माओवादीसँग विप्लवको एकता टरेको हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रसँग एकताको सम्भावना टर्दै गएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ निर्वाचन आयोगतिर सोझिएका छन् । माओवादीसँग एकता गर्नलाई लामो समयदेखि प्रयास भइरहेपनि ठोस रूप नलिँदा विप्लव आफ्नै पार्टी दर्ता गराउन लागेका हुन् ।

प्रचण्डले समाजवादी मोर्चालाई एउटै पार्टी बनाउने गृहकार्य गरिरहेका छन् । विप्लव आफैँ मोर्चाका संयोजक हुन् ।

मोर्चामा रहेका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, महेन्द्रराय यादव नेतृत्वको नेसपा माओवादीसँग पार्टी एकताको लागि राजी छन् ।

यद्यपि, नेकपा एसमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित केही नेताहरू तत्काल माओवादीसँग एकता नगर्ने पक्षमा छन् ।
मोर्चालाई पार्टीमा बदल्नको लागि प्रचण्डले माओवादी पार्टीको नाम, चुनाव चिन्हसमेत छाड्न तयार भइरहेका छन् । त्यही अनुसार नेकपा एससँग छलफल चलिरहेको छ ।

नेकपा एसको आजबाट सुरू हुने बैठकले माओवादीसँग एकताबारे निर्णय गराउने अध्यक्ष नेपालको तयारी छ । प्रचण्डले पनि हिजो चितवन पुगेर यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउने बताएका थिए ।

आज पनि माओवादी धारासहितका वामपन्थी कम्युनिस्ट पार्टीहरूलाई एउटै झण्डामुनि आउन अपिल गरेका छन् ।

प्रचण्डले भनेका छन्, ‘म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु । साथै, संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु ।’

राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।

माओवादी घटकमै रहेका विप्लवले भने प्रचण्डसँगको वार्तामा आफूलाई नेतृत्व छाड्ने प्रस्ताव राखेपछि तत्काल एकताको सम्भावना कमजोर बनेको माओवादीको एक नेताले बताए ।

ती नेताले भने, ‘उहाँले पार्टीबाट आफ्नै नेतृत्वमा कम्युनिस्ट केन्द्र बनाउने निर्णय गराउनुभएको छ । पहिलो पुस्ताका नेताहरू बिदा भएर आफूलाई नेतृत्व छाड्नुपर्छ भन्ने ढङ्गले कुरा राख्नुभयो । त्यसैले अहिले नेकपा एससँग कुरा अघि बढेको हो । उहाँसँग पनि विस्तारै कुरा अघि बढ्ला ।’

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले पनि विप्लव नेतृत्वको नेकपासँग एकता वार्ता भएपनि प्रक्रियागत रूपमा अघि नबढेको बताए ।

उनले भने, ‘नेकपा एससँग त कुरा लगभग टुंगिसकेको छ । विप्लवजीको पार्टीसँग छलफल त पहिलोदेखि नै हुँदै आएको छ । तर, अहिले प्रक्रियागत ढङ्गले अघि बढेको छैन ।’

यद्यपि, नेकपाको हालै बसेको बैठकले जेनजी विद्रोहपछि कम्युनिस्टहरू बीचको एकता र नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी बनेको निष्कर्ष निकालेको थियो ।

बैठकपछि सार्वजनिक गरिएको निर्णयमा भनिएको छ, ‘यसका लागि नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनकुनै योगदान गर्न तयार रहने निर्णय लिएको छ ।’

केवल संगठनात्मकरुपले एक ठाउँमा जम्मा हुनेतिरबाट नसोचेर देशमा पैदा भएको साम्राज्यवाद, दलाल पुँजीवाद र नेपाली जनताको बीचको प्रधान अन्तर्विरोधलाई समाधान दिने, नेपाललाई नेपाली विशेषताको समाजवादतिर बढाउने गरी राजनीतिक विचार, कार्यदिशा, कार्यक्रम, सङ्गठनात्मक मान्यता, आर्थिक जीवनपद्धति, संस्कृतिसहित नयाँ आन्दोलन र मूल्य निर्माण गर्ने स्तरबाट ग्रहण र प्रयोग गर्नुपर्ने नेकपाको निष्कर्ष छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *