
काठमाडौं । पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू-भागमा आज दिउँसो अधिकांश समय बादल लाग्ने छ भने तराईका भू-भागमा सामान्य बदली रहनेछ ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।
‘मोन्था’ चक्रवातको प्रभाव शनिबार बिहानसम्म रहने र देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले जानकारी दिइन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसममा सुधार आउने छ ।
आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने तर सबै ठाउँमा निरन्तर वर्षा भने नहुने उनले बताइन् ।

Leave a Reply