कोशीका हिमाली र पहाडी जिल्लाका ५ सय विद्यालय पूर्वाधार र आईसीटीयुक्त बनाइँदै

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आईसिटी निर्माण गर्ने घोषणा गरेका छन् ।

सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने जानकारी गराए । आज खेतान फाउन्डेसनले निर्माण गरिदिएको सहिद भूमि गाउँपालिका-६ स्थित ठाकुरदेवी माविको भवन उद्घाटन गरिएको थियो । उक्त भवन ९२ लाख रूपैयाँको लागतमा बनाइएको हो ।

विद्यालयको आठ कोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधार युक्त विद्यालय बनाउने सीपी फाउन्डेसनले जानकारी दिएको छ । मुख्यमन्त्री कार्कीले आफूले शहीदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि विद्यालय निर्माणको कार्यक्रम यहाँ ल्याइएको बताए ।

सीपी फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनवटा जिल्ला र पहाडी आठवटा जिल्लाको करिब ५०० वटा विद्यालयको पूर्वाधार र आईसीटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने पनि कार्कीले बताएका छन् । जसमा प्रदेश सरकार र सम्बन्धित पालिकाले साझेदारी हुनेछ । यी विद्यालय बनाउनका लागि करिब १५ अर्ब रूपैयाँ लगानी तयारी छ ।

खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने विश्वास जनाए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विद्यालयहरू निर्माणको यो महत्वपूर्ण योजना १० वर्षभित्र सक्ने सुनाए ।

मुख्यमन्त्री कार्कीकै पहलमा आज सहिद भूमि पालिका र सीपी फाउन्डेसनबीच पालिकालाई नमूना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको सो समझदारीमा उल्लेख भए अनुसार सहिद भूमि पालिकामा करिब २ देखि ३ अर्ब रूपैयाँ लगानी हुनेछ ।

सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता साथै सडक कालोपत्रे बनाउन यो लगानी गरिनेछ । यस कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरमले सहयोग गर्ने बताइएको छ ।

आज खेतान फाउन्डेसन र ह्युमन प्राक्टिस फोरम बीच सहिद भूमि पालिकामा पहिलो चरणमा कोशी प्रदेशका विद्यालय पूर्वाधार निर्माणका लागि ३ अर्बको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर पनि भएको छ । हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्की र खेतान फाउन्डेसनका सीपी खेतान लगायत विदेशी संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले पालिका विकास र समृद्धिकामा महत्वपूर्ण टेवा पुग्ने विश्वास जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *