निखारिँदै अनमोल

दुई वर्षअघि ‘छड्के २.०’ सुपरफ्लप हुँदा अभिनेता अनमोल केसीले भनेका थिए, ‘मलाई थाहा छ, मैले ‘२.०’मा दर्शकहरुलाई निराश बनाएँ ।’ दुई वर्षपछि ‘जेरी अन टप’ सुपरहिट हुँदा अनमोल भनिरहेका छन्, ‘भगवानसँग मेरो एउटै मात्रै इच्छा के छ भने म जति नै सफल किन नहुँ, ममा कहिल्यै पनि अहमता नआओस् !’

उल्लेखित दुई फरक अभिव्यक्तिले दिने सन्देश एकै छ,– अनमोल दुःखमा आत्तिँदैनन्, सुखमा मात्तिँदैनन् । उनी आफ्नो कमजोरीलाई स्वीकार गर्न हिच्किचाउँदैनन् । आफ्नो असफलतालाई लुकाउन ढाकछेप गर्दैनन् । बरु खुलेआम स्वीकार गर्छन् ।

उनले ‘छड्के २.०’ फ्लप हुँदा लेखेका थिए, ‘नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्क हुनुपर्ने थियो, यहाँनेर म चुक्न पुगेँ । ।।।आज म शून्यमा छु । र मेरो करियरको दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुनेछ ।’

भयो पनि त्यस्तै, उनले साँच्चिकै दोस्रो सत्रको सुरुवात गरे । दशौं चलचित्र ‘फर्की फर्की’ हिट भयो । अनि एघारौं चलचित्र ‘जेरी अन टप’ सुपरहिट १ चलचित्र १० करोड क्लबमा प्रवेश गरिसकेको छ । यो तथ्यांकसँगै अनमोलको करियरकै सबैभन्दा हिट चलचित्र ‘जेरी अन टप’ बनिसकेको छ । त्यसैले आज अनमोल भनिरहेका छन्, ‘म बोल्दिनँ । किनभने मेरो कामले बोलिरहेछ । मेरो फिल्मले बोलिरहेछ ।’

हो, जे बोल्नुपर्ने हो, त्यो कुरा चलचित्रले नै बोलिरहेको छ । केही दिनयता बंगालको खाडीमा सक्रिय मोन्था चक्रवात शाक्तिशाली बनेपछि नेपालमा हिमापत र वर्षा भइरहेछ । जनजीवन प्रभावित बनिरहेको छ । छयांकनमा गएका चलचित्रहरु पनि मोन्था चक्रवातको चपेटामा परेका छन् । तर, अनमोलको ‘जेरी अन टप’लाई भने कुनै असर परेको देखिँदैन । बक्स अफिस उधुम मच्याइरहेको छ ।

सँगै अभिनयमा पनि अनमोलले निखारता ल्याएका छन् । १२ वर्षअघिको ‘होस्टेल’बाट ‘जेरी अन टप’सम्म आइपुग्दा अनमोलको अभिनयमा निरन्तरको सुधार देखिन्छ । आज एघारौं चलचित्रमा आइपुग्दा उनी परिपक्क समेत हुँदै गएका छन् ।

उनको अभिनयमा देखिने कृतिमताहरु थिग्रिँदै गएको देखिन्छ । अनि गम्भीरता थपिँदै गएको देखिन्छ । पात्रमाथिको स्वभाविक अभिनयले अनमोलको अभिनय क्षमतालाई प्रमाणित गर्दै गएको पनि देखिन्छ ।

आलोचकहरु अनमोलको अभिनयलाई सधैं प्रश्नको धारमा राख्छन् । अनमोलले गरिरहेको सुधारलाई चाहिँ नजरअन्दाज गर्छन् । यहाँ ख्याल गर्नुपर्ने के हो भने अनमोलको अभिनयमा सौगात मल्ल, विपिन कार्की खोज्नु भनेको हाम्रै मुर्खता हो । अनमोलको अभिनयमा हामीले अनमोल नै खोज्ने हो ।

अनमोलको अभिनयमा निखारता खोज्नलाई उसकै अघिल्ला कामहरु हेर्ने हो । अघिल्ला र पछिल्ला कामहरुको तुलना गर्ने हो । यहाँ त के भइदिन्छ भने फ्याट्ट सौगात या विपिनलाई बीचमा घुसाइन्छ । अनि अनमोलको अभिनयको शल्याक्रिया गर्न सुरु गरिन्छ । यस्तो गलत शल्याक्रिया अन्यायपूर्ण मात्रै होइन, असान्दर्भिक पनि हो । न सौगात–विपिन अनमोल जस्तो बन्न सक्छन्, न अनमोल नै सौगात–विपिन जस्ता बन्न सक्छन् ।

हरेक कलाकारको आ–आफ्नै विशेषता हुन्छ । काम गर्ने तौरतरीका आ–आफ्नै हुन्छ । एउटै फुटबल ग्राउण्डमा छरिएका २२ फुलबल खेलाडीको २२ वटै विशिष्ट क्षमता भएजस्तो हरेक कलाकारको आ–आफ्नै विशिष्ट क्षमता हुन्छ । त्यही क्षमताका आधारमा उनीहरु कलाकारिता क्षेत्रमा टिकिरहेका हुन्छन् । यति मात्रै होइन, प्रदीप खड्का र अनमोलबीचको तुलना पनि असान्दर्भिक हो । दुवैको आ–आफ्नै खाले संघर्ष छन्, आ–आफ्नै खाले सफलता छन् । अनि पात्रमाथि अभिनय गर्ने आ–आफ्नै तौरतरीका छन् ।

यदि आलोचकले भने जसरी अनमोलसँग अभिनयको क्षमता नै थिएन भने उनी उहिल्यै रिङ आउट भइसक्थे । धेरै कलाकार रिङ आउट भएका उदाहरण प्रशस्त छन् । तर, अनमोल एघारौं चलचित्रसम्म आइपुग्दा आफू मात्रै टिकिरहेका छनैन्, निर्माताको लगानी पनि सुरक्षित गर्दै आएका छन्, शिवाय ‘छड्के २.०’ । अधिकांश चलचित्रमा पनि निर्मातालाई मुनाफाको स्वाद समेत चखाएका छन् ।

त्यसैले उनकै चलचित्रहरुमार्फत् अनमोलको अभिनयमा आएको निखारतालाई हेर्ने हो । यसरी हेर्दा के प्रमाणित हुन्छ भने उनले आफ्नै शैली अपनाएर अभिनयमा निखारता ल्याइरहेका छन् । र उनको अभिनयमा देखिएको निरन्तरको सुधारले भन्छ, अनमोललाई दयाहाङ राई, सौगात वा विपिन बन्नु छैन, अनमोललाई ‘अनमोल’ नै बन्नु छ । यसका लागि अनमोलले गरेको कोसिस प्रशंसनीय छ ।

अनमोल ‘रावायण’ चलचित्रमा निर्माताले दिएको उजुरीका आधारमा दुई दिन हिरासतमा पनि बसे । उनको कसुर थियो, अग्रिम भुक्तानी लिएपछि स्क्रिप्ट मन नपरेर रकम फिर्ता गर्नु । तर, यही कसुरमा हिरासतसम्म पुर्याउनु गलत रहेको चलचित्रकर्मीहरुले नै बताएका थिए । आपसी संवादबाट यो समस्याको हल खोज्नुपर्ने धेरै चलचित्रकर्मीको धारणा थियो ।

हिरासतमा बस्दाखेरि होस् या अन्य विषय र सन्दर्भमा, अनमोलले गाली खाइरहेका हुन्छन् । उनको आलोचना मात्रै भइरहेको हुन्छ । ‘नेपो किड’ भनेर सबैभन्दा पहिले तारो बन्ने व्यक्ति पनि अनमोल नै हुन् । नेपोटिजमको आरोप पनि खेपिरहेका हुन्छन् । पाँच वर्षअघि भारतीय अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा उठेको नेपोटिजमको लहरले नेपालसम्मै तरंग दिएको थियो ।

र पहिलो निशाना बनेका थिए, अनमोल । सामाजिक संजालमा आउने स–साना नकरात्मक प्रतिक्रियाहरु सहन नसकेर धेरै मान्छेहरुको मानसिक स्वास्थ्यमा असर गरिरहेको हुन्छ । तर, निरन्तरको प्रहार आनमोलले वर्षौंदेखि सहिरहेका छन् । नकरात्मक प्रतिक्रियालाई पचाउन कोसिस गरिरहेका छन् ।

हो, पिता भुवन केसीका छोरा हुन् । भुवन आफ्नो समयको स्टार हुन् । चलचित्र क्षेत्रमा उनको लिगेसी छ । पिताको त्यही लिगेसीका कारण सुरुवातमा अनमोललाई सहज भयो होला । ‘भुवन केसीको छोरा’ भएकै नाताले निर्माताको नजरमा परे होलान्, मिडियामा स्थान पाए होलान् । तर, आज ‘जेरी अन टप’सम्म आइपुग्दा अनमोललाई भुवन केसीको बैसाखीको जरुरत देखिँदैन । उनले त्यो बैसाखीलाई धेरै पर छाडेर आइसकेका छन् । बरु भुवन केसीलाई अनमोलको बैसाखी चाहिएको देखिन्छ । चार वर्षपछि भुवनले अनमोलको चलचित्र ‘जेरी अन टप’बाट अभिनयमा कमब्याक गरेका छन् ।

अनमोल उस्तो मिडियामैत्री छैनन् । मिडियामा पातलो संख्यामा देखिन्छन् । चलचित्र प्रचारप्रसारको बेला बाहेक अरु समयमा अनमोल गुपचुप रहन रुचाउँछन् । राजनीतिक विषयमा उस्तो टिकाटिप्पणी गर्दैनन् । पहिलोपटक गत भदौ २३/२४ मा भएको जेनजी आन्दोलनमा एक्येबद्धता जनाउँदै सरकारले गरेको सामाजिक संजाल बन्दको विरोध गरेका थिए । पछिल्लो समय अनमोलले राजनीतिक–सामाजिक विषयमा सार्वजनिक रुपमा चासो राख्दै गएका छन् । यसले पनि उनी म्याच्युर्ड हुँदै गएको प्रमाणित गर्छ । त्यो म्याच्युर्डनेस उनको अभिनयमा देखिँदै आएको छ ।

अनमोलको अब आउने चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्लान्, भन्न सकिन्न । ‘जेरी अन टप’को रेकर्डलाई ब्रेक गर्लान् या नगर्लान्, त्यो पनि भन्न सकिन्न । तर, यति चाहिँ भन्न सकिन्छ कि अब आउने चलचित्रहरुमा अनमोलको ‘जेरी अन टप’मा भन्दा अझैं निखारपूर्ण अभिनय देख्न पाइनेछ ।

र, नेपाली चलचित्र उद्योग चलायमान बनाउन सौगात, विपिन, दयाहाङ लगायत स्टारको जति योगदान रहन्छ, त्यति नै योगदान अनमोलको पनि रहन्छ । त्यसैले त भर्खरै प्रकाशित आत्मकथामा अभिनेता राजेश हमालले भनेका छन्, ‘अबको समयमा हामीलाई दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकार मात्रै होइन, प्रदीप खड्का र अनमोल केसी जस्ता कलाकार पनि चाहिन्छ । समग्र उद्योगको विकासका लागि अरु सम्भावना बोकेका युवाको पनि खाँचो पर्छ ।’

०००

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *