
काठमाडौं । पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । सचिवको कार्यकाल पूरा हुनु अगावै उनी राजीनामा गरेर युनिसेफमा जागिर खान गएको जानकारहरू बताउँछन् । सुधाले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् ।
तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकारमा समेत शर्मा रहेकी थिइन् । नेकपा (एमाले) का अध्यक्ष एवम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको संसद विघटन गर्दा उनले असंवैधानिक रूपमा संसद विघटन गरिएको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएकी थिइन् । अहिले संसद विघटनको सिफारिस गरेकी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नियुक्तपछि उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

डा. सुधा २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी थिइन् । उनी नेपाल चिकित्सक संघको एक मात्र महिला अध्यक्ष हुन् । अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन् ।
शर्मा २०६२-६३ को जनआन्दोलनमा अध्यक्ष भएकी हुन् । उनले चिकित्सक लगायत प्रोफेसनलको संस्था ‘पापड’ को अध्यक्षका रुपमा आन्दोलनको नेतृत्व गर्नुका साथै घाइतेको उपचारमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् ।
सहसचिव स्तरमा हुँदा उनी परोपकार तथा प्रसुती गृहको निर्देशक रहेकी सुधा स्वास्थ्य मन्त्रालको सहसचिव हुँदा नेपाल चिकित्सक संघको अध्यक्ष बनेकी थिइन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ उनले क्लिनिकल सेवा, स्वास्थ्य प्रणाली र गुणस्तरीय उपचार क्षेत्रमा विज्ञता हासिल गरेकी छन् ।
डा. शर्मा युकेस्थित रोयल कलेज अफ ओब्स्टेट्रिसियन एण्ड गायनाकोलोजिस्ट्सकी फेलो हुन् र जनस्वास्थ्यमा स्नातकोत्तर गरेकी छन् । उनले नेपाल चिकित्सक संघका साथै नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग), दक्षिण एशियाली महासंघको अध्यक्ष र एशिया ओसियाना महासंघको शिक्षा समितिकी अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन् ।
महिलाको स्वास्थ्य क्षेत्रमा योगदानका लागि उनले एफआईजीओ वेमन अफ द इअर अवार्डसहित थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेकी छन् । यस्तै, उनीसँग विभिन्न संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरेको अनुभव छ । प्रसूति गृह (परोपकार तथा स्त्रीरोग अस्पताल)की निर्देशक र प्राध्यापकको रूपमा पनि सेवा गरेकी उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन् ।

Leave a Reply