यसपालिको मनसुनले दिएको असामान्य संकेत- दक्षिण एसिया ठूलो जोखिममा

मनसुन लगभग सकिने बेलामा, ठ्याक्कै दशैं सकिनासाथ नेपालमा ठूलो वर्षात भयो । मनसुनभरी औसत वर्षा पनि भएन तर अन्तिमतिर आएर अस्वाभाविक वर्षा भयो । अतिवृष्टिले विकराल परिणाम ल्यायो । इलाम जिल्लालाई अकल्पनीय क्षति पु¥यायो भने देशभरीका प्रमुख राजमार्ग बन्द भए ।

वर्षाले प्रमुख राजमार्गहरु एकसाथ यसरी बन्द विगतमा हुँदैनथ्यो तर यसपटक भयो । मनसुनले नेपालमा यस्तो ताण्डव गर्नुभन्दा केही दिन पहिले विश्वलाई नै चिन्तित बनाउने अर्को तथ्य देखियो । त्यो तथ्य थियो, बंगालको खाडीबाट उठ्ने मनसुनी वायु हिमालय पर्वत श्रृङखला पार गरेर तिब्बतसम्म पुग्यो । मनसुनको सीमा हिमालयसम्म हो, त्यसभन्दा उता मनसुन जानु भनेको अस्वाभाविक हो ।

मौसमको यस्तो अस्वाभाविक रुप विश्वव्यापी रुपमा देखिँदैछ । जलवायुको यस्तो स्वरुपले विश्वभरीका मानिसको दैनिकी कठिन बन्दै गएको छ । तीब्र जलवायु परिवर्तनले विश्वका कैयन ठाउँका मानिसको जीवन असहज मात्र भइरहेको छैन, जीवन जिउनु नै दुष्कर हुँदै गएको छ ।

जलवायु परिवर्तनले मानिसको जीवन कति कठिन बन्दै गएको छ ? यसको प्रत्यक्ष उदाहरण मैले प्रत्यक्षरुपमा बंगलादेशको राजधानी ढाकामा रहेको कल्याणपुर झोपडपट्टि एरियामा देख्ने मौका पाएँ । कल्याणपुरका विपन्न वर्गका मासिको जीवन अहिले नर्क बनेको छ, कारण हो जलवायु परिवर्तन ।

जलवायु परिवर्तन सम्बन्धमा छलफल गर्न बंगलादेशको राजधानी ढाकामा हामी पाकिस्तान, बंगलादेश, श्रीलंका, टिमोर लेसेथे, फिलिपिन्स र नेपालका अध्येता, सरोकारवाला तथा अभियन्ताहरु भेला भएका थियौं । जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा विभिन्न देशको अनुभव प्रत्यक्ष सुन्ने मौका पाइयो भने बंगलादेशले भोगिरहेको व्यथा प्रत्यक्ष देख्न पाइयो । बंगलादेश, नेपाल तथा एसियाका विभिन्न देशले जलवायु परिवर्तनका कारण भोगिरहेको व्यथा धनी र सम्पन्न देशहरुका लागि कथा जस्तो लाग्न सक्छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको तीसौं सम्मेलन कोप–३० ब्राजिलमा हुन गइरहेको छ । यो सन्दर्भमा अक्सफामले एसिया जलवायु न्याय क्याप २०२५ बंग्लादेशमा आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी ६ वटा देशका हामी १९ जना युवाहरुबीच जलवायु वित्त, जलवायु हानी र नोक्सानीका विषयहरुमा छलफल गरेका थियौं । अनुभव साझा गर्ने क्रममा मलाई के महशुस भयो भने जलवायु परिवर्तनले पारेको प्रभाव नेपालभन्दा अरु देशमा कम छैन ।

जलवायु परिवर्तन र यसको प्रकोप विभिन्न देशहरुमा समान छैन । परिवर्तन र प्रकोपहरु भने अन्र्तसम्बन्धित देखिन्छ ।

जलवायु परिवर्तनले जीवनको सबै आयाममा दुष्प्रभाव पारिरहेको छ । अतितमा मानिसले जलवायु परिवर्तनको प्रत्यक्ष असर आफ्नो जीवनकालमा खासै महसुश गर्न सक्दैनथे । तर, अहिले एकजना मानिसले आफ्नो जीवनकालमा जलवायु परिवर्तनको व्यापक स्वरुप, प्रभाव र असर देख्न परिरहेको छ । ३० बर्षको अवधीमा हुने मौसमको सरदर परिवर्तनलाई आँकलन गरेर जलवायु परिवर्तनको मापन गरिन्छ ।

विश्वमा दक्षिण एसिया जलवायु परिवर्तनको सघन प्रभाव परेको क्षेत्र हो । दक्षिण एसियामा डेढ अर्बभन्दा धेरै मानिस बस्छन् । विश्व बैंकको एक तथ्याङ्क अनुसार करिव असी करोड मानिसलाई जलवायु प्रकोपको असर परिरहेको छ । चिन्तालाग्दो कुरा के छ भने स्न २०५० सम्ममा यो क्षेत्रको जनसंख्या दुई अर्ब २० करोड पुग्ने आकलन छ ।

जनसंख्या बढ्दै जाँदा जलवायु प्रकोप प्रभावितको संख्या पनि बढ्दै जानेछ । किनभने बढ्दो जनसंख्याले गर्दा प्राकृतिक स्रोतहरुमा दवाब बढ्नेछ, भइरहेको जलवायु परिवर्तनलाई त्यसले अझ तिब्र बनाइदिनेछ । जनसंख्या बढ्दै जाने, प्राकृतिक स्रोतमा चाप बढ्दै जाने र प्रकोप बढ्दै जाने चक्रमा दक्षिण एसिया फसकेको देखिन्छ ।

दक्षिण एसिया क्षेत्रका ठूला तीन नदी गंगा, ब्रहपुत्र र मेघना तथा यसका सहायक नदीहरु पानीको भण्डार हुन् । जुन नेपाल, भारत, भूटान र बंगलादेश हुँदै बंगालको खाडीमा पुग्छ । यी नदी मानिसको जनजीवन खानेपानी, खाद्य सुरक्षासँग जोडिएको छ ।

हरित ग्याँस उत्सर्जनमा बंगलादेशको कुनै ठूलो योगदान छैन, नेपालको पनि छैन । हरित ग्यास उत्सर्जन नै जलवायु प्रकोपको मुख्य आधार हो । हरित ग्यास उत्सर्जन गर्ने अरु, सजाय भोग्ने साना र विपन्न देश, आजको विश्वको यथार्थ यही हो ।

नेपाल एसियाको वाटर टावर मानिन्छ । यो वाटर टावर क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावले समग्र दक्षिण एसियाको जनजीवन प्रभावित हुन्छ । नेपालका हिमाली क्षेत्रका हिमतालहरु फुट्ने जोखिम निरन्तर बढिरहेको छ ।

नेपालमा हुने जलवायु परिवर्तनको असरले बंगलादेशको डेल्टा क्षेत्रको जनजीवन पनि प्रभावित हुन्छ । नेपाल सहितका माथिल्लो क्षेत्रबाट बाढीले ल्याएको बालुवा र माटोले बंगलादेशमा नदी उकास भइरहेको छ, यसले गर्दा बंगलादेशी डेल्टा क्षेत्र बाढीको चरम प्रकोप भोगिरहेको छ । नदी उकासिने समस्या मात्र होइन, बंगलादेशसँग जोडिएको समुद्री किनारको सतह पनि बढ्दै गइरहेको छ । यसले गर्दा स्थानीय माझीहरुको पेसा संकटमा परेको छ ।

नेपालको जलवायु नितिले पनि जलवायु परिवर्तन सम्बन्धी विषयहरुलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनबाट जोखिममा परेका देशहरुको साझा आवाजको रुपमा स्थापित गर्न जलवायु वित्तमा पहँच अभिवृद्ध गर्नु पर्न छ र त्यो चुनौतिपूर्ण छ ।

०००

बंगलादेशको राजधानी ढाका सहर दक्षिण एसियाको पाँचौ धेरै जनसंख्या भएको सहर हो । यो सहर आफैं जलवायु प्रकोप पीडित छ । तर, बंगलादेशका विभिन्न ठाउँबाट जलवायु प्रकोपल बसाईं हिँड्न बाध्य मानिसहरुको गन्तव्य पनि यही सहर भएको छ ।

गाँउमा खेतीपाती गर्न जमिन नहुनु र भएको जमिन बाढीले लैजानु बंगलादेशी किसानको समस्या हो । समस्या यतिमा मात्र सीमित छैन, स्यालिनिटी अर्थात् नुनिलो पानीको समस्या बंगलादेशमा विकराल भएको छ । बंगालको खाडीबाट आउने चक्रवात र ठूला नदीहरुमा समुद्रदेखि आउने ज्वारभाटाले समुद्राबाट सुदूरमा रहेको बंगलादेशी भूभागमा पानी नूनिलो भएको छ ।

नुनै नुन भएको समुद्री पानी न खान हुन्छ, न त्यस्तो पानीले खेति गर्न सकिन्छ । हरियो जमिन भए पनि बंगलादेशी किसानका जमिन नुनिलो मरुभूमि बन्दै गएको छ । बंगलादेश भ्रमणका बेला यस्तो समस्याले पीडित किसानहरुसँग छलफल गर्न पाइयो ।

ढाकाको कल्याणपुरको सुकुम्वासी वस्तीमा गुचुमुच्च परेर करिब दुई हजार परिवार बसेका छन् । उनीहरु अधिकांशको कथा के हो भने गाउँमा खेती गुमाएका छन्, बाढीले विस्थापित भएका छन्, नुनिलो पानीले लखेटिएका छन्, चक्रवातले उठिवास बनाइएका छन् ।

ग्रामीण जीवन अब उनीहरुका लागि कथा भएको छ, ग्रामीण जीवनको अतित सम्झिएर उनीहरु सहरको घना सुकुम्वासी वस्तीमा जलवायु प्रकोपको पीडा सुनाउँछन् । तर, प्रकोप किन भयो, कसरी भयो र प्रकोपले आफूहरुलाई नै कसरी पीडित बनायो भन्ने बुझ्न सक्दैनन्, उनीहरुलाई थाहा छैन । थाहा पाउनेको संख्या बहुत थोरै छ, अर्थात्, जलवायु परिवर्तन र यसले ल्याएको प्रकोपको बारेमा जनचेतना पर्याप्त छैन ।

०००

कल्याणपुरको सुकुम्वासी वस्तीमा हामीले सुरैया वेगम लाई भेट्यौं । गुर्सल गाउँको किसान परिवार सुरैयाले खेती गरेर वालवच्चासहित निर्वाह गरिरहेकी थिइन्, श्रीमान् माझी थिए । केही वर्ष अगाडी चक्रवात र नदी कटानले उनको जग्गा नदीमा विलिन भयो । आफूले गुमाएको खेति, गाईवस्तु र बाख्रा सम्झेर उनको आँखा रसाउँछ ।

उनको मुख्य समस्या के हो भने सहरमा बाँच्नका लागि उनीहरुसँग रोजगारी छैन, रोजगारी गर्न त्यस अनुरुपको सीप छैन । सहरले खासखास किसिमको सीप माग गर्छ तर उनीहरुसँग त्यो छैन । सुरैयाको जस्तैजस्तै कथा कल्याणपुरको दुई हजार परिवारको छ ।

कथा अलिअलि फरक होला तर व्यथा उही हो । कल्याणपुरका सुकुम्वासीहरुलाई मैले मेरो देशको व्यथा सुनाएँ । नेपालमा मलिलो माटो बगाएर लैजाने समस्या छ भनें, उनीहरुले अचम्म माने । बंगलादेशको समस्या ठिक विपरित छ, नेपाल र भारतबाट नदीले बगाएर ल्याएको माटोले उनीहरुको खेत स्वाहा पार्छ ।

नदीले एउटा सीमासम्म माटो ल्याइदिँदा किसानलाई फाइदै हुन्छ, खेती राम्रो हुन्छ । तर, माटो धेरै ल्याएर नदी उकासिँदा त्यसले विनास निम्त्याउँछ । कल्याणपुरका सुकुम्वासीहरु प्रायको अतित यस्तै पीडाबाट गुज्रिएको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *