जेनजी आन्दोलनले रोकिएको मापसे लगायत अन्य चेकिङ पुन सुचारु (तस्बिरहरू)

काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही समय ट्राफिक प्रहरीका लागि कष्टप्रद रहे । नेपाली सेना सडकबाट ब्यारेकमा फर्किएपछि नियमित सेवाका लागि सडकमा खटिएका कतिपय ट्राफिक प्रहरीहरूसँग युनिफर्म थिएन, जुत्ता थिएनन् ।

सामान्य कपडामा चप्पल लगाएर समेत सवारी व्यवस्थापनमा उनीहरू खटिए । अहिले उनीहरू पूर्ण रूपमा पहिलेकै अवस्थामा सेवा दिने भइसकेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार अहिले नियमित ट्राफिक चेकिङ सुरु भइसकेको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिवाना र कारबाही प्रक्रिया पनि सुरु भइसकेको छ । मापसे चेकिङ पनि ६०(७० ठाउँमा सुरु भइसकेको छ ।

बाइक मोडिफाइ, चोरीमा पनि सक्रियता बढाएको छ । चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न चेकप्वाइन्ट खडा गरी ट्राफिक चेकजाँच बढाइएको छ ।

‘सरप्राइज चेकजाँच पनि हुन्छ । चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन । कारबाही भन्दा अघि सचेतनामा पनि जोड दिन्छौँ । नागरिकले म पनि बिना बर्दीको प्रहरी हो भन्ने भावना राख्नुपर्छ’, उनले भने, ‘बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाउँछौ । पार्किङको समस्या छ त्यसमा पनि ध्यान दिन्छौँ । ट्राफिक लाइटहरू पनि व्यवस्थित गरिरहेका छौँ। स्पिड मापन गर्ने मेकानिज्म सुचारु छ कारबाही पनि भइरहेको छ ।’

नागरिक एपले काम नगरेका कारण अनलाइन सिस्टम भने अहिले चलेको छैन। यातायात व्यवस्था विभागको सर्भरले पनि काम नगरेको हुनाले अनलाइन सेवा भने सूचना नै जारी गरेर बन्द गरेको छ । सबै कुराहरू भौतिक रूपमै भइरहेको छ ।

‘मापसे कक्षा तिहार लगत्तै सुरु हुन्छ । अहिलेसम्म चिट काटिएकाहरूले तिहारपछि क्लास लिनुपर्ने हुन्छ । ब्रेथलाइजर कम भएर मापसे चेकिङ कम भएको होइन । चेकिङ नियमित रूपमै भइरहेकै छ’, अधिकारीले भने ।

नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदाशयता र न्यानो मायाले मनोबल बढेको तर व्यवस्थापकीय कुराहरू भने धेरै गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । ‘मनोबल अझै बढाउन रिफ्रेसमेन्ट पनि गरिरहेका छौँ । कहिले फिल्म हेर्न जाने कहिले हाइकिङ जाने गरिरहेका छौँ । आन्तरिक रूपमा पनि विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ । नेपाल प्रहरीसँग अनुभव आदानप्रदान गर्ने गरिरहेका छौँ । पहिलेको भन्दा पनि प्रभावकारी र परिष्कृत सेवा दिने कोसिस गरिरहेका छौँ’, उनले भने ।

जेनजी आन्दोलनका क्रममा कुल ७८ वटा युनिटमा क्षति पुगेकोमा ६ वटामा बाहेक सबै ठाउँमा ट्राफिक पुनर्स्थापना भइसकेको छ । ‘कागजात केही रेकर्डेड छ नभएको हकमा अनलाइन आवेदन दिए हामी सिफारिस दिन्छौँ यातायात कार्यालयमा गएर बनाउन सकिन्छ, अधिकारीले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *