
काठमाडौं । पार्टीबाट माधवकुमार नेपाल समूह बहिर्गमित भएपछि पार्टी निर्माण र आन्दोलनको रक्षा गर्न सहज भएको ठहर नेकपा एसको झलनाथ-घनश्याम समूहले गरेको छ । उक्त समूहमा रहेका कतिपय नेता एमालेमा फर्किने गरी छलफलमा जुटिसकेका छन् ।
उक्त समूहका एक नेताका अनुसार, अब सकेसम्म त्यही नामको पार्टी, नभए नयाँ नाममा भए पनि पार्टी दर्ताको अभ्यासमा जुट्ने र त्यसपछि विभिन्न वामपन्थी घटनासँग ‘वाममोर्चा’ का रूपमा कार्यगत एकतातर्फ अग्रसर हुने नीति लिइएको छ ।
शनिवार सुकेधारामा सम्पन्न उक्त पक्षका केन्द्रीय सदस्यहरूको अनौपचारिक छलफलको निष्कर्ष पार्टी निर्माण र वाम सहकार्य रहेको, तर केही नेता–कार्यकर्ता एमालेसँग वार्ता गरेर त्यतै फर्किनुपर्ने पक्षमा देखिएका थिए ।
माओवादीबाट एउटा समूह बहिर्गमनको तयारीमा रहेको, विप्लव नेतृत्वको नेकपा, विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र झलनाथ-घनश्यामको पार्टीबीच वाममोर्चाका रूपमा सहकार्य गर्ने तयारी गरिएको हो । शनिवारको छलफलमा भुसाल पक्षका नेताले झलनाथ खनाल एमालेमा गए पनि आफूहरू भुसाल नेतृत्वमा पार्टी बनाएर अगाडि बढ्ने बताए ।
तर, बाराका सांसद किसान श्रेष्ठ (कृष्णबहादुर), दैलेखका अम्बरबहादुर थापा, तनहुँका गम्भीर लाल श्रेष्ठ, रामेछापका होमबहादुर बुढाथोकी, मकवानपुरका राजाराम स्याङ्ताङ, धनकुटाका अर्जुन राई, सुनसरीका पीताम्बर तिम्सिनासहितका नेता एमालेमा फर्किनुपर्ने पक्षमा खुलेका थिए ।
भेलामा आफ्नो कुरा राख्दै सांसद श्रेष्ठले भने, ‘अब पार्टीसार्टी बनाएर बन्दैन, म त एउटा वडा कमिटी पनि बनाउन सक्दिनँ ।’ मकवानपुरका स्याङ्ताङले भने, ‘कि माओवादीमा जानुपर्थ्यो, कि माधव नेपालहरूलाई यही पार्टी राख्नुपर्थ्यो, तर अब अर्को पार्टी बनाउने कुरा बेकार हो, एमालेसँगै कुरा गरौँ ।’
उनले भने- मेरो जिल्ला मकवानपुरमा ९८ वटा वडा कमिटी, १९ जनसंगठनका कमिटी बने । स्थानीय निर्वाचनपछि आ–आफ्नै ढंगले साथीहरू एमालेमा फर्किए, कोही कांग्रेसमा गए । हामीले कमिटी जोगाउन सकेनौँ । नामको हिसाबले जिल्ला कमिटी छ । कामको छैन । जिल्ला कमिटी चलाउन लाखौँ रुपैयाँ खर्च हुन्छ । पैसा कहाँ छ रु पैसा नभएर पार्टी अफिस बन्द छ । सामान विरोध खतिवडाको घरमा लगेर थन्क्याएको छ । त्यो पनि जेनजीले जलाएर सिध्याए । त्यसैले म त सक्दिनँ । विद्रोहको मायाका कारण भेटघाट गरेको हुँ, यो पार्टीमा बस्न मन छैन ।
पार्टी बनाउने पक्षले आज दिउँसो सचिवालय बैठक राखेको छ । एमालेमा फर्किनुपर्छ भन्ने पक्षका नेता भने आ-आफ्नै ढंगले एमालेसँग संवादमा गइरहेको स्रोतले जनाएको छ ।

Leave a Reply