
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलो जेनजी मन्त्री पायो, बब्लु गुप्ता । उनी युवा तथा खेलकुद मन्त्री बने । सिरहा, लहानका बब्लु काठमाडौंमै हुर्के बढेका हुन् । परोपकारी समूह हन्ड्रेड ग्रुपमा आबद्ध उनी रगत नपाएर छटपटिएका बिरामीहरुलाई रगतको जोरजाम गरिदिने कामबाट सामाजिक कार्यमा सक्रिय भएका थिए । उनले मेनपावर व्यवसायीबाट ठगिएकाहरूलाई पनि सहयोग गरे ।
आफ्ना सामाजिक कार्यलाई संस्थागत गर्न ‘१०० ग्रुप’ को स्थापना पनि गरे । कोभिड महामारीको बेला गुप्ताको टीमले राजधानीमा रहेर मजदुरी गरिरहेकाहरूलाई नि:शूल्क खाना अभियान चलाए । शंखमुलबाट सुरू भएको यो अभियान खुलामञ्चसम्म पुग्यो । त्यसवेला आफ्नो समूहले १५०० बढी व्यक्तिहरूलाई खाना खुवाएको उनले बताउने गरेका छन् ।
गुप्ताको समूहले ‘प्रोजेक्ट शिक्षा’ अभियान अन्तर्गत काठमाडौंमा ११० जना विद्यार्थीलाई खाने बस्ने सुविधा सहित पढाइरहेको छ । यस प्रोजेक्टमा हन्ड्रेड ग्रुपसँग एनसेल र रुटिन अफ नेपाल बन्दले सहकार्य गरिरहेको छ । त्यस्तै यो समूहले कपडा बैंकदेखि किताब बैंकसम्म अभियान चलाएको थियो । उनी अमेरिकन एम्बेसी अन्तर्गत युथ काउन्सिलको सदस्य पनि हुन् । काउन्सिलमा आबद्ध भएपछि एम्बेसीले प्रदान गर्ने विभिन्न फन्डिङ प्रोजेक्टहरू गर्ने अवसर समेत प्राप्त गरेका छन् ।

यति मात्रै होइन, बब्लु सडक प्रदर्शनमा समेत जोडिएका व्यक्ति हुन् । २०७७ साल असोजमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग राख्दै उनी प्रदर्शनमा उत्रिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
सरकारको उक्त निर्णयको विरोधमा गुप्ताहरू सडकमा आएका थिए । त्यसवेला गुप्तामाथि प्रहरीद्धारा निर्घात कुटपिट भएको थियो । बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा कुटपिट भएपछि अनुसन्धान समिति समेत बनेको थियो ।
गुप्ताको सडक प्रदर्शन यात्रा यहीँ रोकिएन, उनी धारावाहिक रूपमा सडकमा उत्रिन थाले । २०७८ साल मंसिरमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उनको टोलीले प्रदर्शन गर्यो । त्यसवेला कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जबराले भाग खोजेको समाचार बाहिरिएका थिए । त्यसवेला ओलीले गरेको संसद विघटनलाई पुन:स्थापना गरेर देउवलाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको थियो ।
यही आदेशको बदलामा मन्त्रीपरिषद्मा राणाले आफ्नो भाग खोजेको बताइएको थियो । यसलाई थप पुष्टि गर्ने काम त्यतिबेला भयो, जब देउवालाई गैरसांसद गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाए । साइनोले हमाल जबराको जेठान पर्थे ।
जबराले मन्त्रीपरिषद्मा भाग खोजको समाचारहरू बाहिरिएपछि नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्यो । बार आन्दोलनमै उत्रियो । बारका तत्कालीन अध्यक्षले चण्डेश्वर श्रेष्ठले जबरालाई विचौलियाको नाइके भएको लगायतका आरोप समेत लगाए ।
बारको आन्दोलनलाई काउन्टर दिन स्वागत नेपालको नेतृत्वमा जबराको पक्षमा पनि प्रदर्शन सुरु भयो । उता बारका पदाधिकारीहरुले ‘प्रधानन्यायाधीश जबराले सडकमा भिजिलान्ते र भाडाका ट्टटुहरु प्रयोग गरेर आफूहरुविरुद्ध उचालेको’ आरोप लगाए । बार पदाधिकारीले भनेको भाडााका टट्टुहरुको अग्रपंक्तिमा थिए, वर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता !
स्वागत नेपालको नेतृत्वमा भएको आन्दोलनको सडक मोर्चा गुप्ताले सम्हालेका थिए । गुप्तालाई त्यसवेला पैसा खाएर सडकको मोर्चा सम्हालेको आरोप समेत लागेको थियो । उनको समूहले बारका पदाधिकारीविरुद्ध गाली बैज्जतीको मुद्दा समेत दर्ता गरेको थियो ।
त्यस्तै तीन वर्षअघि गुप्ता मिटरब्याज पीडितहरुले माइतीघरबाट लखेटिएका समेत थिए । त्यसवेला राप्रपा नेता ज्ञानेन्द्र बहादुर शाहीलाई लिएर गुप्ता माइतीघर पुगेका थिए । तर, गुप्ताको विगत राम्रो नभएको भन्दै पीडितहरुले शाही र गुप्ता दुवैलाई आन्दोलनबाट खेदेका थिए । त्यसवेलाको भिडियो अहिले पनि युट्युबमा भेटिन्छन् ।
त्यसबेला आन्दोलनमा सक्रिय एक पीडितले भने,-‘उहाँहरु पीडितहरूको पीडामा राजनीति गर्न आइपुग्नुभएको थियो । त्यो थाहा पाएपछि हामीले लखेटेका थियौं । हामीले मिटरब्याज पीडितलाई अनामनगरको एक गुम्बामा राखेका थियौं । त्यहाँ पनि तीनचारपटक आएका थिए, साथीहरुले त्यहाँबाट पनि विचौलिया भन्दै लखेटेका थिए ।’
‘म पनि मधेशको मान्छे हो’ भन्दै आन्दोलन हाइज्याक गर्न आएपछि आफूहरूले लखेटेको ती पीडितले बताए । मिटर ब्याज पीडितहरू बर्दिबासबाट पैदल यात्रा गरेर चन्द्रागिरी हुँदै काठमाडौं आइपुगेका थिए । उनीहरुलाई काठमाडौं आइपुग्न करिब दुई साता लागेको थियो ।
मन्त्री गुप्ताले देउसीको दुई लाख पैसा पच पारेर हिँडेको आरोप पनि छ । चार वर्षअघि सन् २०२१ मा प्रगतिशील युवा क्लबले देउसी भैलोको आयोजना गरेको थियो । यद्यपि यो क्लब दर्ता भने भएको थिएन । क्लबका सदस्य एनपी जोशीका अनुसार यही देउसी भैलो कार्यक्रममा मिसिन आइपुगेका थिए बब्लु गुप्ता ।

‘त्यसबेला हाम्रो टीम नेपालमा हामीले चिनेको एकजना साथी हुनुहुन्थ्यो । हाम्रो टीम नेपाल विमल पन्त लगायत साथीहरूले चलाउनुहुन्थ्यो । यो टीममा बब्लु गुप्ताको हन्ड्रेड ग्रुप पनि मिसिएको थियो । उनीहरू हाम्रो टीम नेपालसँगै सहकार्य गरिरहेका थिएछन्,’ जोशीले भने, ‘हाम्रो ग्रुपले देउसी भैलो कार्यक्रम हरेक वर्ष चलाउँथ्यौं । हामी देउसी भैलो कार्यक्रमबाट उठेको पैसाले जनअध्ययन केन्द्र चलाउँथ्यौं । त्यहाँ पुस्तकहरु छन् । तर, २०२१ को देउसीमा बब्लु गुप्ता मिसिएर पैसा संकलन गर्न थाले । पैसाको ब्याग उनीसँगै थियो । पैसा लिएपछि उनले हाम्रो फोन नै उठाउन छाडे ।
दुई लाखभन्दा बढी थियो पैसा । पछि हाम्रो टीमको साथीहरूले फोनहरू गर्दा उहाँहरूलाई धम्की दिन थालेपछि हामीले फोन गर्नै छाड्यौं ।’
जनअध्ययन केन्द्र अहिले पनि छ । यहाँ प्रगतिशील पुस्तकहरू छन् । विशेष गरी वामपन्थी विचार बोक्नेहरुको जमघट हुने ठाउँ पनि हो जनअध्ययन केन्द्र । उक्त जनअध्ययन केन्द्रको पुस्तकालयमा पुस्तकहरु थप्नलाई खेलिएको देउसीको पैसा अहिलेसम्म गुप्ताले नदिएको जोशीले गुनासो गरे ।
यति मात्रै होइन, एमाले नेता महेश बस्नेतले पनि गुप्तालाई आफ्नो पक्षमा प्रयोग गरेको आरोप छ । बस्नेतलाई विभिन्न अभियोग लगाएर सार्वजनिकरूपमा बेइज्जती गरिरहेकी शोभा पाठकले बब्लु गुप्तामाथि महेश बस्नेतको मतियार भएको आरोप लगाएकी छन् ।
उनी काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग पनि नजिक छन् । वर्तमान ऊर्जामन्त्री घिसिङसँग २०७७ सालबाटै नजिक रहेका गुप्ता मन्त्री हुनुमा घिसिङकै जोडबल रहेको समेत बताइन्छ ।
गुप्ताको समूहले कोभिड महामारीको लकडाउनकै बेला निःशुल्क खाना खुवाउने बहानामा विभिन्न व्यक्तिलाई अनामनगरको सामुदायिक सेवा केन्द्रको भवन र जग्गा कब्जा गरेर राखेपछि झडपसमेत भएको थियो । सार्वजनिक जग्गा कब्जा गरेर बस्न लागेको भन्दै स्थानीयले लखेटेका थिए ।

Leave a Reply