सुरु भयो काठमान्डु हरर फिल्म फेस्ट २०२५

काठमाडौं । काठमान्डु हरर फिल्म फेस्ट २०२५ शुक्रवार साँझ रसियन हाउस, कमलपोखरीमा सुरु भएको छ ।

नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रुसको राजदूतावासको सहकार्यमा सुरु भएको तीन दिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखिएको छ ।

उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकले हरर सिनेमाको भावनात्मक र कलात्मक गहिराइबारे मन्तव्य व्यक्त गर्दै भने, ‘दशकौँदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँ: डर, रहस्य र कल्पनामा । हरर केवल भूत र छायाको कुरा होइन, यो आफैँभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो,’ उनले भने ।

पाठकका अनुसार महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीहरूबीच सांस्कृतिक सेतु निर्माण गर्नेछ । मुख्य अतिथि तथा फिल्म विकास बोर्डका अध्यक्ष दिनेश डीसीले स्वतन्त्र फिल्म फेस्टिभलहरूको सञ्जाल विस्तार गर्न बोर्डले छिट्टै नेपालभरका महोत्सव आयोजकहरूबीच सहकार्य बढाउने पहल गर्दै गरेको जानकारी दिए ।

चलचित्रकर्मी तुलसी घिमिरे, रसियन हाउसकी निर्देशक तथा रुसको राजदूतावासकी काउन्सिलर आनास्तासिया खोखलोभाले पनि आफ्नो धारणा राखेका थिए ।

महोत्सवको उद्घाटन रुसको चलचित्र ‘शमन’ (मिखाइल मर्जलिकिन निर्देशित) बाट गरिएको छ । महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन्, जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन् । यी चलचित्रहरूमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका हरर कथाहरू समेटिएका छन् ।

नोभेम्बर २ सम्म महोत्सव जारी रहनेछ । समापन समारोहमा तीन मुख्य पुरस्कार सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघु चलचित्र र सर्वोत्कृष्ट यूथ फिल्म (३० वर्ष मुनिका निर्देशकका लागि) प्रदान गरिनेछ । फिल्म प्रेमीहरूले खल्ती एपमार्फत टिकट खरिद गरी रुसियन हाउस, कमलपोखरीमा प्रदर्शन हेर्न सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *