि सबैसँग हुँदैन ।

हाम्रो समाजमा धेरै कुरा देखिन्छन्, तर बुझिँदैनन् ।

सुन्न सकिन्छ, तर महसुस गर्न सकिँदैन ।

देश विकासको यात्रामा छ तर चेतना अझै हिचकिचाइरहेझैँ छ ।

यही हिच्किचाहट ‘नखुलेका आँखाहरू’ को उपमा बनेर देखिन्छ ।

सडकहरू लम्बिँदै छन्, पुलहरू जोडिँदै छन्, विद्युत् उत्पादन बढ्दै छ र सञ्चारको जाल गाउँका कुनाकाप्चासम्म फैलिएको छ । भौतिक रूपान्तरण तीव्र छ तर कहिलेकाहीँ लाग्छ देशको चेतना त्यति गतिशील छैन ।

देशको रूप बदलिएको छ, तर दृष्टिको कोण पुरानै छ ।

(रूपान्तरणको दशक) भौतिक विस्तार, चेतनाको संकुचन

नेपाल अहिले भौतिक पूर्वाधारका हिसाबले सबभन्दा ठूलो रूपान्तरणको चरणमा छ । फास्ट ट्र्याक, हुलाकी राजमार्ग, त्रिशूली, माथिल्लो तामाकोशी र अरू जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल र डिजिटल नेटवर्क विस्तार, सबै राष्ट्रको प्रगतिका संकेत हुन् । तर, यिनै उपलब्धीका बीच चेतनाको वृक्षले पर्याप्त फूल फूलाउन सकेको छैन ।

विकासको मूल्यलाई अनुभव गर्ने समाज बन्नका लागि चेतना आवश्यक हुन्छ । भौतिक पूर्वाधार निर्माण सजिलो छ, तर त्यसको आत्मिक उपयोग सिकाउन कठिन । उदाहरणका लागि, सडक विस्तारले व्यापार र आवागमन सजिलो बनायो तर त्यसकै किनारमा फोहर फाल्ने बानी ज्यूँदै छ । डिजिटल सञ्जालले सूचना सजिलो बनायो तर सूचना सत्य असत्य छुट्याउने विवेक कमजोर भयो । यसले देखाउँछ भौतिक प्रगति स्वतन्त्र रूपमा पर्याप्त हुँदैन । यदि चेतनात्मक रूपान्तरण भएन भने विकास बाहिरी स्वरूपमा सीमित रहन्छ । सडक, पुल, भवन वा बाँध देशको शरीर हो तर सोच र मूल्यहरू उसको आत्मा हुन्छ । शरीर चल्छ तर आत्मा निद्रामा रह्यो भने यात्रा अपूर्ण हुन्छ ।

त्यसैले भौतिक विकासलाई चेतनाको विकाससँग सँगसँगै अघि बढाउन आवश्यक छ । विकासको अन्तिम अर्थ केवल देखिने संरचना होइन, महसुस गरिने जीवन गुणस्तर हो ।

विकासका संरचना त ठडिएका छन् तर तिनको महत्त्व बुझ्न चेतनात्मक परिपक्वता अझै निर्माणको चरणमै छ । नेपालको विकासका योजनामा भौतिक सूचकहरू त मापन गर्न सजिला छन् तर मानसिक र सामाजिक रूपान्तरण मापन गर्न कठिन छ।

यही कारणहरूले हाम्रो विकासको समीकरण अझै अधुरो तुल्लिएको छ । देश अगाडि बढेको छ तर सोच्ने शैली अघिल्लो युगमै अडिएको छ ।

विकास महसुस र सम्भव चेतनाले गर्छ , आँखाले मात्र देख्छ ।

दृष्टिको अभाव र आत्मस्वीकृतिको क्षय

हामी देशलाई आलोचनाको दृष्टिले धेरै हेर्छौँ । के छैन भन्ने कुरा बोल्न सजिलो छ, के छ भन्ने कुरा स्वीकार्न कठिन भएकोजस्तो बुझिन्छ । देशका साना–ठूला उपलब्धिलाई सामान्य ठान्ने, तर असफलतालाई अतिरञ्जित बनाउने प्रवृत्ति हाबी छ ।

यो चेतनात्मक आत्मस्वीकृतिको क्षय हो । देशका सहरहरू विस्तार भएका छन्, विद्युत् उत्पादनले विदेशी मुद्रा ल्याउन थालेको छ , स्थानीय सरकारहरूले हजारौँ साना आयोजनाहरू पूरा गरेका छन् । बिजुली निर्यात सम्भव भएको देश गन्तव्यमा छौँ तर पनि हामी प्रायः “देशमा केही हुँदैन” भन्ने वाक्य दोहोर्‍याइरहेका हुन्छौँ । हामी जलविद्युत् परियोजनामा ढिलाइ देख्छौँ तर पूर्णता देख्दैनौँ । यस्ता दृष्टिकोणहरूले देशप्रतिको आत्मविश्वासलाई कमजोर बनाउँछ ।

सामाजिक मनोविज्ञानले यसलाई ‘नकारात्मक पूर्व अनुमान’ (Negetive Expectancy) भन्छ । जब कुनै समाज निरन्तर असन्तुष्ट रहन्छ त्यसको सामूहिक ऊर्जा क्षय हुन्छ अनि विकासका अवसर देखिँदैनन्, केवल समस्या मात्र देखिन्छ ।
हामीलाई गर्व भन्दा बढी ग्लानि बाँच्न सजिलो लाग्छ । किनभने चेतनाको दर्पणमा हामीले आफ्नो प्रतिबिम्ब बिगारिसकेका छौँ ।

जब कुनै समाजले आफ्नो प्रतिबिम्ब अस्वीकार गर्छ, त्यसले आफ्ना उपलब्धिहरू पनि नदेख्ने बन्छ । देशका धेरै उपलब्धिलाई आत्मसात् गर्ने संस्कार अब पुनर्जीवित गर्न आवश्यक छ । किनकि, जसले आफ्नो उपलब्धि देख्न सक्दैन, उसले भविष्यको सम्भावना पनि देख्दैन ।आँखा खुल्नु भनेको केवल हेर्नु होइन, स्वीकार गर्नु हो ।

शिक्षाको द्वन्द्व- ज्ञान र विवेकबीचको खाडल

शिक्षा विकासको मेरुदण्ड हो । तर, अहिलेको शिक्षा सोच्ने शक्ति भन्दा बढी प्रतिष्पर्धाको औजार बनेको छ । देशको विकास चेतनाको स्तरमा पुगेपछि मात्र स्थायी हुन्छ र त्यसका लागि शिक्षा, मूल्य र बौद्धिक अभ्यासको सन्तुलन अनिवार्य छ ।

जानकारी बटुल्ने सीप बढेको छ । तर, विवेक घटेको छ । नेपालमा साक्षरताको दर बढे पनि शिक्षाको उद्देश्य परिवर्तन भएको छैन । शिक्षा आज चेतनाको निर्माण नभई रोजगारको लागि औजार मात्र बनेको छ । जब शिक्षाको लक्ष्य केवल रोजगारी रहन्छ तब बौद्धिकता बजारमुखी बन्छ र सामाजिक उत्तरदायित्व सँगै नैतिक चेतना कमजोर हुन्छ ।

त्यसैले शिक्षित नागरिक बढे पनि विवेकी नागरिक बढ्न सकेका छैनन् ।

हाम्रो शिक्षाले बुझ्न सिकाइरहेको छैन, तर्क गर्न सिकाइरहेको छ । शिक्षित जनसंख्या बढ्दैछ । तर, बौद्धिक नागरिक घट्दैछन् । जब ज्ञान केवल परीक्षा पास गर्ने उपकरण बन्छ, चेतना मर्छ । फलस्वरूप विद्यार्थी आधुनिक उपकरणका जानकार हुन्छन् तर समाजको संवेदनशीलता बुझ्न असमर्थ । मूल्य र शिक्षा विच्छिन्न भयो भने चेतनाको जरा सुक्छ । जब मानिसले केवल जानकारी बटुल्छ तर ज्ञान विकास गर्दैन, त्यो समाज प्रविधिमा अगाडि जान सक्ला तर चरित्रमा पछि पर्छ, शिक्षा र मूल्यको सम्बन्ध विच्छिन्न हुन्छ । बोध भन्दा बढी प्रमाणपत्रको मूल्य बढेको देख्दै जन्माएको पुस्ता पढेलेखेका छन् तर संवेदना हराएका छन् । समाजबारे बुझाइ छैन, केवल सफलताको सूत्र छ ।

शिक्षाको असली लक्ष्य त सोच्ने शक्ति जगाउनु हो ।

साँचो शिक्षा भनेको सोचको स्वतन्त्रता हो र सोचको स्वतन्त्रता नै चेतनाको उद्घाटन हो । शिक्षा पुस्तकको पाना होइन, सोच्ने शैली हो, ज्ञानको संग्रह होइन, विवेकको अभ्यास हो ।

आधुनिकता र प्रदर्शनको मनोविज्ञान

आजको समाजमा आधुनिकता सजावट बनिसकेको छ। हामी आधुनिक देखिन चाहन्छौँ, तर आधुनिक बन्न चाहँदैनौँ । हामी प्रविधि प्रयोग गर्छौँ, तर त्यसले ल्याउने उत्तरदायित्व बुझ्दैनौँ ।

हाम्रा सामाजिक सञ्जालमा विचार भन्दा फोटो बढी मूल्यवान् बनिदिने गरेका छन् । हामीलाई भावनाभन्दा प्रदर्शन ठूलो बनेको छ ।

नेपालको इतिहासमा राजनीतिक परिवर्तनहरू असंख्य छन्, तर सामाजिक चेतनाको परिवर्तन सीमित भयो । हामीले गर्ने राजनीतिले प्रणाली त बदल्छ तर चेतनाले स्वयम् दिशा निर्धारण गर्छ त्यसैले, आजको आवश्यकता प्रणालीगतभन्दा बढी मानसिक पुनर्जागरणको हो ।

विकासको कुरा पनि कहिलेकाहीँ सजावट बनेर मात्र आउँछ । जब चेतनाले गहिराइ गुमाउँछ समाज सतही बन्छ र सतही समाजमा सत्य होइन प्रभाव बिक्छ । हाम्रो आजको समाज बोल्छ धेरै, बुझ्छ थोरै ।

हामीले विकासका सूचकहरूलाई दृश्य का रूपमा बुझ्यौँ तर त्यही कुरा दृष्टि को रूपमा बुझ्न सकेनौँ । यही कारण चेतनाको असल उद्देश्य हरायो । जब मानिस देशको दृश्य हेर्छ देशको आत्मा बुझ्दैन , यस्तो अवस्थामा विकास स्थायी हुँदैन किनभने चेतना बिना विकास केवल प्रदर्शन हुन्छ ।

सहभागिता र चेतना

सहभागिता अनुशासनको पर्यायवाचक हो । सहभागिताको नाममा हामीले अधिकारको भाषा सिक्यौँ तर जिम्मेवारीको अनुशासन सिक्न सकेनौँ । हामीले आलोचना गर्न सीप सिक्यौँ तर योगदान दिन धैर्य राखेनौँ । यो असन्तुलनले लोकतन्त्रलाई पनि सतही बनाएको छ ।

विकास केवल राज्यको कार्य होइन, नागरिकको सहभागिताले निर्धारण गर्छ । जब चेतना निष्क्रिय हुन्छ, राज्यको गति पनि सुस्त हुन्छ । सार्वजनिक सम्पत्ति प्रति लापरबाही, नियमप्रतिको उदासीनता र सामूहिक जिम्मेवारीको कमी सबै चेतनाको निद्राका लक्षण हुन् ।

सहभागिताको अर्थ केवल चुनावमा मतदान होइन । सहभागिता भनेको साझा उपलब्धिको मूल्य बुझ्नु हो र राष्ट्रप्रति आफ्नो सानो जिम्मेवारीलाई पनि योगदानको रूपमा अनुभव गर्नु हो ।

जब नागरिक चेतनाले विकासलाई व्यक्तिगत हैसियत होइन, साझा अभियान का रूपमा बुझ्छ त्यस दिन देश वास्तवमै चेतनशील हुन्छ ।

राजनीतिक स्थायित्व पनि चेतनाको जागरणबाटै आउँछ । जस देशका नागरिकहरू सोच्न, प्रश्न गर्न र योगदान दिन सक्षम छन्,

त्यो देशलाई कुनै संक्रमणले दीर्घकालीन अस्थिरता दिन सक्दैन ।

पुनर्जागरण (राष्ट्र तर्फको यात्रा)

देशका आँखा फेरि खोल्ने समय आएको छ । तर, यो खोलाई आँखाको होइन, दृष्टिको हुनुपर्छ । अबको आवश्यकता भौतिक विस्तार होइन, चेतनाको विस्तार हो ।

मानिसले आफ्नो भूमिका बुझ्नुपर्छ । विकास राज्यको होइन, सबैको जिम्मेवारी हो भन्ने चेतना फैलिनुपर्छ । राज्यमा साझा स्वामित्वको भावना पुनर्जीवित गर्नुपर्छ । सार्वजनिक सम्पत्तिलाई सबैको भनेर बुझ्ने संस्कार विकास गर्नुपर्छ । असन्तुष्टि भन्दा गर्वको भाषा बोल्ने अभ्यास गर्नुपर्छ ।

विचारको स्वतन्त्रता, सहिष्णुता र विवेकको अभ्यास बढाउनुपर्छ । राजनीति मात्र भन्दा माथि उठेर मूल्यको राजनीति गर्न सक्ने समाज हामीलाई चाहिन्छ । चेतनाको पुनर्जागरणले मात्र देशलाई आत्म अनुभूत देश बनाउँछ ।

अनिमात्र देशमा विकास केवल देखिने होइन, महसुस गरिने हुन्छ । त्यसैले पुनर्जागरण नै अबको सबैभन्दा जरुरी विकास हो-

जहाँ हरेक व्यक्तिले देशलाई केवल राज्य होइन, आफ्नो प्रतिबिम्बका रूपमा हेर्छन् ।

खुल्ने बाँकी दृष्टि

देश अपूर्ण छैन केवल दृष्टि आधा खुलेको छ । हाम्रो भौतिक प्रगति अवश्य प्रशंसनीय छ तर चेतनाको ढोका अझै अधखुला छन् ।

हामीले विकास देख्यौँ, तर महसुस गरेनौँ । हामीले अधिकार प्रयोग गर्‍यौँ, तर जिम्मेवारी आत्मसात् गरेनौँ । देशलाई बुझ्ने यात्रा आँखा खोल्ने भन्दा गाह्रो छ किनकि त्यसका लागि मन खोल्नुपर्छ र जब मन खुल्छ, देश केवल मानचित्र होइन, अनुभूति बन्छ ।

आजको आवश्यकता नयाँ नारा होइन, नयाँ दृष्टि हो । त्यो दृष्टि जसले पुल, सडक र भवन मात्र होइन त्यो पुलमा हिँड्ने श्रमिकको पसिना र सपना पनि देख्छ ।

तसर्थ, हरेक उपलब्धि बुझ्न चेतनाको दृष्टि आवश्यक हुन्छ । कहिलेकाहीँ आँखा खुल्दा पनि बन्द रहन्छ किनभने विकास देख्न चाहने दृष्टि संवेदनाको आँखाले देखिने विषय हो, पूर्वाग्रहको आँखाले हैन ।

अब, देशलाई बुझ्ने अभ्यास सुरु गर्नुपर्छ । के छैन भनेर मात्रै होइन , के छ भनेर पनि हेर्न थाल्नु पर्छ । जुन दिन हाम्रो यही अभ्यास सामान्य बन्छ, त्यस दिन यी नखुलेका आँखाहरू स्वतः खुल्नेछन् । त्यो दिन नेपाल केवल विकसित देश होइन, सजग र आत्मचेतन देश हुनेछ जहाँ विकास केवल देखिने होइन, बुझिने हुन्छ ।

हामीले आफ्नै उपलब्धिलाई स्वीकार्ने साहस गरौँ, त्यही दिन यी नखुलेका आँखाहरू खुल्नेछन् । देश केवल मानचित्रमा होइन, मनमा देखिनेछ । नेपालको विकास केवल समाचार होइन, अनुभूति हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *