जनशक्ति अभावले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको काम द्रुत गतिमा हुन सकेन: अध्यक्ष शर्मा   

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले प्राधिकरणमा कर्मचारीको अभावका कारण द्रुत गतिमा अगाडी बढ्न नसकेको बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले बुधवार आयोजना गरेको सहकारी क्षेत्रमा सुधारको लागि कार्य योजनाको मस्यौदा माथि छलफल कार्यक्रममा अध्यक्ष शर्माले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा उनले भने,  ‘ऐन जारी गर्नु मात्रै पनि ठुलो कुरा होइन । त्यो ऐनपछि तुरुन्तै नियमावली बनाउनु पर्ने र संरचना निर्माण गर्नुपर्छ । त्यो संरचना अनुसारको साधन स्रोत व्यवस्थापन गर्नुपर्ने हुन्छ । जसमा जनशक्ति पनि व्यवस्थापनका कुरा आउँछ । हाम्रोमा जनशक्ति पनि अभाव छ । जबसम्म यी सबै कुराको तादम्यता हुँदैन तबसम्म त्यो जारी गरेको कानुनले केही पनि काम गर्न सक्दैन ।’

कुनै पनि अर्गनाइजेसनमा टाउको मात्रै बनाइदिएर नहुने भएकाले हातखुट्टा पनि बनाउन आवश्यक हुने उनले बताए ।

दुई दशकदेखि नियामक निकाय चाहिन्छ भनेपछि  राष्ट्रिय सहकारी नियमन प्राधिकरण निर्माण गरिएको समेत उनले जानकारी दिए । राष्ट्रिय सहकारी नियमन प्राधिकरण धेरै काम गर्नुपर्छ भनेर अपेक्षा राख्दै स्थापना गरिएको छ । जसले गर्दा प्राधिकरणको उद्देश्यभन्दा पनि बाहिरका कामहरू धेरै आइरहेको उनले बताए ।

अध्यक्ष डा. शर्माले भने, ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरणका उद्देश्यभन्दा बाहिरका धेरै कामहरू आएर थुप्रिएका छन् । अहिले समस्याउन्मुख भइरहेका सहकारीहरू ऋण उठेन भनेर समस्या पनि प्राधिकरणमा आएको छ । धेरै अपेक्षासहित स्थापना भएका प्राधिकरणले काम नगर्ने भन्ने कुरा पनि भएन । ती काममा पनि हामीले समाधानका पाटाहरू गरिरहेका छौँ ।’

पालिकादेखि मन्त्रालयसम्म आएका समस्या पनि प्राधिकरणमै पठाउने गरिएको उनले जानकारी दिए । ‘पालिकामा गएका सहकारीको समस्या प्राधिकरणमा आउँछ । विभागका पुगेको समस्या प्राधिकरणमै आउँछ । मन्त्रालय, अभियानको संस्थादेखि प्रहरीसम्म पुगेका समस्या प्राधिकरणमै पठाउने गरिएको छ । यो स्थितीबााट प्राधिकरणमा धेरै आइरहेको छ । यसको व्यवस्थापनका लागि  पर्याप्त जनशक्ति र स्रोत साधनको अभाव भने जसरी द्रुत गतिमा काम गर्न सकेका छैनौँ’, अध्यक्ष डा. शर्माले भने ।

बजारमा सहकारीहरूको अस्वस्थ प्रतिस्पर्धा देखिएको समेत उनले बताए । सहकारीहरूको स्वस्थ प्रतिस्पर्धा कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्न आवश्यक रहेको पनि उनले बताए ।

अब सहकारी समस्यामा नपरून् भनेर नियमनदेखि अनुगमनसम्मको काम प्राधिकरणले गरिरहेका अध्यक्ष शर्माले जानकारी दिए । नियमनसँगै प्रवर्द्धन पनि आवश्यक रहेकोले यी दुबैको तादम्यता मिलाउँदै काम गरिरहेको उनले बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *