‘परान’ ले लियो पिकअप, ‘जेरी’ लाई पछि पार्दै सर्वाधिक ‘शो’ कब्जा

काठमाडौं । बक्स अफिसमा कमजोर सुरुवात गरेको चलचित्र ‘परान’ ले बिस्तारै पिकअप लिन थालेको छ । बलियो वर्डअफ माउथसँगै चलचित्रमा दर्शकको आकर्षण बढेको हो ।

दर्शकको चापसँगै हलहरुले शो सङ्‍ख्या पनि बढाएका छन् । कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ ले भोलि बुधबार सर्वाधिक शो सङ्ख्या आफ्नो पक्षमा पारेको छ । रिलिजको छैटौं दिनमा आइपुग्दा हाल प्रदर्शनरत नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो परानले पाएको हो ।

यो समाचार तयार पार्दासम्म खल्ती एपमा चलचित्रले देशभर कुल १ सय ३२ शो पाएको छ । दोस्रो स्थानमा झर्दै अनमोल केसीको ‘जेरी अन टप’ ले १ सय १९ शो प्राप्त गरेको छ ।

हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, वरिष्ठ बलराम र मैझारो सहित कुल ४ वटा नेपाली चलचित्र प्रदर्शनरत छन् । दर्शक तान्न नसकेको ‘मैझारो’ ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको तथ्याङ्‍क छ ।

यस्तै विदेशी भाषाका फिल्महरुले पाएको शो सङ्ख्या पनि निकै कम छ । रि–रिलिज बाहुबली ४७ शो पाउँदा थामा १३ र कान्तारा–२ ले ६ शो पाएका छन् ।

दर्शक तथा समीक्षकहरु दुबैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दर्शकको मागलाई मध्यनजर गर्दै हलहरुले ‘परान’लाई शो बढाएका हुन् । चलचित्र हेर्नेहरुले यसको कथावस्तुको खुलेर प्रशंसा गरिरहेका छन् ।

दिपकप्रसाद आचार्यको डेब्यू निर्देशन रहेको चलचित्रलाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रञ्जित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *