
काठमाडौं । नेकपा एसको जारी केन्द्रीय कमिटी बैठकमा मुख्य मुख्य नेताले आ–आफ्नो धारणा राखेपछि स्थायी कमिटी, पोलिट् ब्यूरो हुँदै केन्द्रीय सदस्यहरुको बोल्ने पालो आएको छ । माओवादी केन्द्रसँग गरिने भनिएको एकतामा जानुपर्छ र पर्दैन भन्नेबीच बैठकमा पेचिलो बहस चलिरहेको छ ।
स्थायी कमिटी सदस्य डा.विजय पौडेलले महासचिव घनश्याम भुसालद्वारा प्रस्तुत नेतृत्वको बिदाकै लाइनमा आफ्नो धारणा राखेका छन् । अध्यक्ष माधवकुमार नेपालतिर हेरेर उनले भने, ‘समाजको मनोविज्ञान शीर्ष नेतृत्वविरुद्ध छ, यो कुरा बुझिदिनुस् ।’ पार्टीभित्र एकता चाहने र नचाहने गरी दुई वर्ग छन् भन्ने बनाएकोप्रति आपत्ति जनाउँदै पौडेलले भने, ‘हामी सबैले एकता नै चाहने हो, पहिला नेतृत्वलाई बिदा गरौँ, त्यसपछि सोलोडोलो एकता हुन्छ, गरौँ ।’
पोलिट्व्युरो सदस्य अशेष घिमिरेले नेतृत्व जवाफदेहिताबाट मुक्त हुन खोज्दा सिंगो कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको भन्दै पुरानो नेतृत्व बिदा हुनुपर्ने भनाइ राखे ।
उनले एमाले अध्यक्ष केपी ओलीको फाँसिवादविरुद्ध, उनले त्यागेको वर्गपक्षधरताविरुद्ध विद्रोह गरेको पार्टीले ओलीलाई सत्ताच्युत गर्न नसक्नुलाई अर्थपूर्ण विषयका रुपमा लिनुपर्ने बताए ।
भने, ‘हामीले त सकेनौँ नै, जेन–जीका नाममा सडकमा आएका आक्रोशित जनताले सत्ताच्युत गरिदिए, अब भन्नुस्, क्रान्तिमा हाम्रो भूमिका कहाँ रह्यो ?’ उनको भनाइ थियो, ‘आज वर्ग, श्रमिक जनताको आक्रोशलाई बेरोजगरा युवाको आक्रोशलाई साम्राज्यवादी, भूराजनीतिक खेलाडीले प्रयोग गरे । हामी क्रान्ति गर्छौं भन्ने समग्र वामपन्थी हेरेको हेरै भयौँ । यो हाम्रो पार्टी र नेतृत्वको असफलता हो कि होइन ?’
घिमिरले हिजो ५० वर्षदेखि नेतृत्व गर्दै आएका शीर्ष नेताप्रति जनताको भरोशा नभएको भन्दै यो असफलताको जिम्मा लिएर आफूलाई फरक भूमिकामा लैजाने उपयुक्त बेला अहिले नै भएको बताए ।
उनले भने, ‘एकता गरौँ, तर शीर्ष नेतृत्वले बिदा लिएर गरौँ ।’ चीनमा भोकमरीको संकट हुँदा माओले नेतृत्वबाट पछाडि हटेको इतिहास रहेको भन्दै घिमिरले भने, ‘संसारका थुप्रै ठाउँमा असफल भएपछि जवाफदेहिता लिने प्रचलन छ, जवाफदेहिता नलिने पुँजीवाद मात्र हो, उसले हरेक पटक झुक्याउँछ, कम्युनिष्ट पार्टीका नेताले झुक्याउँन पाउँदैनन्, जवाफदेहितावोध गरेर छोड्नुपर्छ ।’
बैठकमा बोल्दै अर्का पोलिट्व्युरो सदस्य कूलबहादुर कुँवर (अछाम) ले माधव नेपालको मार्गदर्शनबाट अगाडि बढ्नु र एकतामा जानु सर्वोत्तम बाटो भएको बताए । उनले एकताको विरोध गर्नेहरु प्रतिक्रान्तिकारी भएको बताए ।
केन्द्रीय सदस्य शर्मिला पौडेल (कस्की) ले पनि अध्यक्ष नेपालको ‘दूरदृष्टि’ को प्रशंसा गर्दै एकताको पक्षमा आफ्नो भनाइ राखिन् । यीबाहेक बिहीबारको बैठकमा कृष्ण नेपाली, लक्ष्मण लम्साल, प्रेमल खनाल, हिमाल खरेल, कृष्णबहादुर विशेवकर्मा, यशु लामा, यादव रायामाझीले पनि बोलेका छन् ।
यशु लामाले अध्यक्ष माधवकुमार नेपालमाथि लागेको मुद्दा ‘प्रतिशोध हो’ भन्दै सिंगो पार्टीले त्यसको प्रतिवाद गर्नुपर्ने बताइन् । कृष्ण नेपालीले सर्वसम्मत एकताको पक्षमा धारणा राखे ।

Leave a Reply