
कैलाली । अछामको साँफेबगरमा भएको आगलागीबाट झन्डै तीन करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ । हिजो राति करिब ९ बजेतिर भएको आगलागी झन्डै डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट ७ पसल पूर्ण रूपमा र २ पसलमा आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार बन्द रहेको एउटा पसलमा विद्युत् सट भएर आगो लागेको थियो ।
क्षणभरमै सँगै जोडिएका अन्य पसलहरूमा आगो सल्किए पनि आगो नियन्त्रणभन्दा बाहिर पुगेको हो । स्थानीयको एउटा जेसीबीबाट आगलागी भएका दुवैतिरका पसलहरू आगोले भेट्न भन्दा पहिल्यै भत्काएर आगोलाई विस्तार हुन दिइएको थिएन ।
नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयले नजिकैको खोलाबाट पानी ल्याएर आगो नियन्त्रण गरेका हुन् । साँफेबगर नगरपालिकामा दमकल नहुँदा अन्यत्रबाट मगाइएको थियो । दमकल पुग्नुभन्दा पहिल्यै आगो नियन्त्रणमा आएको थियो ।
अछामका प्रहरी प्रमुखका अनुसार अहिले मुचुल्का उठाउने कार्य सुरु हुँदै छ । त्यसपछि क्षतिको यकिन विवरण आउने भएपनि अहिले करिब ३ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
साँफे हाटबजारमा यसै वर्ष आगलागी भएको यो दोस्रो पटक हो। यसअघि वैशाख १३ गते पनि यहाँ आगलागी भएर १० पसल जलेका थिए भने ४ करोड बराबरको क्षति भएको थियो ।

Leave a Reply