विप्लवपुत्रकाे चेतावनी : फोटोको भरमा जेन-जी आन्दोलनकारी पक्राउ गरे विद्रोह गर्छौँं (भिडिओ)

चितवन । तीन दिनअघि चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड गर्नेको विवरण राखेको बताएपछि आज नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले कसैलाई पक्राउ गरे बिद्रोह गर्ने धम्की दिएका छन् ।

उनले चितवनमा पत्रकार सम्मेलन गरेर आन्दोलनका क्रममा फोटो भिडियोमा देखिएको भरमा नै कसैलाई पक्राउ गर्ने अवस्था आए आफूहरु चुप नलाग्ने बताएका छन् ।

जेनजी आन्दोलनको घटना छानबिन गर्न बनेको समितिको टोलीसँग चितवनका प्रमुख जिल्ला अधिकारी अर्यालले अपराध र आन्दोलन अर्थात् अ र आ प्रहरी प्रशासनले छुट्याएको भन्दै १० घण्टाभित्र पक्राउ गर्नसक्ने गरि तयारी अवस्थामा रहेको बताएका थिए ।

चितवन प्रहरीले प्रहरीको हतियार समात्ने एक व्यक्तिलाई पक्राउ पनि गरेको जनाएको छ । तर, पक्राउ पर्नेको विवरण भने सार्वजनिक गरेको छैन । प्रहरीले तोडफोडमा संलग्नलाई पक्राउ गर्न थालेपछि आजै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग भेटेर आन्दोलनमा गएको फोटोको भरमा पक्राउ नगर्न अनुरोध गरेका प्रकाशसहितका टीमले आज पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा कडा रुपमा प्रस्तुत भएका प्रकाशले आफूहरुलाई पक्राउ गरिए सबैखाले विचारको साङ्ला तोडेर ठूलो आन्दोलन गर्ने बताए । उनले आफूसँग बम बारुद बनाउने सीप भएको दाबी समेत गरेका छन् ।

आफूले चितवनको २३ गतेको आन्दोलनको नेतृत्व गरेको तर २४ गते अवस्था नियन्त्रण बाहिर गएपछि सडकमा ननिस्कएको बताउँदै प्रकाशले भने, ‘सडकमा गएका युवालाई तर्साउन दबाउन बन्द गरियोस् ।’

उनले अहिलेसम्मको अनियमितताको जिम्मा दलहरुले लिए आफूले पनि आन्दोलन र तोडफोडको जिम्मा लिने समेत बताएका थिए । आन्दोलनमा जोडिएका युवा हाम्रा युवा हुन् भन्दै आफूले राजनीतिक दलको हैसियतमा नभइ युवाको हैसियतमा ५ हजार युवासँग हात मिलाएको उनको भनाइ छ ।

उनले प्रहरी प्रशसनले जस्तै सूचना सङ्कलन गरेर राखेको र हिसाबकिताब समेत बाँकी रहेको पनि बताएका छन् । चितवनमा जेनजी आन्दोलनपछिको करिब दुई महिनासम्म जेनजी युवाहरुको समूह भने आधिकारिक रुपमा सार्वजनिक भएका थिएनन् । आज पनि प्रकाशले नेतृत्व गरेको समूह ब्यानर बिहीन थियो । उनले चितवनबाट युवा सञ्जाल बनाउने तयारी गरेको पनि दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *