गणपतिले पर्यटन पाएनन्, भूमिसुधार चाहेनन्– किन फेरियो मन्त्रालय ?

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा नयाँ मन्त्रीका लागि सिफारिस गरिएका ४ जनामध्ये दुई जनाको नाम अन्तिम समयमा काटियो ।

श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको नाममा अत्यधिक विवाद भएपछि प्रधानमन्त्रीले नै फिर्ता लिइन् भने भूमिसुधार मन्त्रीमा प्रस्तावित गणपतिलाल श्रेष्ठ आफैं ब्याक भए ।

गणपति एक स्वच्छ छविका र लोकप्रिय युवा अभियन्ता भएकाले उनलाई सरकारमा समेट्नेबारे अगाडिदेखि नै छलफल भएको हो । गत असोजमा प्रधानमन्त्रीले चार युवा मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेकी थिइन्, त्यसमा गणपति पनि अटाएका थिए । उनको नाम पर्यटनमन्त्रीमा प्रस्तावित भएको थियो । तर, विभिन्न विवाद उब्जिएपछि कार्कीले त्यसबेला मन्त्रीपरिषद विस्तार गर्न सकिनन् ।

गणपतिको नाममा भने खासै विवाद थिएन । उनी सम्पदा संरक्षणमा लामो समयदेखि सक्रिय अभियन्ता हुन् । रानीपोखरी र पशुपति क्षेत्रमा कंक्रिट हाल्ने प्रयासको विरोधदेखि गुठी आन्दोलनसम्ममा उनको सक्रिय भूमिका थियो ।

यसपाली पनि सुरुमा गणपतिको नाम संस्कृति तथा पर्यटनमन्त्रीमा नै चर्चा भयो । उनले यसका लागि सहमति पनि दिएका थिए । तर, पछि पर्यटनभन्दा भूमिसुधार उपयुक्त हुने ठानिएको बालुवाटार स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘उहाँ गुठीको आन्दोलनमा संलग्न रहनुभएको र उहाँको विज्ञता पनि त्यसमै छ भन्ने छलफल भयो । गुठीको विषय भूमिसुधार अन्तरगत पर्छ भएकाले उहाँलाई त्यो मन्त्रालय दिँदा उपयुक्त हुने ठानियो । देशव्यापीरुपमा गुठीको ठूलो समस्या छ र उहाँले त्यसलाई एड्रेस गर्न सक्नुहुन्छ भन्ने थियो । तर, उहाँ यसमा सहमत हुनुभएन ।’

मन्त्रालय फेरबदल गरिएको जानकारी पाएपछि गणपति आज प्रधानमन्त्री कार्कीलाई भेट्न भनेर बालुवाटार गएका थिए । कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई उनीसँग डिल गर्न भनिन् । ओमप्रकाशले गणपतिसँग छलफल गरेर भूमिसुधार मन्त्रालयको नेतृत्व लिन आग्रह गरे । तर, गणपतिले आफ सम्पदाको क्षेत्रमा काम गर्दै आएको र यो पर्यटन मन्त्रालय अन्तरगत पर्ने भएकाले सोही मन्त्रालय दिन माग गरे । यसमा अर्यालले सहमति जनाउन सकेनन् ।

आफ्नो विज्ञता अनुसारको मन्त्रालय नपाएमा मन्त्री नबन्ने भनेर उनी हिँडेको स्रोतले बताएको छ । गणपतिको नाम अहिले विचाराधीन नै राखिएको भए पनि उनी पर्यटन मन्त्री बन्ने सम्भावना क्षीण रहेको स्रोतको दावी छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *