
पछिल्ला वर्षहरूमा नेपालमा सूचना प्रविधि (आइटी) उद्योग तीव्र गतिमा विकसित हुँदै गएको छ। यो क्षेत्रले देशको अर्थतन्त्रमा नयाँ सम्भावना र रोजगारीका अवसरहरू सिर्जना गरेको छ। सफ्टवेयर निर्यातदेखि स्थानीय नवप्रवर्तनसम्म धेरै कम्पनीहरूले नेपालीदेखि अन्तर्राष्ट्रिय बजारमा आफ्नो ठाउँ बनाइरहेका छन्।
नेपालमा आइटी उद्योगको अवस्था, सम्भावना, चुनौती र समाधानबारे यस क्षेत्रको नेतृत्व गर्दै आएको संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेस कम्पनिज’ (Nepal Association for Software and IT Services Companies) अर्थात् नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंसँगको कुराकानी नेपाल टकमा –
–नेपालको सफ्टवेयर र आइटी सेवा उद्योग अहिले कुन अवस्थामा छ?
नेपालको आईटी उद्योग उत्साहजनक अवस्थामा छ। हामी नयाँ उद्योग पर्यौँ। सन् २००० देखि दुई–चारवटा कम्पनीहरू देखिए। त्यसपछि सन् २०१० को दशकमा केही कम्पनीहरू स्थापना भए। अहिले यो २०२० मा आइपुग्दा राज्यले पनि देख्ने, अरूले देख्दाखेरि पनि ‘ए यो उद्योगकै हिसाबले उपस्थितिमा आइपुग्यो है’ भन्ने अवस्थामा पुगेका छौँ। यो क्रमिक रूपमा बढ्दै आएको हो र पछिल्लो समय वास्तवमै उद्योग उत्साहजनक स्थितिमा छ।
हामीले आईटी क्षेत्र सन् २०१० को दशकबाट हेर्दै गर्दा विभिन्न कम्पनीहरू, विशेषगरी बाहिर निर्यात गर्ने, सेवा निर्यात गर्ने अथवा उत्पादन मै काम गर्ने र विदेशी बजारमा पनि निर्यात गर्ने कम्पनीहरू पनि थिए। साथसाथै नेपालकै आवश्यकतामा काम गर्ने कम्पनीहरू पनि थिए।
तर, पछिल्लो समयमा यो बढ्दो क्रममा छ। दुई वर्षअगाडि भएको एउटा अनुसन्धानमा जुन तथ्याङ्क देखियो, त्यो तथ्याङ्कले हाम्रो अवस्थालाई बाहिर ल्याउने र ‘यस स्तरमा भइरहेको छ’ भन्ने कुरालाई उजागर पनि गरिदियो। त्यसले गर्दा पछिल्लो समयमा अलि दृश्यमान रूपमा देखिएको हुनुपर्छ।
–तपाईं कति समयदेखि आबद्ध हुनुहुन्छ, यो क्षेत्रमा प्रवेश गर्दाको अनुभव र अहिलेको अनुभवमा कति फरक पाउनुभएको छ?
म लगभग २० वर्षदेखि यो क्षेत्रमा छु। मेरो शैक्षिक पृष्ठभूमि पनि आईटी नै हो। मैले कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेर यो उद्योगमा आइपुगेँ। हामीले एक हिसाबले भन्ने हो भने आईटी क्षेत्रको नेपालमा सुरुवाती दिनदेखि नै काम गर्न पायौँ। त्योभन्दा अगाडिबाटै पनि कति अग्रणी कम्पनीहरू अझै हुनुहुन्छ।
सुरुवाती दिनहरूमा त्यति ठूलो बजार थिएन। त्यति ठूलो अवसरहरूको हिसाबले पनि थिएन। अहिले सबै क्षेत्रमा अवसरहरू बढेका छन्। अहिले आईटी क्षेत्रले गर्ने भनेको विदेशी बजारमा सेवा अथवा उत्पादन निर्यात गर्ने कुराहरू पनि छ। आन्तरिक बजारमा नै पनि विभिन्न खाले एकदम नवप्रवर्तनात्मक उत्पादनहरूले आन्तरिक आवश्यकतालाई पनि आईटी क्षेत्रले राम्रै सम्बोधन गरेको छ। स्पष्टै धेरै त्यस्ता उदाहरणहरू हाम्रो सामु छन्।
–कोभिडअघि र पछि आइटी क्षेत्रमा कस्तो परिवर्तन आयो?
परिवर्तन पक्कै भएको छ। त्यो परिवर्तन समयक्रमअनुसारको परिवर्तन मात्र हो कि कोभिडले नै गरेको हो भन्ने कुरा ठ्याक्कै छुट्याउन गाह्रो छ। कोभिडको बेलामा धेरै कुराहरू अनलाइनको माध्यमबाट पनि भए। जस्तो स्कुलका बालबालिकाले अनलाइनबाट कक्षा लिए, अरू धेरै सेवाहरू पनि भौतिक उपस्थितिबिनै हुँदा अनलाइन सेवाको, अनलाइन उत्पादनको पहुँच बढ्यो। त्यसले बढेको पनि हुनसक्छ। केही न केही योगदान त त्यसको पनि होला। फेरि क्रमिक रूपमा हामी बढ्दै गएको अवस्था आफैँमा पनि थियो। त्यो दुईटाको मिश्रण होला। झट्ट हेर्ने हो भने कोभिडपछिको पछिल्लो समयमा आईटीको अवस्था राम्रै दिशामा गइरहेको छ। तीव्र गतिमा नै गइरहेको जस्तो देखिन्छ।

–नेपालका सफ्टवेयर कम्पनीहरूले नेपालसहित अन्तर्राष्ट्रिय बजारमा कस्तो प्रतिस्पर्धा गरिरहेका छन्?
अहिले हेर्दै गर्दा सुरुवाती दिनहरूमा धेरैजसो ठूला कम्पनीहरू हेर्यो भने अथवा प्रमुख उत्पादनहरू बाहिरी बजारलाई लक्षित उत्पादनहरू थिए। दृश्यमान रूपमा त्यस्तो थियो र स्थानीय बजारमा उत्पादनभन्दा पनि कुनै एउटा कम्पनीको सफ्टवेयर आवश्यकता पूरा गर्ने त्यस्तो खाले एकजना सेवा प्रदायक र एउटा कुनै संस्था जसलाई केही सफ्टवेयर आवश्यकता छ, ती दुई बीचको एउटा केही ठेक्काको आधारमा बन्ने एकदम विशिष्ट सफ्टवेयरहरू धेरै थिए। अहिले पछिल्लो समयमा नेपालमै उत्पादनहरू, नेपाली बजारलाई नै बनेका नेपाली उत्पादनहरू छन्। जस्तो हाम्रो यो नास आईटीमा टाइटल स्पोन्सर रहेकोले एकदमै साना उद्यमहरूको लेखा आवश्यकता लाई सहजीकरण गर्नको लागि उत्पादन बनाएको छ। जुन नेपालमा साना तथा मझौला सबै खाले व्यवसायहरूले प्रयोग गर्छन्।
त्यस्तै फिनटेकका कुराहरू, हामीले नै अब प्रयोग गरिरहेका, देखिरहेका इसेवा, फोनपेजस्ता सेवाहरूले पनि त्यो सहजता बनाएका त्यस्ता खाले छन्। वास्तविक अन्तिम ग्राहकसम्म पुग्ने त्यस्ता खाले उत्पादनहरूमा पनि राम्रै उपस्थिति भइरहेको छ। त्यस्ता अरू धेरै उत्पादनहरू छन् र व्यवसायलाई चाहिने अरू खाले सफ्टवेयरको केसमा पनि।
कलेजहरूको व्यवस्थापन प्रणाली को कुरादेखि लिएर होटेलको व्यवस्थापन प्रणाली, रेस्टुरेन्टहरूदेखि लिएर सुरक्षा उत्पादनहरू नै पनि नेपालको आवश्यकतालाई सम्बोधन गर्ने उत्पादनहरू धेरै छन्। एक हिसाबले हेर्ने हो भने त्यो सुरुमा आउँदै गर्दा विदेशी उत्पादनहरू उपलब्ध भएको र उनीहरूले लिइरहेको बजारमा क्रमशः नेपाली उत्पादनहरू आएर त्यो विश्वास जित्ने र बजारमा आफ्नो दायरा बढाउने क्रममा चाहिँ छन्। अहिले हेर्दै गर्दा राम्रै दरमा नेपाली उत्पादनहरू अपनाइएका छन् र त्यो एकदमै उत्साहजनक छ।
भोलिका दिनमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने नेपालका उद्योग अवश्य बन्छन्। अहिले नै हामीले हेर्यौँ भने पनि कति उत्पादनहरूले अन्तर्राष्ट्रिय बजारमा नै काम गरिरहेका छन्, ती उत्पादनहरू नेपालमा विकास भएका छन्। साइबर सुरक्षा मा काम गर्ने लगपोइन्ट, जसले साइबर सुरक्षाको एउटा उत्पादन बनाउँछ। त्यो उत्पादन र त्यसको प्राथमिक विकासको कुरा, सपोर्टको कुरा नेपालमा नै हुन्छ। त्यो युरोपियन बजारमा ठूला–ठूला सङ्गठनदेखि विमानस्थलसम्ममा प्रयोग भइरहेको छ। अमेरिकाको स्वास्थ्य सेवा उद्योगमा काम गर्ने धेरै कम्पनीहरू हुनुहुन्छ यहाँ, जसले अमेरिकाको स्वास्थ्य सेवाको सुरक्षा आवश्यकता, गोपनीयताको आवश्यकतालाई सम्बोधन गरी पूर्ति गरिराख्नुभएको छ।
त्यस्तै एसियन बजारमा पनि जापानका कम्पनीहरूसँग काम गर्ने अथवा अरू एसियन बजारमा काम गर्ने कम्पनीहरू पनि हुनुहुन्छ। अस्ट्रेलियाको पनि छ। अहिले हेर्दै गर्दा सेवाको स्तरमा पनि हामीले दिएको सेवा त्यहाँ स्वीकार्य छ र हामीले बनाएको निश्चित उत्पादनहरू प्रयोग भइरहेको हेर्दा हामी विश्वबजारमा नपुग्ने र प्रतिस्पर्धा गर्न नसक्ने भन्ने मलाई चाहिँ लाग्दैन। त्यो चाहिँ सम्भव छ।
नेपालमै अनलाइन अथवा रिमोट वर्कको संस्कृति आयो, त्यसपछि नेपालमा नै बसेर अमेरिकामा अथवा युरोपको कुनै सङ्गठनसँग कर्मचारीका रूपमा काम गर्ने सफ्टवेयर इन्जिनियरले अथवा आईटी क्षेत्रमा काम गर्नु नौलो होइन। त्यो एकदमै व्यापक नै छ।
–यस क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति विदेशिने समस्या कतिको छ?
विदेशिने क्रम सबैतिर छ। यो क्षेत्रमा मैले देखेको चुनौतीबाट अवसर पनि छ। त्यसरी बाहिर गएको मान्छेहरू पनि फर्केर आउने क्रम पनि छ। विशेषगरी हामीले हेर्यौँ भने १० वर्ष, १५–२० वर्ष अमेरिका, युरोपमा अथवा कुनै सङ्गठनमा ठूलै स्तरमा अनुभव लिएर फर्किने क्रम पनि छ। त्यो भएर यसलाई म डरभन्दा पनि हाम्रो नै आवश्यकतामा बाधा (Hurdle) हुने गरी त्यो बसाइँसराइ होला कि भन्ने कुरामा एउटा स्वाभाविक डर भए पनि त्यो खासै धेरै नहोला।
हामीले केही न केही यहाँ जति जनशक्ति रहन्छ, त्योबाट नै राम्रै मूल्य सिर्जना गर्न सकिन्छ भन्ने लाग्छ। त्यसरी गएको मान्छेहरू पनि भोलि फर्केर आउने वातावरण बनाउन सकियो भने हामीले प्रगति गर्दै गर्दा उहाँहरूको योगदानले अझ राम्रो प्रगति गर्न सक्छौँ। र उद्योगलाई अझै ठूलो बनाउनलाई मद्दत हुन्छ।

–नेपाललाई ‘आइटी हब’ बनाउने सम्भावना कति छ?
प्रबल सम्भावना देख्छु। हामी एकदमै राम्रो दिशामा र एकदमै राम्रो गतिमा छौँ। हामीले जसरी कुनै समयदेखि क्रमशः वृद्धि भइरहेको छ, त्यो दिशा र गतिको हिसाबले हामी एकदमै सही दिशामा छौँ। सही गतिमा छौँ। हामीलाई सरकारबाट पनि सहयोग छ।
नास आईटीले यस क्षेत्रमा काम गर्न थालेको ३ वर्ष भयो। तीनै वर्षमा सरकारी स्तरबाट, कर्मचारीतन्त्रबाट हामीलाई राम्रै सहयोग छ। हामीलाई पक्षमा हुने अथवा यो उद्योगलाई पक्षमा हुने र उद्योगको प्रगतिलाई पक्षमा हुने हिसाबले के गर्न सकिन्छ भनेर उहाँहरूले पनि सहयोग गर्नुभएको छ। शैक्षिक क्षेत्रमा पनि हामी सही दिशामा गइरहेका छौँ।
आईटी स्नातकहरू पनि राम्रै स्तरका आईटी स्नातकहरू, राम्रै सङ्ख्यामा उत्पादन भइरहेको छ। यो सबै कुरालाई हेर्दा हामीले एकदमै सहकार्य गरेर, एक–अर्कासँग त्यो विश्वास राखेर हातेमालो गर्यौँ भने नेपाललाई आर्थिक रूपमा नै पनि एउटा दिशामा लैजानलाई मद्दत गर्ने उद्योगको रूपमा प्रबल सम्भावना देखिएको छ।
–‘मेड इन नेपाल’ सफ्टवेयरलाई विश्व बजारमा कसरी पुर्याउने कस्तो योजना छ?
नास आईटीका मुख्य उद्देश्यहरू बजार विकासको कुरा र स्थानीय बजार विकासको कुराहरू छन्। एउटा सङ्गठन यहाँ स्थापना भएर सञ्चालन हुनको लागि वित्तीय पहुँच र त्यसको वरिपरिको सरकारी सहयोग, नीतिहरूको कुराहरू भयो। आईटी क्षेत्रमा मुख्य कच्चा पदार्थ भनेकै मानव संसाधन हो। सुरुवाती दिनहरूमा हामीले विशेषगरी यो बजार विस्तारको लागि सरकारको साथ सहयोग अथवा नीति र ऐनका कुराहरू, त्यो विषयमा हामीले विशेष लबिङ गर्यौँ। सरकारबाट त्यो कुराहरूमा राम्रै सहयोग भयो।
मानव संसाधनको विषयमा केही न केही सहकार्य हामीले शैक्षिक संस्थाहरूसँग गरेका छौँ। तर अरूको तुलनामा तुलनात्मक रूपमा ध्यान हाम्रो कम जस्तो अहिले देखिन्छ। तर हामीले ध्यान दिनुपर्ने आवश्यकता यो हो भनेर बजार वृद्धि कसरी गर्ने, हाम्रो उत्पादनहरूलाई धेरै अवसर कसरी दिने भन्ने कुरा गरिरहेका छौँ। अब अर्को चरणमा हामी मानव संसाधनमा पनि त्यो विस्तारित आवश्यकतालाई सहयोग गर्ने मानव संसाधन विकास गर्नको लागि कसरी साझेदारी गर्न सकिन्छ भनेर त्यो दिशामा गइरहेका छौँ।
पछिल्लो समयमा चाहिँ आईटी उद्योग तीव्र गतिमा नै बढेको छ। २०१० को सुरुवाती दिनहरूमा हेर्दै गर्दा जति संस्थाहरू थिए अहिले पछिल्लो समय त्यसमा राम्रै वृद्धि भएको देखिन्छ।
सुरुवाती कम्पनीलाई अलिकति अप्ठ्यारो होला। एउटा कुनै क्षेत्रमा स्थापित नै उत्पादन छ भने त्यसको तुलनामा सजिलै आउन गाह्रो भयो। तर त्यसमा नै पनि कतिपय कुराहरूमा अहिले हामी आइ नै रहेका छौँ। जस्तो नेपालमा बनेको सफ्टवेयरले विदेशमा बनेको सफ्टवेयरलाई विस्थापित गर्ने क्रमहरू हामीले देखेका छौँ।
तुलनात्मक रूपमा अहिले विदेशीभन्दा नेपाली कम्पनीहरू धेरै आउनुभएको छ। यहीको कम्पनीसँग ठेक्का गरेर त्यो सञ्चार लागत कै कुराहरूदेखि लिएर सहयोग कै कुराहरूदेखि लिएर त्यो धेरै कुरामा राम्रो छ र यसमा अझ धेरै सहयोग छ। प्रतिस्पर्धाको कुरामा त्यो स्थापितलाई विस्थापित गर्नको लागि अलिकति बढी विश्वास पनि चाहिएला। सुविधा चाहिएला, कम्पनीकै पनि प्रगतिको कुराहरू होला, त्यो चाहिँ क्रमिक रूपमा छ।
यसरी व्यक्तिगत आवश्यकताको आधारमा पूर्ति गर्ने कुरामा त्यो धेरै सजिलो र अलि धेरै नै देखिरहेको पनि छ। हामीले यहाँ बनाएका उत्पादन अथवा सेवा विश्वमा नै बिकिरहेका छन्। नेपालको आवश्यकतालाई पूर्ति गर्न पनि हाम्रो उद्योग सक्षम छ।
कति देशहरूले उद्योगलाई सहयोग गर्नको लागि आन्तरिक सफ्टवेयरलाई नै प्राथमिकता दिने गरेका छन्। त्यसअनुसारका नीति पनि ल्याएका हुन्छन्। अब हाम्रोमा ठ्याक्क त्यो स्तरको कुराहरू छैन। त्यस्तो कुराहरू पनि भयो भने भोलि सजिलो हुन्छ।
जस्तो एउटा सफ्टवेयरको प्रमुख खरिदकर्ता त राज्य नै पनि हो। सरकारले यो स्तरसम्मको अथवा यस्तो खाले सफ्टवेयर त नेपाली उद्योगलाई नै प्राथमिकता दिनुपर्ने भन्ने नीति ल्यायो भने पनि सहयोग हुन्छ। त्यो अङ्गीकरण धेरै छिटो हुन सक्छ।
–आइटी उद्योगहरूका प्रमुख चुनौती के-के छन्?
चुनौतीकै कुरा गर्दा केही उदाहरण लिएर कुरा गरौँ। जस्तो नेपालको सङ्गठनले विदेशी बजारमा आईटी सफ्टवेयर बेचिरहेका छौँ। तर त्यो सफ्टवेयरलाई प्रवद्र्धन गर्न अथवा बजारीकरण गर्न जानको लागि नै पनि हामीसँग नीतिगत रूपमा सहयोग थिएन विगत दुई वर्षअगाडिसम्म। कोही कसैले एउटा कुनै उत्पादन बनायो र त्यो उत्पादन अमेरिकामा बजारीकरण गर्न जान्छु नि त भन्यो भने पर्यटक भिसामा जाँदा पाउने जति सटही लिएर जानुपर्ने अवस्था थियो। अहिले सरकारले त्यस्तो खाले कुराहरूमा नि सहजता गरिदिएको छ।
नेपालमा कुनै कम्पनी उत्पादन बनाइरहेको छ भने उसले विदेशमा गएर आफ्नो उपस्थिति राख्न पाउने भयो। त्यहाँ बजारीकरण गर्नको लागि चाहिने पुँजी लैजान पाउने भयो। त्यो कुरामा हालै सहजीकरण भएको छ। अघिल्लो सरकार हुँदै गर्दा अध्यादेशबाट आएको व्यवस्था थियो जुन पछि ऐनमा पनि आयो। तर त्यसको कार्यान्वयन पक्ष अझै बाँकी छ। त्यसमा हामी काम गरिरहेका छौँ। यो कुरा सम्भव छ तर त्यो कुरा वास्तविक गर्ने कसरी त भनेर त्यसमा काम भइरहेको छ।
आन्तरिक बजारमा पनि उद्योगको रूपमा त्यस्तो दृश्यमान रूपमा मान्यताप्राप्त थिएनौँ। एउटा कुनै सफ्टवेयर कम्पनीले एउटा उत्पादन बनाइरहेको छु, अब त्यो उत्पादनमा थप यो उत्पादनलाई विकास गर्नको लागि अथवा अझ बढाउनको लागि मलाई लगानी चाहियो भने सफ्टवेयरको उत्पादन त दृश्यमान हुन्न, भौतिक हुन्न, देखिन्न आँखाले अथवा छुन मिल्दैन। बैंकहरूलाई त्यसमा लगानी गर्न असहज हुने स्थिति थियो पहिला। अहिले विस्तारै त्यो दिशामा पनि गइरहेको छ। हामी बैंकहरूसँग पनि कुरा गरिरहेका छौँ। उहाँहरू पनि वित्तीय आवश्यकताहरू पूरा गर्न सकिन्छ भनेर आशा देखाउनुभएको छ। हामी त्यो दिशामा काम गरिरहेका छौँ। अब मनसायको हिसाबले हेर्दै गर्दा सबैले यो कुरालाई वास्तवमा नै क्षमता बोकेको उद्योग हो भन्ने देख्नुभएको छ। त्यो कुरामा सहयोग छ।
मौजुदा विषय, मौजुदा व्यवस्थाबाट अगाडि जाँदै गर्दा चाहिने त्यो खुड्किलाहरू क्रमशः हामी हिँड्दै छौँ। जस्तो अब विदेशमा नै पनि शाखा खोल्न पाउनुपर्यो नि त। बजारीकरण गर्नुपर्यो नि भनेपछि त्यो प्रावधान भयो। अब त्यसलाई वास्तविक कसरी गर्ने त भन्ने त्यो दिशामा छौँ। सफ्टवेयरहरू बनाउनलाई लगानी त्यही हो नि। हामीले वित्तको स्रोत पाउनुपर्यो। अहिलेलाई त्यसरी ठ्याक्क यो अड्कियो है भनेर गुनासो नै गर्नुपर्ने अवस्थामा छैनौँ। हामीले अझै यी कुरा अझ धेरै गर्न सकिन्थ्यो भन्ने आफ्नो ठाउँमा होला र कतिपय कुरा भइरहेका छन्।
सरकारको आईटी दशकको कुरा पनि छ। यो आईटी दशकको जुन महत्वाकाङ्क्षी नै पनि नभनौँ। १० वर्षमा ३० खर्बको निर्यात र ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी भनेर १५ लाख जम्मा रोजगारको लक्ष्य लिइएको छ। त्यो लक्ष्य पूरा गर्नका लागि के गर्न सकिन्छ भनेर हामी त्यसमा पनि सहकार्य गर्दैछौँ।

–निजी क्षेत्र र सरकारले सहकार्य गरेर आइटी उद्योगलाई कसरी माथि उकास्न सक्छ ?
सरकार र निजी क्षेत्रको सहकार्यको त विकल्प छैन। त्यो त हुनैपर्यो। जुन सरकारले आईटी क्षेत्रलाई साथ सहयोग दिएको छ त्यसप्रति त हामी कृतज्ञ नै छौँ। अब सहकार्य अझ धेरै भए काम पनि बढी हुनसक्थ्यो कि। हामी यो सहकार्यबाट अधिकतम कसरी निकाल्न सकिन्छ भन्नेतिर लागिरहेका छौँ।
हाम्रो उद्योगको लागि चाहिने मुख्य कुरा बजार नै हो। त्यो बजार विस्तार गर्नको लागि हामीले के गर्न सकिन्छ र त्यसमा राज्यको के सहयोग हुनसक्छ भन्ने कुरामा हामी काम गरिरहेका छौँ। हामीले सरकारलाई पनि भनेका छौँ। कतिपय कुराहरूमा उनीहरूले हामीलाई एकदमै सहयोग नै पनि गरिदिनुभएको छ। जुन मैले अघि उदाहरण पनि दिइहालेँ।
हामी आईटी उद्योगका रूपमा चाहिँ नयाँ छौँ। तर एकदमै सम्भावना बोकेका छौँ, उत्साहित छौँ। हामीले बनाएका उत्पादन र सेवाहरू विश्व बजारमा नै प्रयोग भइरहेका छन्। ठूला–ठूला विश्वका अग्रणी कम्पनीहरूले नै पनि प्रयोग गरिराखेका छन्। नेपालमा नै पनि नेपालमा बनेका सफ्टवेयरहरूलाई हेरिदिनुहोला, प्रयोग गरिदिनुहोला। नेपाली उत्पादनहरूलाई पनि प्रयोग गरिदिनुहोला। यो कुराले नेपालको बजार विकास हुँदै गर्दा समग्र निर्यातको स्तर विकास हुन्छ। देशको कुल गार्हस्थ्य उत्पादनमा नै एउटा राम्रो प्रभाव पार्न सक्ने उद्योगको रूपमा स्थापित हुन सहयोग पुग्नेछ। यो कुरामा हामी सबै नेपालीले समग्रमा नै हातेमालो गर्दै यो उद्योगलाई अझै अगाडि लैजान सकिन्छ।

Leave a Reply