माओवादीसँग एकताको विपक्षमा उभिएका नेकपा एसका नेताहरूको एमालेमा फर्किन्छन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको एकताको विपक्षमा उभिएका नेकपा एकीकृत समाजवादीका नेताहरू अनौपचारिक छलफलमा छन्। जारी केन्द्रीय कमिटी बैठकको निर्णयपछि थप रणनीति बनाउने उनीहरूको तयारी छ।

केन्द्रीय कमिटीमा अध्यक्ष माधव नेपालको बहुमत रहेकाले एकताको पक्षमा आजै औपचारिक निर्णय गर्ने सम्भावना छ।

पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित केही शीर्ष नेताहरूले विमति राखेपछि थप निर्णय लिने अधिकार सचिवालय लिनसक्ने एक नेताले बताए।

ती नेताले भने, ‘उहाँले सोचेभन्दा धेरै एकताको विपक्षमा उभिएकाले केही हच्किएको महसुस गरेका छौँ। उहाँ बैठकको बिचमा पनि उहाँ निरन्तर प्रचण्डसँग संवादमा हुनुहुन्छ।’

माओवादीसँग माधव नेपालले एकता गरे माओवादी पनि विभाजित हुने ती नेताले दाबी गरे।

अध्यक्ष नेपालले आफूहरूको असहमतिका बिचमा पनि माओवादीसँग एकता गर्ने निर्णय गरे त्यही अनुसार आफूहरूले रणनीति बनाउने प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए।

उनले भने, ‘अब बैठकले के निर्णय गर्छ हेरौँ, त्यसपछि हाम्रो रणनीति तय हुन्छ।’

अध्यक्ष नेपालले बहुमतले निर्णय गरे तपाईँहरू एमाले फर्किन तयार हो रु भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘ओलीको नेतृत्व हुँदाहुँदै एमालेमा फर्किने सम्भावना छैन। एमालेमा पनि ओलीविरुद्ध आवाज उठेको छ। उहाँ नेतृत्वबाट बिदा भए त्यो सम्भावना पनि हुनसक्छ।’

नेकपा एसमा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ रहेका छन्।

पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *